त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको छ । कार्यतालिकाको पहिलो दिन आज संघ/संगठन/समूह दर्ताको कार्य सकिएको छ ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार देशभरका आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरूमा संगठन दर्ताको कार्य सकिएको जनाएको छ । ६२ वटा आंगिक क्याम्पसहरूमध्ये एउटा क्याम्पसमा मात्रै संगठन दर्ताको प्रक्रिया स्थगित भएको समिति सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले बताए ।
विभिन्न क्याम्पसहरूमा झडप तथा विवाद सिर्जना भएको छ । काठमाडौँ उपत्यकाभित्रका सरस्वती बहुमुखी क्याम्पस र नेपाल ल क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेन । नेविसंघ र अखिल क्रान्तिकारीले आफुहरूका विद्यार्थी भर्ना गर्न नपाएको भन्दै भर्ना प्रक्रिया खोल्नुपर्ने उनीहरूको माग थियो ।
त्यस्तै पिपुल्स क्याम्पसमा संगठन दर्ता गरिएपनि विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् ।
त्यस्तै शंकरदेव क्याम्पस र कोटेश्वर बहुखुमी क्याम्पसमा समेत झडपको अवस्था आएको थियो । संगठन दर्ता गरिएपनि विभिन्न संगठनहरूबीच बाझाबाँझको अवस्था सिर्जना भएको थियो ।
शंकरदेव क्याम्पसमा समेत नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरू निर्वाचन प्रक्रिया नै रोक्न खोजेका थिए । त्यही क्रममा वादविवाद भएको थियो । पछि संगठन दर्ताको कार्य सम्पन्न भएको हो ।
कोटेश्वर बहुमुखी क्याम्पसमा संगठन दर्ताको क्रममा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबीच झडप भएको थियो । झडपको अवस्था आएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
ति क्याम्पसहरूबाहेक काठमाडौँ उपत्यकाका अन्य कलेजहरूमा निर्वाचन कार्यतालिका अनुसार नै संगठन दर्ता भएका हुन् ।
२०७९ सालमा स्ववियु निर्वाचन हुन नसकेको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा भने १७ वटा संघ संगठन तथा समूह दर्ता भएका छन् ।
अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले केही क्याम्पसमा बाहेक अधिकांश क्याम्पसमा उत्साहजनक तरिकाले संगठनहरू दर्ता भएको बताए । दर्ता हुन नसकेका ठाउँहरूमा चाडै हुने र स्ववियु निर्वाचनमा सबैको उत्साहजनक सहभागीता हुने बताए ।
त्यस्तै उपत्कायबाहिर रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा संगठन दर्ताको कार्य स्थगित भएको छ । विभिन्न माग राखेर विद्यार्थीहरूले निर्वाचन आयोगको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका थिए । तालाबन्दीकाबीच निर्वाचद प्रक्रिया सुरु गरिएको भन्दै सोमबार विद्यार्थीहरूले क्याम्पसको हलमा तोडफोठ गरेका थिए । विपक्षी दल निकट विद्यार्थी संगठनहरूले तोडफोड गरेका थिए ।
संगठन दर्ताकै लागि एमाले निकट विद्यार्थी संगठनले तयारी र छलफल गरिरहँदा समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनको समूहले हल तोडफोड गरेको थियो ।
बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरेपछि पाँच विद्यार्थी संगठनका सदस्यहरू आक्रोशित भएर तोडफोडमा उत्रिएको समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बताए । विद्यार्थीहरूको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थीहरूले क्याम्पस प्राङ्गणमा टायर बालेर विरोध समेत जनाएका छन् ।
विपक्षी विद्यार्थी संगठनहरुले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्नुपर्ने माग गर्दै आएका थिए । तर, भर्ना नखोली निर्वाचनको प्रक्रिया अगाडि बढाएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।
चुनावको विषयलाई लिएर विद्यार्थीहरू तोडफोडमै उत्रिएपछि क्याम्पसले स्ववियु निर्वाचन कार्यक्रम स्थगित गरेको हो । निर्वाचन अधिकृत गणेशप्रसाद पाण्डेयले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन तालिका अनुसार सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाए ।
‘क्याम्पसमा सृजना भइरहेको असहज परिस्थितीका कारण अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थागित भएको जानकारी गरिन्छ । साथै क्याम्पसमा क्रियाशील सम्पूर्ण विद्यार्थी संघ संगठनहरूको प्रतिनिधत्व हुनेगरी सर्वपक्षीय बैठकको सहमतिमा प्रक्रिया अगाडि बढाइने छ,’ विज्ञप्तिमा उल्लेख छ ।
ति बाहेक अन्य कलेजहरूमा सहज रूपमै संगठन दर्ताको कार्य सम्पन्न भएको सदस्य सचिव अधिकारीले बताए । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको आजदेखि कार्यतालिका सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय