मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

मङ्गलबार, २० फागुन २०८१, ०६ : ५२
मङ्गलबार, २० फागुन २०८१

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने  क्यान्सर रोगको पूर्वपहिचानका लागि मङ्गलबार निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ ।

शिविरमा एक सय २० जना समुदायका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् । जाँच गराएकामध्ये आठ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए ।

शिविरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) परीक्षण गरिएको हो । भिआइए पोजेटिभ देखिएका  आठ महिलाको तत्कालै उपचार सुरु गरेर छ महिनापछि पुनः परीक्षणको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन सर्भिकल क्यान्सर फाउण्डेसन र नेपाल क्यान्सर रिलिफ सोसाइटीको प्राविधिक सहयोगमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो ।

भिआइए विधिबाट एचपिभी भाइरस पत्ता लाग्ने क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने प्रमुख भट्टले जानकारी दिए । ग्रामीण भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या बढी देखिने भएकाले समयमा नै समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उनले बताए ।

“भिआइए परीक्षणबाट १० वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, प्रमुख भट्टले भने, “हामीले औषधि राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ, पाठेघरको अवस्था पत्ता लागेपछि सोहीअनुसार उपचार गर्न सुरु गरिन्छ ।”

गाउँपालिकाले विशेषज्ञ चिकित्सकको निगरानीमा तालिमप्राप्त भिआइए नर्समार्फत महिलाहरूको पाठेघरको क्यान्सरको ‘स्क्रिनिङ’ गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप