एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी

काठमाडौँ । ललितपुरको बागडोलमा रहेका एक्मी कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरू अन्यत्र सारिएको छ । लामो समयदेखि पठनपाठन नहुनुका साथै सञ्चालकसमेत सम्पर्कमा नआएपछि विद्यार्थीहरूलाई धापासीमा रहेको काठमाडौँ इन्स्च्यिुट अफ टेक्नोलोजी (कीट) मा व्यवस्थापन गरिएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर कलेजले डिप्लोमा तहका डिप्लोमा इन सिभिल, कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका कोर्सहरू अध्यापन गराउँदै आएको थियो ।
लामो समयदेखि पठनपाठन नभएको, सञ्चालकहरू सम्पर्कमा नआएको, छोटो समयमा शिक्षकहरू परिवर्तन भइरहनेजस्ता कारण पठनपाठन नभएको विद्यार्थीहरूले गुनासो गरेका थिए ।
सोही आधारमा परिषद्ले कलेजलाई स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणबारे कुनै जवाफ नदिएपछि परिषद्ले त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई कीटमा स्थानान्तरण गरिएको हो ।
परिषद् सदस्य सचिव महेश भट्टराईले सबैभन्दा पहिला विद्यार्थीको व्यवस्थापन गरिएको बताए ।
‘दुई वटा स्कूल मिलेर शुल्कसम्बन्धी सम्झौता गर्नु भनेर चिट्टी पनि पठाएका छौँ । अरू प्रक्रियागत कुराहरू समेत अघि बढिरहेका छन् । कतिपय कुरा हामी गर्न सक्छौँ । कतिपय कुराहरू परिषद्को बैठकले मात्रै गर्न सक्छ । प्रक्रियाअनुसार नै काम भइरहेको छ,’ भट्टराईले भने ।
विद्यार्थीको व्यवस्थापन र शुल्कसम्बन्धी विषय टुङ्ग्याउन भनिएको र त्यो सकिएपछि अन्य प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
‘सम्बन्धन स्थलगत गर्ने, रद्द गर्ने वा के गर्ने भन्ने विषयमा गृहकार्य अघि बढिरहेको छ । अहिले सबैभन्दा पहिला विद्यार्थीको व्यवस्थापनको काम हो । त्यो चलिरहेको छ । कलेजलाई विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न भनेका छौँ,’ सदस्य सचिव भट्टराईले भने, ‘शुल्कको व्यवस्थापनका लागि दुवै कलेजलाई पत्राचार गरेका छौँ । सम्बन्धन दिने निर्णय परिषद् बैठकले गरेकाले रद्द गर्ने विषयमा समेत काउन्सिलले नै निर्णय गर्नुपर्ने हुन्छ ।’
यसअघि परिषद्ले फागुन ५ गते विज्ञप्ति जारी गरेर नियमानुसार पठनपाठन कार्य सञ्चालन गर्न भनेको थियो ।
कलेजको प्रशिक्षण कार्य सुचारु गर्न नसकेको, प्रशिक्षकहरूको व्यवस्था नगरेको, शैक्षिक गुणस्तर कायम गर्न नसकेको, ल्याबका सामग्रीहरू नराखेको र प्रयोगात्मक अभ्याससमेत नगरेको गुनासो विद्यार्थीहरूले गरेका थिए ।
विद्यार्थीहरूको गुनासोका आधारमा परिषद्ले टोली गठन गरेर अनुगमनमा खटाएको थियो । त्यस क्रममा कलेजमा प्रशिक्षण, प्रयोगात्मक अभ्यास तथा पूर्वाधार मापदण्ड पूरा नगरेको व्यहोरोका प्रतिवेदन पेस भएको थियो ।
परिषद्ले तोकिएको मापदण्ड अनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशनसहित स्पष्टीकरण सोधेको थियो । तर, त्यसको कुनै जवाफ नआएपछि परिषद्ले नियमानुसार पठनपाठन कार्य सञ्चालन गर्न भनेको थियो । नियमानुसार पठनपाठन सञ्चालन नगरे प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली, २०५१ र परिषद् तालिम कार्यक्रम सम्बन्धन कार्यविधि, २०७७ अनुसार कारबाही गरिने चेतावनी दिइएको थियो ।
कलेजलाई उन्मुक्ति दिने खेल :
विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने उक्त कलेजका सञ्चालक हुन, शैलेन्द्र मोहन झा । उनी परिषद्को बोर्ड सदस्यसमेत हुन । बोर्ड सदस्यकै कलेजबाट यस्तो देखिँदा पनि परिषद्ले कारबाही प्रक्रियामा भने विलम्ब गरेको छ ।
