मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
माओवादी विवाद

सुदूरपश्चिम संसदीय दलको विवाद समाधान नहुँदा पार्टी नेतृत्व अप्ठ्यारोमा

सोमबार, १९ फागुन २०८१, १७ : ०८
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको विवाद समाधान नहुँदा पार्टी नेतृत्व अप्ठ्यारोमा परेको छ । संसदीय दलको नेता खगराज भट्टलाई बनाउन अध्यक्ष प्रचण्डको पटक पटकको निर्देशन र तेस्रो पटक सर्कुलर कार्यान्वयन नभएपछि नेतृत्व अप्ठ्यारोमा गरेको हो । 

पार्टीको तराई मधेस जागरण अभियानकै बिचमा सोही विवाद मिलाउने उद्देश्यका साथ फागुन १४ गते प्रचण्ड काठमाडौँ आएका थिए । जसअनुसार प्रचण्डले निजी निवास खुमलटारमा सुदूरपश्चिम संसदीय दललाई बोलाएर छलफल गरेका थिए ।  तर दुवै पक्ष आ–आफ्नो अडानमा टसको मस भएनन् भने अन्तिममा प्रचण्डले आफू सुदूरपश्चिम अभियानमा आउनु अगावै विवाद मिलाउन निर्देशन दिएका थिए ।

हाल संसदीय दलको नेता रहेका मानबहादुर धामीले आफू प्रक्रियाबाट दलको नेतामा चुनिएकाले प्रक्रियाबाट आफूलाई हराउन चुनौती दिँदै आएका छन् । 

‘म विधि र प्रक्रियाबाट दलको नेता चुनिएको हुँ । केन्द्रको निर्देशनबाट होइन । संसदीय दलकोको विधि र प्रक्रियाबाट हराउन म चुनौती दिन्छु । संसदीय दलमा मलाई बहुमतद्वारा हटाएमा एक मिनेट पनि बस्दिनँ’, सोमबार रातोपाटीसँग कुरा गर्दै धामीले भने ।

उनले आफूलाई हटाउनका लागि प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नै लागेको आरोप लगाए । अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक बसेर विवाद समाधानका लागि निर्णय गर्ने आश्वासन दिएको भन्दै उनले आफू पार्टीको निर्देशन कुरेर बसेको बताए ।

यता खगराज भट्ट पक्षका सांसद शिवसिंह ओलीले विधि र प्रक्रिया धामीले मिचेको आरोप लगाए । धामी आफूहरूकै समर्थनमा संसदीय दलको नेता भएको तर नेता भएपछि विधि र प्रक्रिया मिचेर अगाडि बढेको ओलीले जिकिर गरे । धामीले पार्टीको निर्देशन पटक पटक उलङ्घन गर्नु पार्टी नीति विपरीत भएको ओलीले तर्क गरे ।

‘अध्यक्ष प्रचण्डले आफू सुदूरपश्चिम आउने बेलासम्म विवाद समाधान गर्न निर्देशन दिनुभएको थियो । दलको नेताले अहिलेसम्म बैठक बोलाउनु भएको छैन । उहाँ पार्टी नीति विपरीत हिँडिरहनु भएको छ’, उनले भने, ‘धामीजीलाई दलको नेता बनाउन हामीले नै सहयोग गरेको हो । तर पार्टीमा छलफल नगरी आफूखुसी दीर्घ सोढारी नेतृत्वको सरकारमा पठाउनुभयो । विधि र प्रक्रिया मिच्दै जानुभयो । अहिले उहाँसँग पनि बहुमत छैन । आफूसँग बहुमत नभएपछि पार्टीको निर्देशन मान्नु पर्छ । हैन भने बहुमत सिद्ध गर्न बैठक बोलाउनुपर्छ ।’

अर्का एक सांसदका अनुसार खुमलटारमा १४ गते भएको छलफलमा धामीले आफ्नो व्यवस्थापनबारे चासो राखेको बताए । प्रदेश अध्यक्ष वा कुनै पदका लागि धामीले बार्गेनिङ गरेको ती नेताको आरोप छ ।

‘उहाँले अध्यक्षसँग सौदाबाजी गरिरहनुभएको छ । अब हुने प्रदेश सम्मेलनबाट अध्यक्ष बन्न चाहेको देखिन्छ । त्यो नभए पार्टीकै कुनै महत्त्वपूर्ण पदका लागि बार्गेनिङ गरेका हुन् कि जस्तो छ । जे भएपनि अब पार्टीको निर्देशन कार्यान्वयन गर्नुको विकल्प छैन । अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा आफू सुदूरपश्चिम आइपुग्दा विवाद समाधान होस् भनेर भन्नुभएको छ’, ती नेताले भने ।

२०८० माघ १२ गते बसेको माओवादी संसदीय दलको बैठकले खगराज भट्टलाई हटाएर धामीलाई दलको नेता बनाएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ ।

विवाद मिलाउनका लागि फागुनको पहिलो हप्ता पार्टीले भट्टको विषयमा अलग्गै परिपत्र पठाएको थियो । यसअघि अध्यक्ष प्रचण्डले पटकपटक दिएको निर्देशन र पार्टीको परिपत्र समेत कार्यान्वयन हुन सकेको छैन ।

केही दिनअघि इन्चार्ज गिरिराजमणि पोखरेलले विवाद मिलाउन धामीलाई प्रचण्ड निवास खुमलटार बोलाएका थिए । उनले संसदीय दलको बैठक बोलाउन नमानेपछि प्रचण्डले संसदीय दललाई नै काठमाडौँ बोलाएका हुन् । सुदूरपश्चिमको डडेलधुरास्थित जोगबुढामा भएको कार्यक्रममा सहभागी हुन गएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवाद मिलाउन गरेको प्रयास समेत असफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप