यसरी म आजकै दिन जेलबाट छुटेको थिएँ

२०५८ मङ्सिरको पहिलो सातातिर, कसैले जनादेश पत्रिकाको कार्यालयमा फोन गरेर ठेगाना माग्यो, पत्रिकामा छपाउनका लागि कविता दिन आउन लागेको भन्दै ।
हामीले ठेगाना दियौँ— पुतलीसडकको श्रेष्ठ फोटोकपीभन्दा पारिपट्टि, साडी प्यालेसको पाँचौँ तला ।
जनादेश कार्यालयको ठेगाना माग्ने तर नआउने क्रम केहीपटक दोहोरियो । गोविन्द आचार्य भन्थे, ‘यो जासुस हो, हाम्रो पिछा गरेको मात्रै हो ।’
फोन गरेर ठेगाना माग्ने व्यक्ति मंसिर ११ गते कविता होइन ‘वाकीटकी’ बोकेर आए, युनिफर्ममा प्रहरीको परिचय लिएर होइन सादा पोसाकमा मास्कले मुख लुकाएर आए, कविता छाप्न होइन हामीलाई छोप्न आए । पेस्तोल भिरेर भूमिगत शैलीमा ५–६ जना सहयोगीसहित आएका उनले हामीलाई घेरा हाले । हेर्दै खाइलाग्दा र डरलाग्दा उनीहरुले फलानो गोविन्द, फलानो खिलबहादुर भन्दै हाम्रा पाखुरामा समाते ।
कवि तथा साहित्यकार ईश्वरचन्द्र ज्ञवाली प्रहरीलाई भन्दै थिए, ‘म लेक्चरर हुँ, एउटा कविता छाप्न दिन आको ।’ उनको कुरा प्रहरीले पत्याएन ।
एक छिनपछि हामी सबैलाई कार्यालयबाट पुतलीसडकमा झारियो ।
केही वर्ष अघिको दशैँमा किशोर श्रेष्ठको घरमा सानो जमघट भएको थियो । त्यहाँ अवकाशप्राप्त डीआईजी माधव थापा पनि थिए । उनले हाँस्दै सुनाए, ‘त्यतिबेला तिमीहरूलाई मैले नै हो पक्रेको ।’
हरेक मंगलबार प्रकाशन हुने जनादेश साप्ताहिक लोकप्रिय थियो । पत्रिका छापिएर बजारमा पुगेपछि हारालुछ नै चल्थ्यो; सहर–बजारका स्टेसनरी, पुस्तक पसलमा मात्र होइन यातायातको सुविधा नभएका गाउँमा समेत भरियाले बोकेर पुर्याउँथे । तत्कालीन माओवादी समर्थकले मात्रै नभई सरकारी कर्मचारी, प्रहरी, सेना सबैले खोजी–खोजी पढ्ने पत्रिका थियो जनादेश साप्ताहिक ।
फोन गरेर ठेगाना माग्ने व्यक्ति कविता होइन ‘वाकीटकी’ बोकेर आए, युनिफर्ममा प्रहरीको परिचय लिएर होइन सादा पोसाकमा मास्कले मुख लुकाएर आए, कविता छाप्न होइन हामीलाई छोप्न आए । पेस्तोल भिरेर भूमिगत शैलीमा ५–६ जना सहयोगीसहित आएका उनले हामीलाई घेरा हाले ।
२०४७ को संविधानले दिएको प्रकाशन तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार स्वरूप पत्रिका प्रकाशन भइरहेको थियो । कानुनले हाम्रो प्रकाशनलाई कुनै बन्देज लगाएको थिएन, तर सरकारको आँखामा जनादेश साप्ताहिक निशानामा थियो, हामी पत्रकार निगरानीमा थियौँ । पत्रिका बन्द गरेपछि माओवादी जनयुद्ध नै सकिने सरकारले ठानेको थियो सायद ।
तत्कालीन सरकार प्रमुख थिए शेरबहादुर देउवा, गृहमन्त्री थिए नेकपा एमालेका वामदेव गौतम । त्यस सरकारले माओवादी आन्दोलन दबाउन आतङ्ककारी ऐन ल्याएर संकटकाल लगाउने तयारी गर्दै थियो ।
हामीलाई अगाडि नै सूचना थियो, सुरक्षा परिषद्को बैठक बसेर सरकारले २०५८ मंसिर ११ गते साँझ ७ बजेदेखि मुलुकमा पहिलोचोटि संकटकाल लगाउँदै छ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठले सीताराम बराललाई खबर पठाए— आज जनादेश साप्ताहिकका पत्रकार साथीहरूलाई गिरफ्तार गर्दै छ, सम्भावना छ भने उम्कनु भनिदिनु ।
टेलिफोनमार्फत किशोर श्रेष्ठले पठाएको र सीताराम बरालले दिएको खबरका आधारमा हामीले पनि केही तयारी गर्यौँ । ‘रिसेप्सन’मा बस्ने सुशीला महर्जनलाई घर पठाइदियौँ, जनादेशको भाषा हेर्ने डा. नन्दिश अधिकारीलाई पनि छिटै छुट्टी दियौँ । जनदिशाका सम्पादक कृष्ण सेनदाइ बेलाबेला जनादेश आउने गर्नुहुन्थ्यो । उहाँलाई पनि कार्यालय नआउने सूचना पठायौँ ।
सम्पादक गोविन्द आचार्य, कार्यकारी सम्पादक म, सम्पादन टिममा हुने साथी मनऋषि धिताल, दीपेन्द्र रोकाय मात्रै अफिसमा बस्यौँ । हाम्रो सल्लाह थियो— सबै साथीहरूलाई उम्काउने, गोविन्द र मैले गिरफ्तारी दिने । तर सोमबारको दिन भएकाले भोलिपल्ट निस्कने पत्रिकाको तयारी गर्नु थियो । ७५ हजार छापिने जनादेश साप्ताहिकको भित्री पेज आइतबार नै प्रेसमा पुगेर छापिँदै थियो । भित्री पेज आइतबार नछापे प्रेसले अरु पेज सोमबार छाप्नै भ्याउँदैनथ्यो । किनभने ८ पेजको पत्रिका एकै दिन ७५ हजार छाप्न प्रेसलाई निकै कठिन हुन्थ्यो ।
हामीलाई पुतलीसडकमा झारेपछि सिंहदरबारबाट प्रहरी भ्यान बोलाइयो । यसबिचमा गोविन्द आचार्यले चिच्याए, ‘हामी जनादेशका पत्रकार हौँ, हामीलाई प्रहरीले गिरफ्तार गर्दै छ ।’
मङ्सिरको महिना, दिन छोटा र रात चिसा हुँदै थिए, पश्चिममा घाम डुब्न लाग्दै थियो । हामी पत्रिकाको अन्तिम तयारीमा थियौँ । मङ्सिर १२ गते मंगलबार निस्कने जनादेश साप्ताहिकमा किरण वैद्यको अन्तर्वार्ता थियो ।
पाटन क्याम्पसमा पढाउने साहित्यकार ईश्वरचन्द्र ज्ञवाली एउटा समाचार लिएर आएका थिए । कार्यालयको तीन कोठामध्ये पल्लो छेउको कोठामा मनऋषि धिताल समाचार लेख्दै थिए । हामी केही साथी बिचको कोठामा थियौँ, सबै गिरफ्तारीमा पर्यौँ ।
जनादेशको कार्यालय पारिपट्टि सल्यानका एकराज भण्डारीको ल फर्म थियो । उनले पनि कहिलेकाहीँ जनादेशमा लेख–समाचार दिने गर्थे । हामीलाई प्रहरीले गिरफ्तार गरेर तल झार्दै गरेको उनले देखेछन् । उनले ज्ञानेश्वरमा रहेको जनदिशा दैनिकको अफिसमा फोन गरेर ओम शर्मालाई भनेछन्, ‘यहाँ जनादेशका सबै पक्राउ परे, तपाईंहरू भाग्नुहोला ।’
खबर पाएपछि ओम शर्मा कम्प्युटरसहित ट्याक्सीमा भाग्न खोज्दै थिए, पक्राउ परिहाले ।
हामीलाई पुतलीसडकमा झारेपछि सिंहदरबारबाट प्रहरी भ्यान बोलाइयो । यसबिचमा गोविन्द आचार्यले चिच्याए, ‘हामी जनादेशका पत्रकार हौँ, हामीलाई प्रहरीले गिरफ्तार गर्दै छ ।’
यति भन्दाभन्दै प्रहरी भ्यान सिंहदरबारबाट हुइँकिँदै आयो र सबैलाई भ्यानमा कोचियो । भ्यान गुड्न लाग्यो, म भने सडक पेटीमा छुटेँ । सबै साथीहरू गएपछि म मात्रै किन बस्ने भन्ने मनमा आयो र चर्को स्वरमा भनेँ, ए म छुटेँ । गुड्न लागेको भ्यान रोकियो र म भ्यानमा चढेँ ।
त्यसपछि हामीलाई तत्कालीन प्रहरी तालिम केन्द्र महाराजगन्जमा लगियो । तालिम केन्द्रको भवनभन्दा तल जस्तापाताले छाएको लामो कटेरो थियो, त्यहाँ अघिल्लो दिन नै गिरफ्तार परेका माओवादी नेताहरू रविन्द्र श्रेष्ठ, रवि कार्की कृष्णभक्त महर्जनसँग भेट भयो । एकछिनपछि ओम शर्मा, दीपक मैनाली लगायत साथीहरू पनि थपिए । हामी १८ जना पुग्यौँ ।
साला, आतङ्ककारी ! फलानो ठाउँमा मलाई धन्नै ‘एम्बुस’मा नपारेको ! तिमीहरू पनि अब माथि जाने भयौ ।
झमक्क साँझ पर्यो । हामीलाई राखिएको कटेरोनजिकै ठुलो बाँसघारी थियो, चराहरू कराउँदै गुँड खोज्दै थिए । हामी भने गुँडविहीन भएका थियौँ । त्यहाँ रहेका फलामका बेन्च हाम्रा लागि खाट भए । जस्ताको छानो थियो, मंसिरको चिसोले चिसिँदै गयो र हामीलाई चिसोमाथि चिसो थपिरहेको थियो ।
जब रात पर्यो, हामी १८ जनालाई हतकडीले एउटै माला बनाइयो, एउटाको दाहिने र अर्काको देब्रे हातमा एउटै हतकडी लगाएर । एकजना अलिकति यताउति गर्दा १८ जना नै यताउति गर्नुपथ्र्यो । हतकडीले हामीलाई निकै अप्ठेरो बनाएको थियो ।
जब रात छिप्पिँदै जान्थ्यो, बेला–बेला प्रहरीहरू रक्सीले मातेर हामीलाई तथानाम सराप्थे —
साला, आतङ्ककारी !
फलानो ठाउँमा मलाई धन्नै ‘एम्बुस’मा नपारेको !
तिमीहरू पनि अब माथि जाने भयौ ।
कतिजना पुलिस मार्यौ ?
भर्खर युद्धभूमिबाट पक्रेर ल्याइएको माओवादी सेनालाई झैँ हामीलाई प्रश्न गरिन्थ्यो । हामी पत्रकारलाई उनीहरूले माओवादीका कमान्डर र लडाकु मानिरहेका थिए । बाहिर कतै प्रहरीसँग माआवादीको भीडन्त भयो कि त्यहाँको रिस हामीमाथि पोखिन्थ्यो । हाम्रा अगाडि जब उनीहरूको रिसको पारो बढ्थ्यो, हामीलाई लाग्थ्यो— बाहिर माओवादीले ठुलै दनक दिए छन् ।
पक्रेको भोलिपल्ट मात्रै हामीलाई भात खान दिए । कुनै कुनै दिन ड्युटीमा निकै असल प्रहरी आइपुग्थे, बेलुका हतकडी खुकुलो पारिदिन्थे र भन्थे— हजुर मेरो ‘ड्युटी’ हो, गर्नैपर्यो । उनी गएपछि हातबाट हतकडी निकालेर अलि सजिलोसँग निदाउने प्रयास गथ्र्यौं । तर निद्रा नलागेर धेरै दिन हामी जागै बस्यौँ ।
एक दिन मध्यराततिर नजिकै ठुल्ठुलो आवाज आयो, खाल्टो खनेजस्तो । मुटु ढक्क फुल्यो तर केही समयपछि आवाज बन्द भयो ।
नजिकै ठुलो चौर थियो । चौरनजिकै दुव्र्यसनीमा लागेकाहरूको सुधारगृह थियो । जब हामीलाई लाइन लगाएर पिसाब फेर्नका लागि निकालिन्थ्यो । सुधार गृहका भाइहरू चौरको छेउतिरबाट कुद्दै हामीलाई हेर्न आउँथे र अनौठो मानेझैँ गर्थे । एक दिन त एकजनाले हामीले सुन्ने गरी भने, ‘माओवादी त मान्छे नै पो रछन् ।’ कस्तो भ्रम छरिएको रहेछ उनीहरूलाई !