नेकपा (बहुमत) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले यो विषयमा परिषद्को ध्यानाकर्षण गराउँदै आएको छ । परिषद्सँगको पटक–पटकको छलफल तथा बैठकबाट विद्यार्थीलाई अर्को कलेजमा सार्ने र कलेजमाथि कानुनअनुसार कारबाही गर्ने भन्ने थियो । तर, परिषद् अनेकन् बहाना बनाएर कलेजमाथि कुनै प्रकारको कारबाही नगर्ने मनसायमा देखिएको अखिल (क्रान्तिकारी) का सचिव डीबी शाहीको भनाइ छ ।
उनका अनुसार अहिले पनि कलेज सञ्चालक झा सम्पर्कमा नआएका र कलेजले परिषद्लाई समेत रेस्पोन्स नगरेर टारिहरेको छ । परिषद्ले कलेजमाथि राजनीति पहुँचका कारण कारबाही गर्न आनाकानी गर्दै आएको शाहीको आरोप छ ।
वनस्थलीमा रहेको उक्त कलेज हाल ललितपुर–४ बागडोलमा छ । परिषद्लाई आधिकारिक जानकारी नै नदिई स्थानान्तरण गरेको समेत पाइएको छ ।
माघ २७ गते विद्यार्थीहरूले कलेजमा तोडफोडसमेत गरेका थिए । त्यस क्रममा प्रहरीले सोही कलेजमा अध्ययनरत एक जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।
अखिल (क्रान्तिकारी) को निरन्तर दबाब र विद्यार्थीको खबरदारीपछि परिषद्ले विद्यार्थीलाई कीटमा पठनपाठनका लागि व्यवस्थापन गरेको हो ।
अखिल (क्रान्तिकारी) का सचिव शाहीले उक्त कलेजको सम्बन्धन नै खारेज गर्न माग गरे । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने, परिषद्लाई समेत बेवास्ता गर्ने कलेजलाई दिइएको सम्बन्धन नै खारेज गर्नुपर्ने उनको भनाइ छ ।
परिषद् सदस्य सचिव भट्टराईले भने कारबाही प्रक्रिया अगाडि बढिरहेको बताए । सम्बन्धन दिने निर्णय परिषद्को बैठकले गरेकाले सम्बन्धन खारेजको निर्णयसमेत त्यहीँबाट मात्रै गर्न मिल्ने भट्टराईको तर्क छ ।
वनस्थलीमा रहेको उक्त कलेज हाल ललितपुर–४ बागडोलमा छ । परिषद्लाई आधिकारिक जानकारी नै नदिई स्थानान्तरण गरेको समेत पाइएको छ ।
समस्या के हो ?
दसैँदेखि नै कलेजमा समस्या देखिएको थियो । विद्यार्थीहरू नियमित कलेज आउने गरे पनि शिक्षक नआउने गरेका थिए । आफूहरूले नियमित पठनपाठनको माग गरे पनि कलेज सञ्चालक तथा प्रशासनले बेवास्ता गरिरहेको एक विद्यार्थीले बताए ।
भर्ना भएर कलेज गएको लामो समय हुँदा पनि नियमित पठनपाठन हुन नसकेको ती विद्यार्थीले बताए ।
विद्यार्थीहरूको गुनासोपछि परिषद्को टोली कलेजको अनुगमनमा पुगेको थियो अनुमानपछि तीन दिनभित्र मा पठनपाठन सञ्चालन गर्न भनेको थियो । तर, पठनपाठन सुचारु गर्नुको साटो अनेक बहाना बनाएर पन्छिन खोजेपछि विद्यार्थीको स्थानान्तरण र कलेजमाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
शिक्षक कर्मचारीहरूले लामो समयदेखि तलब भत्ता नपाएपछि कलेज छोडेका थिए । यतिवेला कलेज १/२ जना मात्रै कर्मचारीको भरमा थियो । शिक्षक नै नभएपछि त्यहाँ अध्ययनरत विद्यार्थीले दसैँपछि पढ्न पाएका थिएनन् ।
लामो समयदेखिको तलब नपाएपछि प्रिन्सिपलसमेत कलेज आउन छाडेकी थिइन् । त्यसपछि कलेजमा समस्या बढी देखिएको ती विद्यार्थीको भनाइ छ ।
‘महिनौंदेखि पढ्न पाएका छैनौँ । परीक्षा फारमसमेत भर्न पाएका थिएनौँ । कलेजका सञ्चालक–प्रिन्सिपल सम्पर्कविहीन थिए । पटक–पटक कलेज सञ्चालकसँग समस्या समाधान गर्न माग गर्दा केही मतलब गर्नुभएन । कलेज एउटा रिसेसप्सनको भरमा चलिरहेको थियो । त्यसपछि हामी परिषद् गुहार्न पुग्यौँ,’ एक विद्यार्थीले भने ।
विद्यार्थीहरूको गुनासोपछि परिषद्को टोली कलेजको अनुगमनमा पुगेको थियो अनुमानपछि तीन दिनभित्र मा पठनपाठन सञ्चालन गर्न भनेको थियो । तर, पठनपाठन सुचारु गर्नुको साटो अनेक बहाना बनाएर पन्छिन खोजेपछि विद्यार्थीको स्थानान्तरण र कलेजमाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी निभाइयो टिकाथलीमा ग्यासबाट दन्किएको आगो (तस्बिरहरू)
-
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
-
ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
-
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
-
समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल