मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

नस्लवाद, जातिवाद र धर्मवादः वास्तविक मुक्तिका बाधक

सोमबार, १९ फागुन २०८१, १७ : २८
सोमबार, १९ फागुन २०८१

नस्लवाद, जातिवाद, र धर्मवाद: यी तीनै विचारधाराहरू समाजमा व्याप्त अफिमझैँ हुन् । यी विचारधारा मानिसलाई यथार्थबाट टाढा राख्ने, सामाजिक चेतनालाई कुण्ठित गर्ने, र शक्तिशाली शासकहरूलाई आफ्नो प्रभुत्व जोगाइराख्न सहायता गर्ने साधन मात्र हुन् । 
कार्ल मार्क्सले धर्मलाई 'जनताको अफिम' भनेझैँ नस्लवाद, जातिवाद, र धर्मवाद पनि सामाजिक संरचनालाई गलत तरिकाले बलियो बनाउने नशालु तत्वहरू हुन्, जसले उत्पीडित वर्गलाई सत्ताधारीहरूको दास बनाइराख्छ ।  

सबैभन्दा पहिले नस्लवादः यो एक त्यस्तो सोच हो, जसले कुनै एक जाति वा वर्णलाई अरूभन्दा उच्च र विशेष योग्यतासम्पन्न ठान्छ । इतिहासमा गोरा जातिले आफूलाई सर्वश्रेष्ठ मान्दै अफ्रिकीहरूलाई दास बनाएको, अमेरिकी स्वदेशीहरूलाई नरसंहार गरेको र उपनिवेशकालमा एसियाली तथा अफ्रिकी राष्ट्रहरूलाई गुलामीमा राखेको तथ्य स्पष्ट देख्न सकिन्छ । नस्लवाद केवल इतिहासमा सीमित छैन; आज पनि विकसित भनिने देशहरूमा अश्वेतहरू, आप्रवासीहरू र अन्य अल्पसंख्यकहरू विभेदको सिकार भइरहेका छन् । 
नस्लवाद एक नशा हो, जसले समाजमा कृत्रिम रूपमा एक उच्च वर्ग निर्माण गर्छ र बाँकीलाई शोषण गर्न मद्दत गर्छ । मानिसहरूलाई यथार्थ बुझ्न नदिई उनीहरूलाई आफैंभित्रका कृत्रिम पहिचानमा अल्झाइराख्ने काम गर्छ ।  

त्यसैगरी जातिवादः यो पनि त्यस्तै खतरनाक अफिम हो । नेपाल, भारतजस्ता देशहरूमा जातीय संरचना यति गहिरोसँग गाडिएको छ कि, यसले समाजलाई टुक्राटुक्रा पारेर राखेको छ । नेपालको सन्दर्भमा जातीय विभाजनले समग्र समाजलाई जकडेर राखेको छ । उच्चजातिहरूले सदियौँदेखि सत्ता, सम्पत्ति र ज्ञानमा कब्जा जमाउँदै आएका छन्, जबकि तल्लो जातिका भनिनेहरूलाई शिक्षा, स्वास्थ्य, र रोजगारीमा समेत पछाडि पारिएको छ । जातिवाद केवल विभेद मात्र होइन, यो एक सुनियोजित विचारधारा हो, जसले शोषित वर्गलाई मानसिक रूपमा कमजोर बनाउँछ, तिनीहरूलाई जन्मजात रूपमा नै निम्छरो बनाइएको छ भन्ने भ्रममा राख्छ ।

जातिवादले शोषकहरूलाई नै लाभ पुर्‍याउँछ । किनकि, जब उत्पीडित वर्गले आफ्नो दयनीय अवस्था जातिसँग जोडेपछि उनीहरूले वर्गसंघर्ष गर्ने साहस गर्दैनन् । बरु तल्लो जातिका मानिसहरू उच्च जातिसामु आफूलाई सधैँ लाचार देख्न बाध्य हुन्छन् । 
मार्क्सवादी सिद्धान्तअनुसार जातिवाद वर्गसंघर्षलाई रोक्ने एउटा ठूलो अवरोध हो । जातीय पहिचानको भ्रममा पारेर शासक वर्गले मजदुर, किसान र सर्वसाधारणलाई एकताबद्ध हुनबाट रोक्छ, जसले अन्ततः शोषणकारी व्यवस्था टिकाइराख्न सहयोग गर्छ ।  

धर्मवाद पनि त्यही किसिमको अफिम हो । धर्मले समाजलाई आध्यात्मिक रूपमा अन्धकारमा राख्ने, मानिसलाई कर्मकाण्डमा व्यस्त पार्ने र यथार्थ जीवनमा आउने समस्याहरूलाई भाग्य वा ईश्वरको इच्छा भनेर स्वीकार गर्न बाध्य बनाउने गर्छ । मार्क्सले भनेझैँ धर्मजन्य विश्वासहरूले उत्पीडित वर्गलाई राहत दिने भ्रम दिन्छ, तर वास्तवमा उनीहरूलाई परिवर्तनको आवश्यकता महसुस गर्नै दिँदैन । 

उदाहरणका लागि भारतमा जातिवाद र धर्म एकअर्कासँग जोडिएर आएका छन् । ब्राह्मणवादी धर्मसंस्थाहरूले जातीय विभाजनलाई नै धर्मको रूपमा स्थापित गरे । नेपालमा पनि राणा शासनदेखि पञ्चायतसम्म हिन्दु धर्मलाई राज्यको धर्म बनाएर शासकहरूले आम जनतालाई अन्धविश्वासमा राख्ने प्रयास गरे ।

धर्मवादले शासकहरूलाई फाइदा पुर्‍याउँछ  । किनभने जब जनताले आफ्नो दुःख-पीडा भगवानको इच्छा मान्छन्, उनीहरू विद्रोह गर्दैनन् । जब गरिबले आफ्नो गरिबीलाई कर्मको फल ठान्छ, उसले अन्यायको विरोध गर्दैन । जब महिला वा दलितहरूले आफ्नो दमनलाई नै धर्मसँग जोडेर बुझ्छन् तब तिनीहरू परिवर्तनको पक्षमा सोच्न सक्दैनन् । 

यही कारण धर्म शोषणको एउटा महत्त्वपूर्ण अस्त्र बनेको छ ।

नस्लवाद, जातिवाद, र धर्मवाद एउटै स्रोतका फरक-फरक रूपहरू मात्र हुन् । यी सबैले शोषक वर्गलाई आफ्नो सत्ता जोगाइराख्न मद्दत गर्छन्, जबकि उत्पीडित वर्गलाई झन् कमजोर बनाउँछन् । इतिहास हेर्ने हो भने जब-जब मानिसहरूले यी अफिमहरूबाट मुक्त हुन खोजे, तब-तब शोषक वर्गले उनीहरूमाथि दमन गर्‍यो । फ्रेन्च क्रान्ति, रुसी क्रान्ति, वा चिनियाँ क्रान्ति सबैले जातीय, धार्मिक, र नस्लीय विभाजनलाई अस्वीकार गर्दै श्रमिक तथा किसानहरूको एकतामा जोड दिएका थिए ।  

नेपालकै परिप्रेक्ष्यमा, २०६२/६३ को जनआन्दोलन, त्यसअघि भएको माओवादी जनयुद्ध वा मधेश आन्दोलनहरू जातीय र वर्गीय समानताका लागि भएका संघर्षहरू हुन् । तर, नेपालमा अझै पनि जातिवाद र धर्मवाद संस्थागत रूपमा कायम छ । दलित समुदायहरू अझै पनि भेदभावको सिकार छन्, मधेसी समुदायहरू दोस्रो दर्जाका नागरिकझैँ व्यवहार गरिन्छन् र धर्मलाई अझै पनि शासकहरूले आफ्नो स्वार्थका लागि प्रयोग गर्छन् ।

यसकारण जबसम्म मानिसहरूले यी अफिमहरूबाट छुटकारा पाउँदैनन्, तबसम्म वास्तविक मुक्तिको सम्भावना छैन । समाजवादी तथा वैज्ञानिक चेतनाले मात्र मानिसहरूलाई यथार्थ बुझ्न मद्दत गर्न सक्छ । 

जात, नस्ल, वा धर्मको भ्रममा परेर होइन, वर्गीय सचेतनाका आधारमा मात्र समानता र न्यायको कुरा गर्न सकिन्छ । मार्क्सवादी दृष्टिकोणले भनेझैँ शोषणको जरै काट्नका लागि यी सबै भ्रमहरूको अन्त्य आवश्यक छ । जब मानिसहरूले यो बुझ्छन् कि, उनीहरूको असली पहिचान जात, नस्ल, वा धर्म होइन, बरु उनीहरूको वर्गीय स्थिति हो  । तबमात्र उनीहरू साँचो अर्थमा मुक्त हुन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन देव
रोशन देव
लेखकबाट थप