मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म

सोमबार, १९ फागुन २०८१, २२ : ००
सोमबार, १९ फागुन २०८१

आज २०८१ फागुन १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा कांग्रेसका तीन कार्यक्रममा शेखर अनुपस्थित, धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्ता, एकीकृत समाजवादीमाथि ‘दल विभाजन’ को तरबार, पूर्वयुवराज पारसलाई हृदयघात, माओवादीलाई ०६४ को अवस्थामा फर्काउन कति सहज ?, विद्या भण्डारीले गरिन् ओलीको प्रशंसा लगायत छन् ।

१. कांग्रेसका तीन कार्यक्रममा शेखर अनुपस्थित हुनुको यस्तो छ कारण
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पार्टीले आयोजना गरेका तीन वटा महत्त्वपूर्ण कार्यक्रममा अनुपस्थित भएका छन् । पछिल्लो पटक सोमबारदेखि रुपन्देहीको भैरहवामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिने कार्यक्रममा डा. कोइराला अनुपस्थित रहे । उनी आफूलाई उपसभापति पूर्णबहादुर खड्काभन्दा तलको वरीयतामा राखेको भन्दै असन्तुष्ट रहेको बुझिएको छ ।

२. धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्ता
कलाकार तथा सामाजिक अभियन्ताहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध मुद्दा दायर भएको छ । पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

३. एकीकृत समाजवादीमाथि ‘दल विभाजन’को तरबार
केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार साना दल विभाजनका लागि कम्मर कस्न थालेको छ । विभिन्न मितिमा जारी गरेका ६ वटा अध्यादेश संघीय संसदमा पेस भए पनि एक महिना बित्दासमेत सदनमा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन । राष्ट्रिय सभामा अनुकूल अंकगणित नभएकै कारण सरकारले दल विभाजन गराएर भए पनि ती अध्यादेशलाई निष्कर्षमा पु¥याउने गृहकार्य थालेको छ । यस क्रममा नेकपा एकीकृत समाजवादी विभाजन गराउने योजना प्राथमिकतामा रहेको बताइन्छ ।

४. पूर्वयुवराज पारसलाई हृदयघात
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याएका थिए ।

५. माओवादीलाई ०६४ को अवस्थामा फर्काउन कति सहज ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई ०६४ सालकै अवस्थामा फर्काउने प्रतिबद्धता पछिल्ला दिनमा व्यक्त गर्दै आएका छन् । तर माओवादीलाई ०६४ को अवस्थामा फर्काउन कति सहज छ ? यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

६. विद्या भण्डारीले गरिन् ओलीको प्रशंसा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । सोमबार ओलीबारेकै एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ओली कुशल रणनीतिकार रहेको बताइन् ।

७. कार्यसम्पादनमा कुलमानले पाए शून्य अङ्क
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अङ्क दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०/०८१ मा गरेका कार्यसम्पादन मूल्यांकनमा यस्तो अंक प्रदान गरेको हो ।

८. प्रहरीले गोली चलाएर पक्राउ गरेका गुड्डु भारतमा पनि ‘वान्टेड’
काठमाडौँको टोखामा आइतबार साँझ प्रहरीले गोली चलाएर पक्राउ गरेका गुड्डु पटेल भारतमा पनि ‘वान्टेड’ रहेको तथ्य प्रकाशमा आएको छ ।

९. घरजग्गाको कारोबार किन बढ्न सकेन ?
अहिले घरजग्गा कारोबार सुस्त छ । चालु आर्थिक वर्षको सात महिनामा पनि यो क्षेत्रमा सुधार हुन सकेको छैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार कारोबार सुस्त देखिए पनि राजस्वमा भने १४ प्रतिशत सुधार भएको देखिएको छ ।

१०. भ्रष्टाचारमा दोषी ठहर तीन पूर्वकर्मचारी जेल चलान
पशुपति क्षेत्र विकास कोषको जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ३ जना पूर्वकर्मचारी कारागार (जेल) चलान भएका छन् । काठमाडौँका तत्कालीन स्थानीय विकास अधिकारीद्वय प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र पशुपति क्षेत्र विकाश कोषका पूर्वनिर्देशक राजु कुमार रेग्मी कारागार चलान भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप