बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

केपी ओली कप फुटबल : मछिन्द्रको ह्याट्रिक, त्रिभुवन आर्मी क्लब पराजित

सोमबार, १९ फागुन २०८१, २० : ५८
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।  

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा १–० गोलको अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप अर्को गोल गर्दै आर्मीलाई २–० गोलअन्तरले हराउन सफल भयो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख  पुरस्कार प्राप्त गरेको छ । 

खेलको पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । योसँगै  मछिन्द्रले १–० गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको ७२औँ मिनेटमा दोस्रो गोल गर्यो । मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए ।  

यसअघि मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले तथा सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गोलअन्तरले हराएको थियो ।

मछिन्द्र र आर्मीबिचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुगेका थिए । 

फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । रङ्गशाला दर्शकले खचाखच भरिएको थियो । खेल सुरु हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति समेत पस्किएका थिए ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप