मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
समाचार

ढिलो विवरण बुझाएको भन्दै कुलमानलाई दिइयो कार्यसम्पादनमा शून्य अंक

विद्युत् प्राधिकरणले यो आर्थिक वर्षको ६ महिनामा नै ११ अर्ब नाफा कमाएको छ
सोमबार, १९ फागुन २०८१, २० : ०७
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०८१ मा गरेका कार्यसम्पादन मूल्यांकनमा यस्तो अंक प्रदान गरेको हो । 

मन्त्रालयकै सहसचिवमा जीवछ मण्डलको संयोजकत्वमा कार्यसम्पादन रहेको मूल्यांकन समितिले घिसिङलाई उक्त नम्बर दिएको हो । घिसिङले कार्यसम्पादन करार बमेजिम प्रगति प्रतिवेदन समयमा नबुझाएकाले उनलाई शून्य नम्बर दिइएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

कार्यसम्पादन करार गर्दा नै सार्वजनिक संस्थानका प्रमुखको कार्यसम्पादन मूल्यांकन भदौ मसान्तसम्म बुझाउनुपर्ने भन्ने व्यवस्था थियो । ‘उहाँले त्यो समयभित्र बुझाउनुभएन । मन्त्रालयले बारम्बार ताकेता गरेपछि पुस २५ गते मात्रै ल्याएर बुझाउनुभयो,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘जाँच दिएर समयमा कापी बुझाउनुभएन, पछि ल्याएर बुझाउनुभयो भने त्यसमा के हुन्छ ? अहिले भएको यस्तै हो ।’ 

कार्यकारी निर्देशक घिसिङले भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेको कार्यसम्पादन मूल्यांकनमा ९८.९९ प्रतिशत अंक दाबी गरी कार्यसम्पादन सूचकांक विवरण पेस गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले केही दिनअघि सोधको प्रष्टीकरणमा घिसिङले प्राधिकरणले गरेको प्रगति नै आफ्नो मूल्यांकन भएको जवाफ मन्त्रालयमा पठाएका थिए । 

मन्त्रालयमा प्रष्टीकरण बुझाएसँगै कार्यकारी निर्देशक घिसिङले आफू आएपछिका आठ वर्षमा प्राधिकरणले कमाएको नाफाको विवरण सार्वजनिक गरेका थिए । उनले आफू आउँदा ५०–५५ प्रतिशत रहेको विद्युत्को पहुँच ९९ प्रतिशत पुर्‍याएको, लोडसेडिङ अन्त्य गराएको र निरन्तर नोक्सानमा रहेको प्राधिकरणलाई नाफामा लैजान सफल भएको बताएका छन् । 

प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । यो आर्थिक वर्षको ६ महिनामा मात्रै प्राधिकरणले ११ अर्ब बढी नाफा कमाएको विवरण प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप