मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म

सोमबार, १९ फागुन २०८१, २३ : ५३
सोमबार, १९ फागुन २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. कांग्रेसका तीन कार्यक्रममा शेखर अनुपस्थित हुनुको यस्तो छ कारण
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीले आयोजना गरेका तीन वटा महत्त्वपूर्ण कार्यक्रममा अनुपस्थित भएका छन् । पछिल्लो पटक सोमबारदेखि रुपन्देहीको भैरहवामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिने कार्यक्रममा डा. कोइराला अनुपस्थित रहे । उनी आफूलाई उपसभापति पूर्णबहादुर खड्काभन्दा तलको वरीयतामा राखेको भन्दै असन्तुष्ट रहेको बुझिएको छ ।

२. महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा जोडिएको विवादका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयले निर्णय बारेको सूचना दिन अस्वीकार गरेको छ । सूचनाको हकसम्बन्धी व्यवस्थाअनुसार युवराज सफलले माग गरेको सूचनामा कार्यालयले सूचना नदिएको हो । 

३. धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्ता
कलाकार तथा सामाजिक अभियन्ताहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध मुद्दा दायर भएको छ । पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

४. एकीकृत समाजवादीमाथि ‘दल विभाजन’को तरबार
केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार साना दल विभाजनका लागि कम्मर कस्न थालेको छ । विभिन्न मितिमा जारी गरेका ६ वटा अध्यादेश संघीय संसदमा पेस भए पनि एक महिना बित्दासमेत सदनमा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन । राष्ट्रिय सभामा अनुकूल अंकगणित नभएकै कारण सरकारले दल विभाजन गराएर भए पनि ती अध्यादेशलाई निष्कर्षमा पुर्‍याउने गृहकार्य थालेको छ । यस क्रममा नेकपा एकीकृत समाजवादी विभाजन गराउने योजना प्राथमिकतामा रहेको बताइन्छ ।

५. पूर्वयुवराज पारसलाई हृदयघात
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याएका थिए । उनको आइसीयुमा राखेर उपचार भइरहेको छ ।

६. माओवादीलाई ०६४ को अवस्थामा फर्काउन कति सहज ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई ०६४ सालकै अवस्थामा फर्काउने प्रतिबद्धता पछिल्ला दिनमा व्यक्त गर्दै आएका छन् । तर माओवादीलाई ०६४ को अवस्थामा फर्काउन कति सहज छ ? यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

७. विद्या भण्डारीले गरिन् ओलीको प्रशंसा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । सोमबार ओलीबारेकै एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ओली कुशल रणनीतिकार रहेको बताइन् ।

८. कार्यसम्पादनमा कुलमानले पाए शून्य अङ्क
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अङ्क दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०–०८१ मा गरेका कार्यसम्पादन मूल्यांकनमा यस्तो अंक प्रदान गरेको हो ।

९. प्रहरीले गोली चलाएर पक्राउ गरेका गुड्डु भारतमा पनि ‘वान्टेड’
काठमाडौँको टोखामा आइतबार साँझ प्रहरीले गोली चलाएर पक्राउ गरेका गुड्डु पटेल भारतमा पनि ‘वान्टेड’ रहेको तथ्य प्रकाशमा आएको छ ।

१०. घरजग्गाको कारोबार किन बढ्न सकेन ?
अहिले घरजग्गा कारोबार सुस्त छ । चालु आर्थिक वर्षको सात महिनामा पनि यो क्षेत्रमा सुधार हुन सकेको छैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार कारोबार सुस्त देखिए पनि राजस्वमा भने १४ प्रतिशत सुधार भएको देखिएको छ ।

११. भ्रष्टाचारमा दोषी ठहर तीन पूर्वकर्मचारी जेल चलान
पशुपति क्षेत्र विकास कोषको जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ३ जना पूर्वकर्मचारी कारागार (जेल) चलान भएका छन् । काठमाडौँका तत्कालीन स्थानीय विकास अधिकारीद्वय प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र पशुपति क्षेत्र विकाश कोषका पूर्वनिर्देशक राजु कुमार रेग्मी कारागार चलान भएका हुन् । 

१२. स्कारपियो पल्टिँदा चालकको मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा सोमबार बिहान स्कारपियो पल्टिँदा चालकको मृत्यु भएको छ। गाउँको भित्री सडकमा बिहान ४ बजेतिर बीआर ३० पि १७०३ नम्बरको स्कारपियो अनियन्त्रित भइ पल्टिँदा चालक ४० वर्षीय अमितकुमार अधिकारी गम्भीर घाइते भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप