‘कोशी’ नामबारे माओवादीको दोहोरो नीति कहिलेसम्म ?

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले तत्कालीन प्रदेश १ को नाम कोशी राख्न सहमत हुँदै २०७९ फागुन १७ गते प्रदेश सभामा ‘कोशी’को पक्षमा मतदान गर्यो । जब पहिचानको आन्दोलनले तीव्र रूप लिँदै गयो, त्यसपछि माओवादीलाई कोशी नाम लेख्न र भन्न गाह्रो पर्यो ।
माओवादीका सांसदहरू कोशी प्रदेश सरकारमा जान्छन्, ‘कोशी’मै दस्तखत गर्छन् । बजेट लिएर विभिन्न कार्यक्रम गर्छन् र कोशी नै लेख्छन् ।
माओवादीमात्रै होइन पहिचानवादी कतिपय संघ संगठनहरू पनि प्रदेश सरकारले दिने बजेटका कार्यक्रमहरूमा कोशी लेख्न राजी हुन्छन् । प्रस्ताव कोशीकै नाममा हाल्छन् । स्थानीय सरकारबाट लिइने अनुदानका विभिन्न कार्यक्रममा पनि कोशी लेख्न राजी हुन्छन् तर, सार्वजनिक ठाउँमा कोशी भन्दैनन् र लेख्दैनन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं पनि प्रदेशको अभियानमा आउँदा कोशी भन्न डराउँछन् । बरु उनी भन्छन् ‘पूर्व’ । माओवादीले आफ्नो लेटरप्याडमा पनि ‘१ नम्बर प्रदेश’ नै लेखिरहेको छ । पार्टीका साइन बोर्डहरूमा पनि ‘१ नम्बर प्रदेश’ नै लेख्छ । आखिर यो दोहोरो चरित्र कहिलेसम्म ? माओवादीलाई गरिने प्रश्न हो यो ।
माओवादी केन्द्रले २०७९ चैत १२ गते राप्रपासहित, कांग्रेस र एमालेसँग मिलेर कोशी नामलाई शिरोधार्य गर्न अपिल गरेको थियो । उक्त विज्ञप्तिमा ‘सार्वभौम सम्पन्न प्रदेश सभाको भारी बहुमतबाट भएको प्रदेशको नामकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशवासीमा अनुरोध गर्दछौँ’ भनिएको थियो ।
त्यसको केही दिनपछि माओवादी केन्द्रले प्रदेश कमिटीको तर्फबाट जारी गरेको अर्को विज्ञप्तिमा भने पुनः नामकरण गर्नुपर्ने माग गर्दै पहिचान पक्षधरद्वारा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको थियो ।
तर, अहिलेसम्म माओवादी केन्द्रले संवैधानिक प्रक्रियाबाट पारित भएको नामकरणलाई मान्ने निर्णय पनि गर्न सकेको छैन । नमान्ने हो भने त्यसको परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाउन पनि सकेको छैन ।
नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले ‘कोशी’ मान्दै नमान्ने हो भने सच्याउने प्रक्रिया सुरु गर्न माओवादीलाई आग्रह गरे । ‘नाममा चित्त बुझेको छैन भने औपचारिक ढंगले माओवादीले प्रस्ताव गर्नुपर्छ । हामीलाई किराँत प्रदेश भन्न कुनै आपत्ति छैन,’ उनले भने, ‘दलमा हामीले त्यसबेलै विमति राखेका छौँ । यदि साँच्चै नै नामलाई सच्याएर लिएर जाने हो र पहिचानको आन्दोलनलाई सम्बोधन गर्ने हो भने हामीलाई किराँत प्रदेश नाम हुँदा विमति छैन भनेर फ्रन्टमा आउन पनि सक्छौँ । यस विषयमा कांग्रेसका जिल्ला सभापतिहरूले बोलेकै हुन् ।’
तामाङले प्रक्रिया पनि सुरु नगरेर हिजो आफूले गरेकै कुरा पालना नगर्नु अशोभनीय भएको बताए । ‘हिजो माओवादी सहितले कोशी नाम पारित गरेको हो । नेपालमा आफू हुँदा ठिक, अरु हुँदा बेठिक भन्ने चलन छ । यसलाई राजनीतिक हिसाबले मात्रै लिनु बेठिक कुरा हो,’ उनले भने ।
नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका इन्चार्ज तथा उपमहासचिव हरिबोल गजुरेल प्रदेश नामकरणमा गल्ती भए पनि अब यसलाई स्वीकार गरेर जानुपर्छ भन्ने कुरा पार्टीभित्रै छलफलमा रहेको बताउँछन् ।
‘नामकरण त भयो । हामी त्यसमा सहभागी भयौँ । त्यो गलत भयो भनेका छौँ,’ गजुरेलले भने, ‘संविधान निर्माण हुँदा असहमति दर्ज गरेका थियौँ । त्यसैगरी हामीले यहाँ पनि असहमति राख्नुपर्थ्यो । त्यहाँ गल्ती भयो, त्रुटि भयो ।’
गजुरेलले आफ्नो पार्टीले आम जनतासँग क्षमा मागेको बताउँदै अहिले पार्टीभित्र पनि बहस भइरहेको बताए । ‘हामी १ नम्बर लेखिरहेका छौँ । के हो, क्लियर गर्नुहोस् भन्ने कुरा उठिरहेको छ । त्यो बारेमा पनि हामी निर्णय गर्दैछौँ,’ उनले भने, ‘प्रदेशको नामकरण परिवर्तन गर्ने कुरा पनि अगाडि बढाउने र अहिले जे निर्णय भएको छ, त्यसलाई पनि मान्नुपर्छ भन्ने कुरा उठिरहेको छ । यो छिटै क्लियर गर्छौं ।’
माओवादी केन्द्रको कोशी प्रदेश समितिको बैठकले प्रदेशको नामकरणबारे पार्टीमा देखिएको दोहोरो चरित्र अन्त्यका लागि आवश्यक निर्णय गर्न माग गरेर केन्द्रलाई पत्राचार गरेको स्रोतको दाबी छ । सोही निर्णयको आधारमा माओवादी केन्द्र कोशी प्रदेशले गत फागुन ५ गते हुलाकी मार्ग लक्षित अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लेखिएको ब्यानरमा ‘१ नं. (कोशी) प्रदेश समिति’ उल्लेख थियो ।
उक्त विषयमा पनि माओवादी समर्थक पहिचानवादीहरूले आपत्ति जनाए । ‘किराँती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष राजन किराँतीको नेतृत्वमा पार्टी नेतृत्वलाई फागुन ४ गते भेटेर कोशी नाम खारेजी आन्दोलनको भौतिक रूपमै निर्णायक आन्दोलनमा सहभागी हुन जोडदार सचेतना गराइएको थियो,’ माओवादी निकट पहिचानवादी नेता अर्जुन जम्नेली राईले भने ।
राईका अनुसार ५ गते सायद पहिलो पटक माओवादी केन्द्रको ब्यानरमा कोशी शब्द देखियो । ‘पार्टीले कोशी नलेख्न दिएको निर्देशन कसरी उल्लङ्घन भएको हो ?’ उनले भने, ‘पार्टी बनाउन विचार क्लियर अनि व्यवहार जनवादी हुन जरुरी छ । पार्टीको निर्देशन उल्लङ्घन भूलबस कि नियतबस भएको हो । छानबिन होस् ।’
उता, नेकपा एमालेले भने माओवादीले दोहोरो चरित्र देखाएको आरोप लगाउने गरेको छ । समाधान भइसकेको कोशी नामकरणको विषयलाई पुनः गिजोल्नुको अर्थ नहुने उसको भनाइ छ ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले नामकरणको विषयमा एमाले एक्लै नभएको बताए । ‘सत्ता सहयात्री दलहरू कांग्रेस, राप्रपासमेतको कोशीलाई सैद्धान्तिक सहमति छ । नागरिकहरू पनि कोशीकै पक्षमा छन् । भोट हाल्ने बेलामा कोशीमा हाल्ने । भोलिपल्टदेखि अर्को कुरा भन्ने कुराले त त्यस्तै शक्तिहरूमा विश्वासको संकट हुन्छ नि,’ भण्डारीले भने, ‘संसारमा यस्ता विषय आइरहन्छ । समयक्रममा हल हुन्छ । अहिले तुरुन्तै हल खोजेर हुँदैन । जनताको जनादेशबाटै समयक्रममा यी कुराहरूको हल हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय