लाल मोहम्मदलाई गोली प्रहार गर्ने गुड्डु भारतमा पनि ‘वान्टेड’

काठमाडौँ । काठमाडौँको टोखाबाट झोरतर्फ जाने सडकमा आइतबार साँझ प्रहरीले गोली चलायो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले चलाएको गोली लागेर बाँसझाडी भन्ने ठाउँमा भाग्दै गरेका गुड्डु पटेल घाइते भए ।
भारतको रक्सौल घर भएका पटेलको दायाँ खुट्टामा दुई वटा गोली लागेको छ । पटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
काठमाडौँको गोठाटारमा लाल मोहम्मदलाई हत्या गर्नेमध्येका एक जना सुटर हुन् गुड्डु पटेल । पटेलसहितका दुई जनाले २०७९ असोज ३ मा गोठाटारमा लाल मोहम्मदलाई गोली प्रहार गरेर हत्या गरेका हुन् ।
घटनामा संलग्न भएको साढे २ वर्षपछि पक्राउ परेका गुड्डु भारतमा पनि ‘वान्टेड’ रहेको भेटिएको छ । उनी भारतको लखनउ र गोरखपुर आउजाउ गरिरहन्थे । नेपालमा विवाह गरेका पटेल भारतमा पाँच वटा मुद्दामा फरार रहेको थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनले भने, ‘गुड्डु भारतमा पाँच वटा अपराधमा संलग्न रहेर फरार भएको जानकारी पाएका छौँ ।’
अनुसन्धान अधिकृतहरूका अनुसार भारतमा दिउँसै पेस्तोल नचाएर हिँड्ने पटेल गोठाटारमा गोली प्रहार गरेर सहजै सिमाना पार भए । २०७९ पुस १२ मा काठमाडौँको लोलाङ हाटइमा दुई थान पेस्तोल भेटियो । भाडामा लिएको कोठामा सुटरले पेस्तोल छाडेर हिँडेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
दुई थान पेस्तोल गुड्डुले छाडेर हिँडेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
४० वर्षीय गुड्डुसँग फागुन १८ मा साँझ टोखामा प्रहरीको जम्काभेट भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले दाबी गरेका छन् । आचार्य भन्छन्, ‘आइतबार उनी टोखामा पैदल हिँडिरहेको अवस्थामा हाम्रो टोलीसँग जम्काभेट भएको हो ।’
भाग्न खोजेपछि सुरुमा दुई राउण्ड हवाई फायर गरेको उनको भनाइ छ । यद्यपि गुड्डु नरोकिएपछि दुई राउण्ड गोली प्रहार गरेको र उनको उनको दायाँ खुट्टामा लागेको आचार्यले बताए ।
माछापोखरीमा बुझेका थिए पेस्तोल
लाल मोहम्मद हत्याको योजनाकार बब्लु पासवान र नितेन मदन हुन् । भारतीय नागरिक बब्लुले रक्सौलबाट पेस्तोल पठाएका थिए । वीरगञ्ज घर भएका महोरम मियाँले पेस्ताल ल्याएर माछापोखरीमा बुझाए । काठमाडौँको माछापोखरीमा गुड्डु पटेलले पेस्तोल बुझेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रहरी उपरीक्षक आचार्य भन्छन्, ‘महोरम मियाँले गुड्डुलाई पेस्तोल बुझाएको देखिन्छ ।’
रक्सौलबाट माछापोखरीसम्म पेस्तोल ल्याएबापत ३० हजार नगद पाएको महोरमले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । महोरम यसअघि नै पक्राउ परेका थिए ।
बब्लुले मियाँलाई सामाजिक सञ्जाल ‘ह्वाट्स एप’मा गुड्डुको फोटो पठाएका थिए । बयानमा मियाँले भनेका थिए, ‘यो मानिसलाई लगेर पेस्तोल दिनु भनेर मलाई फोटो पठाएका हुन् ।’
बब्लु पासवानले महोरमको ह्वाट्स एपमा गुड्डुको तस्बिर पठाएको पुष्टि भएको एसपी आचार्यले बताए । घटनामा संलग्न ९ जनामध्ये ५ जना पक्राउ परेका छन् ।
४ जना फरार
लाल मोहम्मदको हत्यामा संलग्न ४ जना अझै फरार छन् । भारतीय नागरिक मोहम्मद निजामुद्दिन, मेरिन तिवारी, राजु भन्ने दिनेश र नितेन मदन फरार छन् ।
हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि सुस्मिता स्याङ्तान, २१ वर्षीय महोरम मियाँ र १९ वर्षका रेहान मियाँलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
राजु भन्ने दिनेश सुटर हुन् । लाल मोहम्मदलाई गुड्डु र दिनेशले गोली प्रहार गरेको एसपी आचार्यले बताए ।
हत्याको योजनाकारमध्येका बब्लु पासवानलाई २०८१ वैशाख १७ मा पर्साको बिरगञ्जबाट वरिष्ठ सई रमेश बजगाईं नेतृत्वको टोलीले गोली हानेर पक्राउ गरेको थियो । फरार नितेन मदन पनि योजनाकार हुन् ।
बब्लु पासवान भारतीय अन्डरवल्र्ड डन बब्लु श्रीवास्तवसँग निकट छन् । नेपालमा जाली रुपैयाँ कारोबार गर्नेहरूलाई भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एण्ड एनालाइसिस विङ) ले बब्लु श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुराना घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् ।
लाल मोहम्मदले पनि भारतीय जाली नोट कारोबार गरेको आरोप छ । श्रीवास्तव जेलमा छन् ।
पासवान र मदनको योजना अनुसार बौद्धस्थित एक होटलमा बसेर भारतीय महिला ममता तिवारी ‘मेरिन’ र मकवानपुरको बकैया गाउँपालिका घर भएकी सुस्मिता स्याङ्तानले मोहम्मदको गतिविधि निगरानी गरेका हुन् ।
ममता तिवारी ९ वर्ष लागुऔषध मुद्दामा जेल बसेर छुटेकी हुन् । उनीहरूलाई डेढ महिना सर्भिलेन्स गर्न लगाएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ममता र सुस्मिताको भेट केन्द्रीय कारागारमा भएको थियो । लागुऔषध मुद्दामा जेल बस्दा चिनजान भएका उनीहरू जेलबाट रिहा भएपछि पनि सम्पर्कमा थिए ।
ममताको चिनजान बब्लुसँग रहेको अनुसन्धान अधिकृत बताउँछन् । बब्लुले भने अनुसार गोठाटार घटनाको व्यवस्थापनमा ममताले सुस्मितालाई परिचालन गरिन् । एसपी आचार्य भन्छन्, ‘मोहम्मदको हत्या गर्नुअघि होटल खोज्ने र रेकी गर्ने काम सुस्मिताले गरेको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय