तथ्याङ्कमा च्याम्पियन्स ट्रफीको समूहगत चरण

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा समूहगत चरणका खेलहरू सकिएका छन् । सेमिफाइनल समीकरण पनि पुरा भएको छ । भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार र बुधबार खेलिने छ । भारतले पहिलो सेमिफाइनल खेलमा विश्वकप विजेता अस्ट्रेलियाको सामना गर्नेछ । भारत र अस्ट्रेलियाबिचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार खेलिने छ । भारत र अस्ट्रेलिया दुई–दुईपटकका च्याम्पियन हुन् ।
दोस्रो सेमिफाइनलमा भने पहिलो संस्करणको विजेता न्युजिल्याण्डले दोस्रो संस्करणको च्याम्पियन दक्षिण अफ्रिकाको सामना गर्नेछ । दोस्रो सेमिफाइनल खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा खेलिने छ । फाइनल मार्च ९ तारिखमा खेलिने छ ।
नवौँ संस्करणमा पहिलो चरणको खेल सकिँदासम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर, सर्वाधिक क्याच लिने फिल्डर, टोलीले बनाएको सर्वाधिक रनलगायतको विषयमा यहाँ चर्चा गरिएको छ ।
- इंग्ल्याण्ड बाहिरियो तर, ब्याट्सम्यानहरू अग्रस्थान
नवौँ संस्करणको प्रारम्भिक चरणको खेल सकिँदासम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो र दोस्रो स्थानमा इंग्ल्याण्डका ब्याट्सम्यान छन् । यद्दपि, इंग्ल्याण्ड प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिइसकेको छ ।
इंग्ल्याण्डका बेन डकेट पहिलो स्थानमा छन् । उनले पहिलो चरणमा आफूले खेलेको तीन खेलमा कुल दुई सय २७ रन बनाएका छन् । उनले अस्ट्रेलियाविरुद्धको खेलमा एक सय ६५ रन बनाएका थिए ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा इंग्ल्याण्डकै जो रुट दोस्रो स्थानमा छन् । उनले आफूले खेलेको तीन खेलमा कुल दुई सय २५ रन बनाएका छन् । उनले अफगानिस्तानविरुद्धको खेलमा एक सय २० र अस्ट्रेलियाविरुद्धको खेलमा ६८ रन बनाएका थिए ।
यो सूचिमा अफगानिस्तानका इब्राहिम जदरान तेस्रो स्थानमा आसीन छन् । अफगानिस्तान पनि समूहगत चरणबाटै बाहिरिएको छ । जदरानले आफूले खेलेको तीन खेलमा कुल दुई सय १६ रन बनाएका थिए ।
जदरानले इंग्ल्याण्डविरुद्धको खेलमा एक सय ७७ रन बनाएका थिए । उक्त खेलमा अफगानिस्तान आठ रनले विजयी भएको थियो । सोही खेलमा अफगानिस्तानसँग पराजित भएपछि इंग्ल्याण्ड उपाधि होडबाट बाहिरिने निश्चित भएको थियो ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा न्युजिल्याण्डका टम लाथम चौथो स्थानमा छन् । उनले तीन खेलमा कुल एक सय ८७ रन बनाएका छन् । उनले पाकिस्तानविरुद्धको खेलमा अविजित एक सय १८ रन बनाएका थिए । न्युजिल्याण्ड सेमिफाइनलमा पुगेकाले उनी माथि उक्लने सम्भावना कायमै छ ।
यो सूचिमा पाँचौँ स्थानमा भारतका श्रेयष ऐयर रहेका छन् । उनले आफूले खेलेको तीन खेलमा कुल कुल एक सय ५० रन बनाएका छन् । उनले दुई खेलमा अर्धशतक बनाएका थिए । भारत सेमिफाइनलमा पुगेकाले उनको पनि अगाडि बढ्ने सम्भावना कायमै छ ।
- म्याट हेनरीको नाममा आठ विकेट
जारी च्याम्पियन्स ट्रफीमा सर्वाधिक विकेट लिने बलरको सूचिमा न्युजिल्याण्डका म्याट हेनरी पहिलो स्थानमा आसीन छन् । उनले तीन खेलमा कुल आठ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ४२ रन खर्चिएर पाँच विकेट हो ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई दोस्रो स्थानमा आसीन छन् । उनले तीन खेलमा कुल सात विकेट लिएका छन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन ५८ रन खर्चिए पाँच विकेट हो ।
यो सूचिमा अस्ट्रेलियाका बेन ड्वारशस तेस्रो स्थानमा छन् । उनले समूहगत चरणको दुई खेलमा कुल ६ विकेट लिएका छन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन ४७ रन खर्चिएर तीन विकेट हो ।
यसैगरी, यो सूचिमा चौथो स्थानमा रहेका न्युजिल्याण्डका विल ओ’रुर्कले पनि ६ विकेट लिएका छन् । उनले आफूले खेलेको तीन खेलमा ६ विकेट लिएका हुन् । उनको उत्कृष्ट प्रदर्शन पनि ४७ रन खर्चिएर तीन विकेट हो ।
यो सूचिमा पाँचौँ स्थानमा भने इंग्ल्याण्डका जोफ्रा आर्चर रहेका छन् । उनले पनि तीन खेलमा कुल ६ विकेट हात पारेका छन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन भने ६४ रन खर्चिएर तीन विकेट हो ।
- ठुलो योगफल अस्ट्रेलियाको नाममा
जारी च्याम्पियन्स ट्रफीमा समूहगत चरणको खेल सकिँदासम्म सबैभन्दा ठुलो योगफल तयार पार्ने टोलीको कीर्तिमान अस्ट्रेलियाको नामसँग जोडिएको छ । समूहगत चरणको इंग्ल्याण्डविरुद्धको खेलमा अस्ट्रेलियाले पाँच विकेट गुमाएर तीन सय ५६ रन बनाएको थियो ।
दोस्रो ठुलो योगफल भने इंग्ल्याण्डको नाममा छ । सोही खेलमा इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो । उक्त खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भएको थियो ।
सर्वाधिक योगफल तयार पार्ने टोलीको सूचिमा अफगानिस्तान तेस्रो स्थानमा छ । इंग्ल्याण्डविरुद्धको खेलमा अफगानिस्तानले सात विकेट गुमाएर तीन सय २५ रन बनाएको थियो । उक्त खेलमा अफगानिस्तान आठ रनले विजयी भएको थियो ।
यो सूचिमा चौथो स्थानमा न्युजिल्याण्ड छ । न्युजिल्याण्डले पाकिस्तानविरुद्ध पाँच विकेट गुमाएर तीन सय २० रन बनाएको थियो । पाँचौँ स्थानमा इंग्ल्याण्ड छ । इंग्ल्याण्डले अफगानिस्तानविरुद्धको खेलमा ४९.५ ओभरमा अलआउट हुनुअघि तीन सय १७ रन बनाएको थियो ।
- फराकिलो अन्तरको जित दक्षिण अफ्रिकाको नाममा
जारी च्याम्पियन्स ट्रफीमा रनका आधारमा सबैभन्दा फराकिलो अन्तरको जित हात पार्ने टोली दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई एक सय सात रनको विशाल अन्तरले पराजित गरेको थियो ।
विकेटका आधारमा सबैभन्दा ठुलो अन्तरको जित हात पार्ने टोली पनि दक्षिण अफ्रिका नै हो । दक्षिण अफ्रिकाले पाकिस्तानको कराँचीमा खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी इंग्ल्याण्डलाई सात विकेटले पराजित गरेको थियो ।
- सर्वाधिक क्याच लिने केन विलियम्सन
जारी च्याम्पियन्स ट्रफीमा प्रारम्भिक चरणको खेल सकिँदासम्म सर्वाधिक क्याच लिने खेलाडी न्युजिल्याण्डका केन विलियम्सन हुन् । उनले हालसम्म तीन खेलमा ६ वटा क्याच लिइसकेका छन् । सेमिफाइनल खेलमा उनले यो संख्या अझ बढाउन सक्छन् ।
सर्वाधिक क्याच लिने फिल्डरको सूचिमा भारतका विराट कोहली दोस्रो स्थानमा आसीन छन् । उनले तीन खेलमा पाँचवटा क्याच लिएका छन् । तेस्रो स्थानमा रहेका अस्ट्रेलियाका एलेक्स केरीले चारवटा क्याच लिएका छन् ।
- सर्वाधिक सफल विकेटकिपर केएल राहुल
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा समूहगत चरणको खेल सकिँदासम्म सफल विकेटकिपरका रूपमा भारतका केएल राहुलको नाम सबैभन्दा अगाडि छ । उनले तीन खेलमा विभिन्न टोलीका पाँच ब्याट्सम्यानलाई पेभेलियन फर्काएका छन् ।
केएल राहुलले चार ब्याट्सम्यानलाई क्याच आउट र एक ब्याट्सम्यानलाई स्टम्पिङ गरेका हुन् । यो सूचिमा दोस्रो स्थानमा अस्ट्रेलियाका जस इङ्लिर रहेका छन् । उनले तीन ब्याट्सम्यानलाई पेभेलियन फर्काएका छन् ।
- सर्वाधिक छक्का अजमतुल्लाहको नाममा
जारी च्याम्पियन्स ट्रफीमा हालसम्म सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी अफगानिस्तानका अजमतुल्लाह ओमरजाई हुन् । उनले तीन खेलमा आठवटा छक्का प्रहार गरेका छन् । यो सूचिमा दोस्रो स्थानमा पनि अफगानिस्तानकै ब्याट्सम्यान छन् ।
अफगानिस्तानका इब्राहिम जदरानले तीन खेलमा सातवटा छक्का हिर्काएका छन् । तेस्रो स्थानमा रहेका अस्ट्रेलियाका जस इङ्लिसले ६ वटा छक्का हिर्काएका छन् । चौथो स्थानमा आसीन न्युजिल्याण्डका ग्लेन फिलिप्सले पनि ६ वटा छक्का हिर्काएका छन् ।
- रुट र डकेटबिच सबैभन्दा ठुलो साझेदारी
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा प्रारम्भिक चरणको खेल सकिँदासम्म सबैभन्दा कुनै पनि विकेटका लागि ठुलो साझेदारी गर्ने खेलाडी इंग्ल्याण्डका जो रुट र बेन डकेट हुन् । यी दुई ब्याट्सम्यानले अस्ट्रेलियाविरुद्धको खेलमा तेस्रो विकेटका लागि एक सय ५८ रनको साझेदारी गरेका थिए ।
यो सूचिमा दोस्रो स्थानमा भने बंगलादेशका तोहिद हृदोय र जाकेर अली रहेका छन् । उनीहरुले भारतविरुद्धको खेलमा छैटौँ विकेटका लागि एक सय ५४ रनको साझेदारी गरेका थिए । बंगलादेश उपाधि होडबाट बाहिरिइसकेको छ ।
- सबैभन्दा बढी अतिरिक्त रन दिन अफगानिस्तान
जारी च्याम्पियन्स ट्रफीको एउटै खेलमा सर्वाधिक अतिरिक्त रन दिने टोली भने अफगानिस्तान हो । अफगानिस्तानले लाहोरमा खेलिएको अस्ट्रेलियाविरुद्धको खेलमा अतिरिक्त रूपमा ३७ रन दिएको थियो ।
यो सूचिमा दोस्रो स्थानमा बंगलादेश रहेको छ । बंगलादेशले न्युजिल्याण्डविरुद्ध रावलपिण्डीमा खेलिएको खेलमा अतिरिक्त रूपमा २५ रन दिएको थियो । तेस्रो स्थानमा इंग्ल्याण्ड छ । इंग्ल्याण्डले लाहोरमा खेलिएको अस्ट्रेलियाविरुद्धको खेलमा अतिरिक्त रूपमा २३ रन दिएको थियो ।
ICC Champions Trophy, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधि देखेर भड्किइन् किमकी बहिनी
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
बार मतदाता नामावली विवाद : आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु
-
अमेरिकामा चीप बनाउन १ खर्ब डलर लगानी गर्दैछ ताइवानको टीएसएमसी
-
युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित