सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

खाना पकाउने तेलले तपाईंको स्वास्थ्यमा कस्तो पारिरहेको छ असर ?

सोमबार, १९ फागुन २०८१, १५ : ०३
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । कुनै समय यस्तो पनि थियो, मोटोपनलाई पश्चिमी देशहरूको मात्र स्वास्थ्य समस्या मानिन्थ्यो । तर पछिल्ला वर्षहरूमा न्यून र मध्यम आय भएका देशहरूको पनि मोटोपन समस्या बनेको छ । अझ विशेष गरी बालबालिकाहरूमा मोटोपनको समस्या चार गुणा बढी छ । 

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार २०२२ मा विश्वभर करिब साढे २ अर्ब मानिसहरू मोटोपनाबाट ग्रस्त थिए अर्थात् उनीहरूको तौल आवश्यकताभन्दा बढी थियो । 

खाना पकाउन प्रयोग हुने तेलले बढाउँछ मोटोपना ? 

मोटोपन निम्त्याउने कारकहरूका बारेमा कुरा गर्दा जंक फूड र निष्क्रिय जीवनशैलीलाई धेरै दोष दिइन्छ । तर मोटोपन बढाउनमा हामीले दिनभरि खाने खाद्य वस्तु पकाउन प्रयोग गरिने खाद्य तेलको भूमिकालाई बेवास्ता गरिन्छ । कुनै पनि खानालाई स्वादिष्ट बनाउन तेल र घिउ जस्ता चीजहरूको प्रयोग गरिन्छ । यसका कारण हाम्रो शरीरमा बोसोको मात्रा बढ्छ । हामीले धेरै व्यायाम नगर्ने भएकाले यो चिल्लो शरीरमा थुप्रिएर बस्छ । हामीले खाने खानामा कार्बाेहाइड्रेट पनि हुन्छ । यो पनि शरीरमा प्रवेश गरेपछि बोसोमा परिणत हुन्छ । साथै, शरीरमा प्रवेश गरेपछि चिल्लो पनि बोसो बनेर बस्छ । जसका कारण मोटोपनको जोखिम बढी हुन्छ । 

मानव शरीरको संरचनामा बोसोको मात्रा सधैँ बढी हुन्छ । कुनै व्यक्ति पातलो देखिए पनि उसको शरीरमा ३० देखि ४० प्रतिशत बोसो हुन्छ, जुन निकै धेरै हो । तर खेलाडीहरूको शरीरमा बोसोको मात्रा लगभग ७ देखि ८ प्रतिशत मात्रै हुन्छ । हाम्रो शरीरमा बोसोको प्रतिशत बढी भयो भने यसले मेटाबोलिजमलाई सुस्त पारिदिन्छ । जसका कारण तौल बढ्नेछ र हाम्रो मोटोपन बढ्दै जान्छ । 

हामीले तोकिएको मात्राभन्दा बढी तेल सेवन गर्याैं भने हाम्रो शरीरको मेटाबोलिज्म सुस्त हुन सक्छ । यसले हाम्रो शरीरमा बोसोको मात्रा बढाउनेछ र मोटोपन पनि बढ्नेछ । यसबाट हामीले एक्स्ट्रा क्यालोरी मात्र पाउँछौँ । अत्यावश्यक फाइबर, आवश्यक भिटामिन र खनिजहरू पाउँदैनौँ । 

तेलमा सामान्यतया फ्याटको मात्रा बढी हुन्छ । हाम्रो शरीरले धेरैजसो क्यालोरी चिल्लोबाटै पाउँछ । हामीले प्रोटिनबाट चार क्यालोरी पाउँछौँ भने, फ्याटबाट ९ क्यालोरी पाउँछौँ । त्यसैले  हामीले उच्च क्यालोरी भएको जे जे खान्छौँ त्यो सबैले मोटोपन निम्त्याउन सक्छ । विशेष गरी पहिले नै मोटो भएका मानिसहरूमा यस्तो समस्या बढी हुन्छ ।

हाम्रो शरीरलाई कति चाहिन्छ तेल ? 

तेलको प्रयोग कम गरेर मोटोपन नियन्त्रण गर्न सकिन्छ । हामीहरू खाने तेल बढी नै प्रयोग गर्छौ । बढी तेल सेवन गर्नाले हाम्रो शरीरमा बोसोको मात्रा बढ्छ । फ्याटले हाम्रो शरीरलाई ए, डी, ई र के जस्ता बोसोमा घुलनशील भिटामिनहरू पचाउन मद्दत गर्छ । त्यसैले हाम्रो शरीरलाई निश्चित मात्रामा बोसो चाहिन्छ । मानिसहरूले आफ्नो उमेर अनुसार तेल खानुपर्छ । तर धेरै सक्रिय जीवनयापन नभएको व्यक्तिलाई दिनमा लगभग ४ देखि ५ चम्चा अर्थात् २०–२५ ग्राम तेल चाहिन्छ । यति मात्रामा तेलको सेवन व्यक्तिको लागि धेरै हुन्छ । तर, मोटोपन बढाउने तेल एक मात्र कारण चाँहि होइन । मोटोपनका पछाडि अरू धेरै कारणहरू हुन्छन् । गुलिया खानेकुराले पनि मोटोपना बढाउँछ । 

खाना पकाउँदा कस्तो खालको तेल प्रयोग गर्नुपर्छ ?

एक पटक कुनै खानेकुरा तार्न प्रयोग भएको तेललाई फेरि  प्रयोग गर्नु हुन्न । यसबाहेक आंशिक रूपमा हाइड्रोजनेटेड वनस्पति तेलबाट बनेका चीजहरूबाट पनि हामी टाढा रहनुपर्छ । तेलको गुणस्तर पनि महत्त्वपूर्ण छ । तरकारी पकाउने तेललाई धेरै ततायौँ भने, यो हाम्रो स्वास्थ्यको लागि राम्रो हुँदैन । एउटै तेल बारम्बार प्रयोग गर्नबाट पनि हामी बच्नुपर्छ । तेललाई बारम्बार तताइरहँदा यसमा ट्रान्स फ्याटको प्रतिशत बढ्छ । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ वेबसाइटका अनुसार, ट्रान्स फ्याट शरीरको लागि हानिकारक फ्याट हो । ट्रान्स फ्याटले खराब कोलेस्ट्रोल अर्थात् एलडीएल बढाउँछ र राम्रो कोलेस्ट्रोल अर्थात् एचडीएल घटाउँछ । यसले शरीरमा इन्फ्लेमेशन अर्थात् सुन्निने समस्या निम्त्याउन सक्छ र मुटु रोग, स्ट्रोक, टाइप २ मधुमेह, इन्सुलिन प्रतिरोध र रोग प्रतिरोधात्मक क्षमतामा असर पार्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप