उरुग्वे र ब्राजिलविरुद्धको विश्वकप छनोट खेलका लागि अर्जेन्टिनाको प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको आगामी दुई महत्वपूर्ण खेलका लागि स्टार स्ट्राइकर लियोनल मेस्सीको नेतृत्वमा प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।
दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा अर्जेन्टिनाले मार्चमा दुई बलिया प्रतिद्वन्द्वी उरुग्वे र ब्राजिलसँग भिडन्त गर्दैछ । अर्जेन्टिनाले मार्च २१ तारिखमा उरुग्वेको सामना गर्नेछ । उक्त खेल उरुग्वेको घरेलु मैदानमा खेलिने छ ।
दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा यो १३ औँ चरणको खेल हो । त्यसपछि मार्च २५ तारिखमा अर्जेन्टिनाले चिर प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ । उक्त खेल भने अर्जेन्टिनाको घरेलु मैदानमा खेलिने छ ।
प्रशिक्षक स्कालोनीले प्रारम्भिक टोलीमा उदीयमान किशोर स्ट्राइकर १९ वर्षीय क्लाउडियो एचेभेरीलाई पनि स्थान दिएका छन् । उनी हालैमात्र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए ।
उनले हालै सम्पन्न दक्षिण अमेरिकी यू–२० च्याम्पियनसिपमा गजबको प्रदर्शन गरेका थिए । उमेरले २१ वर्ष नपुगेका अन्य युवा खेलाडीले पनि टोलीमा स्थान पाएका छन् । प्रारम्भिक टोलीमा स्थान पाएका निकोलस पज, बेन्जामिन डोमिङ्ग्वेज र सान्टियागो कास्ट्रो २१ वर्षभन्दा मूनिका खेलाडी हुन् ।
टोलीमा गोलरक्षकको भूमिकामा एमिलियानो मार्टिनेज, जेरोनिमो रुली र वाल्टर बेनिटेजलाई स्थान दिइएको छ । डिफेन्डरको भूमिकामा नाहुएल मालिना, गोन्जालो मोन्टियल, क्रिस्टियन रोमेरो, लियोनार्दो बेलेर्डी, निकोलस ओटामेन्डीलगायतका खेलाडीले स्थान पाएका छन् ।
मिडफिल्डरको भूमिकामा एन्जो फर्नान्डेज, रोड्रिगो डे पल, एलेक्सिस म्याक एलिस्टर, जियोभानी लो सेल्सो, म्याक्सिमो पेरोन, बेन्जामिन डोमिङ्ग्वेज, थिआगो अल्माडाजस्ता प्रभावशाली खेलाडीलाई स्थान दिइएको छ ।
यसैगरी, स्ट्राइकरको भूमिकामा मेस्सीका अतिरिक्त म्यानचेस्टर युनाइटेडका एलेज्यान्ड्रो गार्नाचो, युभेन्ट्सका निकोलस गोन्जालेज, म्यानचेस्टर सिटीका क्लाउडियो एचेभेरी, एएस रोमाका पाउलो डिबाला, म्यानचेस्टर सिटीका जुलियन अल्भारेज, इन्टर मिलानका लाउटारो मार्टिनेज, बोलोग्नाका सान्टियागो कास्ट्रो, एट्लेटिको म्याड्रिडका एन्जल कोरिआलगायतका खेलाडीले स्थान पाएका छन् ।
मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि चुमाउने टोलीका कप्तान हुन् । आठपटकका बालोन डी’ओर विजेतासमेत रहेका मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यवसायिक फुटबल खेल्छन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो ।
दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा १० टोलीको सहभागिता रहेको छ । प्रत्येक टोलीले ‘होम एन्ड अवे’ का आधारमा एक–अर्कासँग १८–१८ खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको माथिल्लो ६ स्थानमा रहने टोली सिधै सन् २०२६ को विश्वकपमा छनोट हुनेछन् ।
सातौँ स्थानमा रहने टोलीले भने अन्तरमहाद्विपीय प्ले–अफ खेल्नु पर्नेछ । सबै टोलीले १२–१२ खेल खेलिसक्दा २५ अंकसहित अर्जेन्टिना पहिलो र २० अंकसहित उरुग्वे दोस्रो स्थानमा छन् । १९ अंकसहित इक्वेडर तेस्रो र १९ अंकसहित कोलम्बिया चौथो स्थानमा छन् ।
यसैगरी, १८ अंकसहित ब्राजिल पाँचौँ, १७ अंकसहित पाराग्वे छैटौँ, १३ अंकसहित बोलिभिया सातौँ, १२ अंकसहित भेनेजुएला आठौँ, नौ अंकसहित चिली नवौँ र सात अंकसहित पेरु १०औँ स्थानमा आसिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा
-
'यौन श्रम पनि एक प्रकारको श्रम नै हो, यसलाई निरपराधीकरण गरिनुपर्छ'
-
सोह्र वर्षपछि अछाम दरबारको निर्माण कार्य सम्पन्न
-
बल्ल पर्यो पानी, किसानलाई राहत