केही दिनपछि फेरि मध्यरातमा खाल्टो खनेको जस्तो आवाज दोहोरियो । हामी सबैजना सशंकित भयौँ, शरीरमा एक खालको काँडा उम्रियो । नभन्दै एकजना प्रहरीले हामीलाई सुनाए, ‘तिमीहरूलाई पुर्ने खाल्टो खनिदै छ ।’
उनीहरूले जे गरे पनि हामीले गर्न सक्ने केही थिएन, सिंहको पन्जामा परेको सिकारजस्तै थियौँ हामी । प्रहरीको कुरा सुनेपछि हामी निकै स्तब्ध भयौँ, कतै जिउँदै पुरिने त होइन ! थोरै पसिना आएजस्तो भयो तर मन–मुटु दह्रो बनायौँ, जे आइपरे पनि भोग्न तयार भयौँ ।
एक प्रहरीले हाँस्दै भने, ‘तिमीहरू जेल जान पनि यति खुसी !’
अनिदा चिसा रात, त्रास एकातिर अर्कातिर कहिले आधा त कहिले भोको पेट— यसरी नै २३ दिन बित्यो । शरीरको तौल घट्न थालिसकेको थियो ।
यही बिचमा एकजना प्रहरीले हामीलाई जेल लैजाने कुरा सुनाए । थाहा थिएन, जेल कस्तो हुन्छ ! पुस्तकहरूमा पढेका भरमा अनुमान चाहिँ थियो । जेल लैजाने खबर थाहा पाएपछि ओम शर्माले खुसी बाँड्दै भने, ‘अब हामी बाँच्यौँ, जेल लगेपछि त सारा दुनियाँले थाहा पाउँछ । मानव अधिकारकर्मी र पत्रकारहरूले पनि थाहा पाउँछन् । जेलमा खाना पाइन्छ; फुटबल, भलिबल खेल्न पाइन्छ; पढ्न–लेख्न पाइन्छ । परिवारसँग पनि भेट्न पाइन्छ ।’ २०४१ सालमै राजकाज मुद्दामा जेल परेर जेलबाटै एसएलसी पास गरेका ओम शर्माको कुराले हामीभित्र एक खालको खुसीको तरङ्ग ल्याइदियो, एकाएक शरीर चङ्गा भयो ।
एक प्रहरीले हाँस्दै भने, ‘तिमीहरू जेल जान पनि यति खुसी !’
खोइ किन हो, जेल लैजाने दिन प्रहरीले हामीलाई प्रेसर कुकरमा पकाएको भात ख्वाए । सम्झना छ, पारिलो घाम लागेको बिहान हामीलाई चौरको डिलमा राखेर पेटभरि मासुभात नै खुवाइयो ।
हामीलाई साँझतिर प्रहरीको ठुलो ट्रकको पछाडि राखियो । जसै ट्रक गुड्न थाल्यो, तीन सातासम्म केही नदेखेका हामीले धीत मर्ने गरी सहर नियाल्यौँ । ट्रक जगन्नाथ देवलतिर मोडियो, जेल त्यहीँ रहेछ ।
जेलको गेटमा ट्रकबाट हामीलाई झारेपछि जेलभित्रका नाइके, भाइनाइकेको एक हुल आएर बोल्न थाले— ल मोटामोटा खसी आयो ! खुँडा खुकुरी उद्याउनु ! पानी तताउनु !
अचम्म लाग्यो, के भनेका होलान् । पछि थाहा भयो, त्यहाँ त कैदीबन्दीहरूलाई जेलको गेटैमा सात्तो लिइँदो रहेछ ।
एक–एक गरी नाम टिप्दै हामीलाई जेलभित्र हुलियो । पहिल्यै जेल परेका माओवादी साथीहरू हामीलाई लिन गेटमै आए । भित्र हामीलाई स्वागत गरियो । राजबन्दीहरूको सामूहिक भान्सा रहेछ, त्यो दिन मिठो पकाएर ख्वाए, सुत्ने व्यवस्था मिलाए ।
हामीलाई पुस्तकालयको भवनमा राखियो । केही दिन जेलका केही कष्टकर नियमहरू पालना गर्नुपर्ने रहेछ, नत्र कुटाइ खानुपर्ने । जेलभित्र खेल्न पाइयो, पत्रिका पढ्न पाइयो । मुलुकभरि नेकपा (माओवादी) का फौजी कारबाहीका समाचार सुनियो । जब माओवादीको ठुल्ठुला फौजी हमला हुन्थ्यो, जेलका नाइकेहरू पनि हामीलाई दिनको तीनचोटि नमस्कार गर्थे । जब माओवादीको क्षति भएको खबर सुन्थे, उनीहरू हामीलाई आँखा तर्दै हिँड्थे ।
हामी जेलमा पुगेपछि दिनहुँ साथीहरू थपिँदै गए, त्यसरी थपिने साथीहरूमध्ये कसैको हात भाँचिएको थियो, कसैको खुट्टा । कतिको शरीरभरि घाउ हुन्थ्यो । सेना तथा पुलिसको कुटाइले थिलथिलो भएको शरीर लिएर साथीहरू आउँथे । साथीहरूका कहालीलाग्दा यातनाका कथा सुन्दा शरीरमा काँडा उम्रन्थ्यो ।
केही समयपछि केही साथीहरू कानुनी प्रक्रियाबाट जेलबाट छुटेका पनि थिए । सँगै जेल बसेर छुटेका पर्वतराज भट्टराई, नवराज अधिकारी सहितका थुप्रै साथी विभिन्न मोर्चामा सहादत पनि भए ।
जेलभित्रै पनि भक्तपुरका कमरेड बैकुण्ठ श्रेष्ठको मृत्यु भयो । जेलमा हामी सामूहिकतामा रमायौँ । खाली समयमा पुस्तक पढियो, मैले जेलमा बीपी कोइरालाको दोषी चस्मा, तीन घुम्ती, सुम्निमा लगायत थुप्रै लेखकका साहित्यिक कृति पढेँ । जेलको पुस्तकालयमा कम्युनिस्ट विचारका पुस्तक कमै थिए । खेलकुदमा भने राजबन्दीभन्दा पनि अरु नै कैदी बन्दीले अलि बढी हक जमाउथे ।
केही महिना बितेपछि मैले टोपी बुन्न सिकेँ र टोपी बुन्ने तान किनेँ । त्यसपछि फुर्सदको समयमा टोपीको तानमा भुलियो । केही साथीहरू निकै राम्रा बुट्टा भएको टोपी, पर्स बुन्थे । म भने त्यति सिपालु थिइनँ । सामान्य र सस्तो खालको टोपी बुन्थेँ । जेलमा बन्दीहरू पोते उन्ने, बस्ने मुढा बुन्ने, कपडा बुन्ने गर्दथे । हामी भने बढी राजनीतिक छलफल र बहसमै बढी समय बिताउँथ्यौँ ।
म लगायत केही पत्रकार साथीहरूका परिवारले कानुनविद्हरूको सल्लाहमा अदालतमा हाम्रो गिरफ्तारविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेछन् । अदालतले हामीलाई छाडिदिने खबर थाहा भयो, विश्वास भने लागेको थिएन । अदालतले छाडे पनि जेलकै गेटबाट समातेर अर्को मुद्दा लगाएर जेल सारिरहने घटना निकै भएका थिए ।
हरेक तीन–तीन महिनामा रिहा हुँदै र पुनः पक्राउ पर्दै गर्दा जेल बसाइँ एक वर्ष कटिसकेको थियो । जेलमा हामी राजबन्दी एक सयभन्दा बढी भइसकेका थियौँ । देशभर माओवादी सेना र सरकारी सेनाबिच भीषण भीडन्तका खबर आइरहेका थिए । यही बिचमा सरकार र माआवादीबिच वार्ताको कुरा पनि चलिरहेको थियो । सरकार र युद्धरत पक्षबिच लामो छलफलपछि दोस्रोचोटि पुनः वार्ता सुरु भयो । वार्ता सुरु भएको केही महिनापछि बन्दी प्रत्यक्षीकरण मुद्दाको फैसलापछि म आजकै दिन २०५९ फागुन २० गते एक वर्ष तीन महिना नौ दिनको हिरासत र जेल बसाइँपछि जेलमुक्त भएँ ।