मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि

मङ्गलबार, २० फागुन २०८१, १० : २१
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा मेरिटोक्रेसी मिचेर सहायक क्याम्पस प्रमुख नियुक्त गरिएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्क केसीले वरीयताक्रममा दोस्रो नम्बरमा रहेका उपप्राध्यापक डाक्टर विजय बहादुर थापालाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेका हुन् । एमाले निकटका उपप्राध्यापक  डाक्टर थापालाई  नियुक्त गरिएसँगै प्राध्यापकहरूबिच असन्तुष्टि व्यक्त भएको छ ।

क्याम्पस प्रमुखले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा सहप्राध्यापक पर्शुराम पौडेल, दोस्रो नम्बरमा उपप्राध्यापक डाक्टर थापा र तेस्रो नम्बरमा उपप्राध्यापक डाक्टर राम्जी गौतम थिए । शिक्षाध्यक्ष केसीले मेरिटोक्रेसी मिचेर एमाले निकटका प्राध्यापकलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको एक प्राध्यापकले बताए ।

वरीयताको पहिलो नम्बरमा रहेका पौडेल भौतिकशास्त्र विभागको विभागीय प्रमुखसमेत भइसकेका थिए । २०५८ सालमा स्थायी लेक्टर भएका थिए भने २०६९ सालमा रिडर भएका थिए  तर, सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका थापा भने पौडेलभन्दा १६ वर्ष पछि २०७४ सालमा स्थायी भई पीएचडी अध्ययनका लागि बिदामा थिए । यसै वर्ष मात्रै उनी हाजिर भएका थिए ।

प्रतिस्पर्धामा एक नम्बरमा रहेका पौडेल थापाको भन्दा १३ नम्बरले अगाडि थिए । तर, एमाले निकटकै भएको आधारमा शिक्षाध्यक्ष केसीले मेरिटोक्रेसी मिचेर नियुक्त गरिएको ति प्राध्यापकको भनाइ छ ।

छनौट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । सर्वोत्तम अंक प्राप्त गर्ने प्रति १ आवश्यक संख्याको ३ जनाको दरले सहायक क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि वर्णानुक्रमअनुसार सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

बढी अंक प्राप्त गर्नेलाई प्राथमिकता दिई समितिले सिफारिस गर्नुपर्ने व्यवस्था छ । सोही आधारमा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनौट समितिले गरेको सिफारिसको आधारमा क्याम्पस प्रमुखले शिक्षाध्यक्ष समक्ष पेश गरेको थियो । शिक्षाध्यक्ष केसीले मेरिटोक्रेसीका आधारमा सिफारिसमा परेकाहरूलाई नियुक्त नगरी एमाले निकटका उपप्राध्यापकलाई नियुक्त गरेको ति प्राध्यापकको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप