बल्ल पर्यो पानी, किसानलाई राहत

काठमाडौँ । लामो समयपछि वर्षा भएको छ । १६ मंसिरदेखि १६ फागुनसम्मको समयमा पर्ने पानीलाई हिउँदे वर्षामा मापन गरिन्छ । तर यस वर्ष हिउँदमा पानी नै परेन । यस वर्ष मात्र होइन, अघिल्ला दुई वर्षको हिउँद पनि सुक्खा नै भयो ।
हिउँद सकिएर प्रि–मनसुन सुरु भएकै दिन फागुन १६ (फेब्रअरी २८) र १७ (मार्च १) गते वर्षा भयो । बल्लबल्ल परेको यो वर्षाले हिउँदेबालीलाई निकै राहत पुर्याएको छ ।
यी दुई दिन देशभर वर्षा भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘फेब्रुअरी २८ र मार्च १ तरिखमा देशभर नै वर्षा भएको थियो,’ उनले भनिन्, ‘उच्च पहाडी क्षेत्रका एक दुई स्थानमा भारी हिमपात र सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा भारी वर्षासहित देशभर वर्षा भएको थियो ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदयाममा अर्थात् १६ मंसिरदेखि १६ फागुनमा १८.३ मिलिमिटर वर्षा भएको छ । पछिल्लो पटक परेको पानीको मापन भने यसमा उल्लेख गरिएको छैन । ‘वर्षाले गहुँबालीलाई राम्रो गरेको छ,’ मानन्धरले भनिन् ।
नेपालका अधिकांश कृषि क्षेत्र आकाशेपानीमै निर्भर छन् । नेपालमा भौगोलिक अवस्थाअनुसार फरक–फरक बाली लगाउने गरिन्छ । हिउँदमा तोरी, गहुँ, उवा, जौँ, केराउ, मुसुरोलगायत बालीको खेती हुन्छ । तराई भेगमा तोरी बाली भित्र्याइ सकिएको अवस्था छ भने, गहुँ, जौँ, केराउ, मुसुरो लगायत बाली खेतमै छ । यी पसाउने क्रममा छन् ।
यस्तो समयमा बालीलाई पानीको आवश्यक पर्ने हुन्छ । फागुन १६ र १७ गते परेको पानीले यी बाली रोपेका किसानलाई राहत पुग्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले बताए । ‘जति ठाउँमा पानी पर्यो त्यहाँका किसानलाई ठुलै राहत भएको छ,’ उनले भने ।
मध्यपहाडका आलु बालीमा यो समय सिँचाइ गरी मल दिनुपर्ने हुन्छ । पानी परेका क्षेत्रमा आलुबाली र फलफूलमा मल राख्न उनले किसानलाई सुझाए ।
वर्षा नहुँदा मलाखद राखे पनि जराले खाद्य तत्त्व सोस्न सक्दैन । अब पानी परेसँगै मल राख्ने सही समय आएको उनले बताए ।
विगतमा गाईबस्तुका मल प्रयोग गर्दा माटोमा आद्र्रता कायम हुन्थ्यो । तर, गाईबस्तुको संख्यामा कमी आउँदा किसानहरूले रासायनिक मल प्रयोग गर्न थालेका छन् । यसले माटोमा आद्रता कायम हुन समस्या देखिएको छ ।
पानी परेकाले चिस्यान जोगाउन स्याउला, घाँसपात वा कालो प्लास्टिकको छापो राख्न पनि मौसमविद् रिमाल सुझाउँछन् । वर्षाको पानी संकलन गर्न पनि उनले किसानलाई आग्रह गरे । भने, ‘हिमाली र उच्च पहाडी क्षेत्रका किसानले भाँडोमा हिउँ संकलन गर्नुभयो भने पानी आवश्यक गरेको समयमा प्रयोग गर्न सकिन्छ ।’
पानी नहुँदा खेती–चक्र नै बिथोलिने, जमिनमा पानीको सतह घट्दै जाने, वन्यजन्तु अन्यत्र सर्नेलगायत जैविक विविधतामै प्रभाव पर्ने कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल बताउँछन् । ‘पछिल्लो वर्षले केही राहत भए पनि पर्याप्त वर्षा नहुँदा बाली–चक्रमा असर पर्छ,’ उनले भने ।
पानी अभावका कारण बालीनालीमा रोगकीराको प्रकोप बढ्नाले उत्पादनमै असर पार्ने डा. पौडेल बताउँछन् । ‘पहिला वेला–वेलामा पानी पथ्र्यो, अहिले परेको छैन,’ उनले भने, ‘तराईमा इनार र पम्प सुक्ने, खोलाहरू सुक्ने समस्या देखिएको छ । पानीको भण्डारण प्रभावित भएका छन् । यसले समग्र सिँचाइ प्रभावित भएको छ ।’
नेपालमा कति हुन्छ हिउँदेबाली उत्पादन ?
नेपालमा हिउँदे सिजनमा भौगोलिक क्षेत्रअनुसार फरक फरक बालीको उत्पादन हुन्छ । तराई क्षेत्रका गहुँ, मसुरो, तोरी, केराउ हिउँदे सिजन मुख्य बाली हुन । पहाडी क्षेत्रमा मकै, आलु, तेरी, जौलगायत बाली उत्पादन हुन्छ ।
सरकारी तथ्यांकअनुसार नेपालमा वार्षिक रूपमा ९ लाख हेक्टर क्षेत्रफलमा २९ लाख मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ ।
नेपालको पश्चिम तराई र पहाडका जिल्लाहरूमा गहुँ खेती धेरै गरिन्छ । देशभर ७ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा गहुँ खेती गरिन्छ । सोबाट बर्सेनि करिब २१ लाख मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन हुन्छ ।
यस्तै, नेपालमा वार्षिक रूपमा करिब २ लाख हेक्टर क्षेत्रफलमा मसुरो खेती हुँदै आएको छ । आलुबाली भोगोलिक क्षेत्र अनुसार फरक–फरक सिजनमा बाह्रै महिना उत्पादन हुन्छ । बर्सेनि एक लाख ९८ हेक्टरमा ३० देखि ३५ लाख मेट्रिक टन आलु उत्पादन हुँदै आएको छ ।
तोरीको भने सरकारी निकायले तथ्यांक निकालेको भेटिँदैन । तर वार्षिक रूपमा २ लाख ८६ हजार मेट्रिक टन तेलहन बाली बर्सेनि उत्पादन भएको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय