सहकारीको १० अर्ब ७३ करोड हिनामिना, २५ कम्पनीमा ९ अर्ब ६२ करोड रुपैयाँ गैरकानुनी लगानी

विराटनगर । सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था, बराह ग्रुप कम्पनीलगायत २ दर्जनभन्दा बढी कम्पनीले १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको भन्दै सुनसरी जिल्ला अदालत इनरुवामा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले गत बिहीबार सुनसरी जिल्ला अदालतमा बुझाएको अभियोगपत्रमा सहकारी संस्थाको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ ।
उक्त सहकारीका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने)बाट ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ रुपैयाँ हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । जसमा शिवकुमार स्वयंले २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ, उनका बुबा इन्द्रकुमार विश्वकर्माबाट २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ रुपैयाँ, उनकी आमा स्व.विष्णुमाया विश्वकर्माबाट ७१ करोडभन्दा बढी रकम असुल गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ ।
यस्तै अभियुक्त मन्दिरा लामिछानेको हकमा १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय रुपैयाँ, मानबहादुर विश्वकर्माको हकमा १ अर्ब ११ करोड ८१ लाख ८१ हजार २१७ रुपैयाँ, हरिकुमार धमला (विश्वकर्मा)को हकमा ३७ करोड ६१ लाख २४ हजार ३२८ रुपैयाँ, प्रकाश लामगादेको हकमा ४८ करोड १८ लाख ८९ हजार ८९ रुपैयाँ, शुभराज खातीबाट ४३ करोड ७१ लाख ८१ हजार ८२७ रुपैयाँ असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ ।
अभियोगपत्रमा शिवकुमार विश्वकर्मा लामिछानेसमेत ३५ जनाको हकमा सहकारी ऐन २०७४ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको बिगो र सजायको मागदाबी गरिएको छ । उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को ख, ग, छ, झ, ञ, ट, ड, ढ र त बमोजिमको कसुर गरेको तथा संठगित अपराध (निवारण) ऐन २०७० को दफा ३ को उपदफा १, २, ३ को खण्ड (क) र ५ बमोजिमको कसुर गरेको दाबी गरिएको छ ।
उक्त सहकारीका संस्थाका सञ्चालक÷अध्यक्ष लगायतका पदाधिकारीहरू, कर्मचारीहरूसमेतको मिलेमतोमा सहकारीका सेयर सदस्य तथा बचतकर्ताको ५ अर्ब ८५ करोड ९८ लाख ७७ हजार ७३९ रुपैयाँ रकम भराउन माग गर्दै धरान ९ का शंकर थापा क्षेत्रीसमेत गरी ४ हजार १६८ जनाले यसअघि नै किटानी जाहेरी दिएका थिए ।
सरकारी वकिलको कार्यालयले भने सेयरधनीहरू शिवकुमार विश्वकर्मा (लामिछाने), मन्दिरा लामिछाने विश्वकर्मा, मानबहादुर विश्वकर्मा, हरिकुमार धमला विश्वकर्मा, याम्बा ल्वागुन भन्ने इन्द्रबहादुर विश्वकर्मासहित ३५ जना सञ्चालक समितिमा रहेकाहरू र अन्य ऋणी गरी २६२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।
हाल मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालिकोटे) वि.क., अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फूलकुमारी भन्ने फूलमाया राई, सुदिन वि.क., श्रीमान महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर भने प्रहरी हिरासतमा छन् । सो सहकारीको कारोबार २०७९ जेठ २३ गतेबाट बन्द छ ।
चार्टर्ड एकाउन्टेन्ट प्रज्वल अधिकारी शर्माले बराह बचत तथा ऋण सहकारीबारे गरेको विस्तृत अध्ययन प्रतिवेदनमा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नाममा रहेका विभिन्न २५ वटा कम्पनीले ९ अर्ब ६२ करोड ५८ लाख २६ हजार ९७३ रुपैयाँ लगेको देखिएको छ ।
जसमा न्यू बराह ज्वेलरी, न्यूरोड पिपलबोट, बराह इण्डष्ट्रिज, बराह बचत तथा ऋण सहकारी संस्था लि. धरान, भद्रकाली सुनचाँदी पसल लाजिम्पाट, टाइम्स रेमिट प्रा.लि., गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिय प्रा.लि नयाँ रोड पोखरा, न्यू बराह ज्वेलर्स न्यूरोड, बराह नेसनल इन्भेष्टमेन्ट प्रा.लि., बराह मोटर्स प्रा.लि., इन्द्र बराह ट्राभल्स एण्ड टुर्स प्रा.लि., इन्द्र बराह ज्वेलरी प्रा.लि. तालचिखे, नारायण बराह ज्वेलरी, बराह कृषि उपज तथा पशुपालन प्रा.लि., बराह फेमली किचेन प्रा.लि., बराह बाल संसार गेमजोन एण्ड कृपा १६ डि. इन्टरटेन्मेन्ट, बराह भेडेटार मल्टिप्रपोज कम्पनी प्रा.लि. भेडेटार, बराह डिपार्टमेन्ट स्टोर प्रा.लि., बराह प्रोपर्टी सर्भिस प्रा.लि., पिपलबोट बराह ज्वेलर्स प्रा.लि., श्रीपा सुपर मार्केट स्टोर प्रा.लि., बराहा ग्रुप अफ कम्पनी, बराहा चिल्डे«न वल्र्ड प्रा.लि. लगायतका कम्पनी छन् ।
प्रतिवेदनमा व्यक्तिगत बाँकी ऋण रकम लिन भने २७ करोड १५ लाख २७ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ग्रुप कम्पनी, कम्पनीका सञ्चालकलाई, सहकारीका सञ्चालकलाई, बिना धितो साधारण सदस्यलाई र धितोसहित गरी कर्जा लगानी ७१ करोड ३९ लाख ४९ हजार ५३७ रुपैयाँ रहेको र उक्त कर्जाको ब्याज रकम ३६ करोड ३१ लाख ८३ हजार २४६ रुपैयाँ असुल गर्न बाँकी रहेको पनि प्रतिवेदनले औँल्याएको छ ।
सहकारीको सफ्टवेयर रेकर्डका अनुसार बचत रकम ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै पासबुकमार्फत संकलित कुल बचत रकम भने १० अर्ब ५१ करोड १ लाख १२ हजार ४६७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको दायित्व रकम १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँ बराबर छ । जसमा सेयर रकम १० करोड १३ लाख ९७ हजार ३ सय, जम्मा भएको रकम ६८ करोड ९७ लाख ३४ हजार ६४७ रुपैयाँ, बचतको ब्याज १ करोड ५५ लाख ३५ हजार ३०६ रुपैयाँ, पासबुक मार्फत ज्वेलरीमा जम्मा भएको बचत ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ, राजस्व भुक्तानी गर्न बाँकी १ करोड १ लाख ३० हजार ३६८ रुपैयाँ, उठ्न बाँकी ब्याज ३६ करोड ३१ लाख ८३ हजार २४६ रुपैयाँ र अन्य दायित्व ५ लाख ५८ हजार ८४८ रुपैयाँ रहेको प्रतिवेदनको ठहर छ ।
उक्त रकम संकलनको स्रोतमध्ये बैंक मौज्दात ७ लाख २७ हजार ७८०, लगानी (सेयर र बचत) ३८ लाख ७७ हजार ९८३ रुपैयाँ, सुरक्षित ऋण ३ करोड ३३ लाख ८४ हजार १०१ रुपैयाँ, ऋणको ब्याज ३ करोड ३१ लाख ६९ हजार २८१ रुपैयाँ छ । यस्तै असुरक्षित ऋण ४ करोड ५४ लाख ९८ हजार र त्यसको ब्याज ४ करोड ७१ लाख २० हजार, अन्य प्राप्त रकम २४ लाख ९४ हजार २४३ रुपैयाँ छ ।
प्रतिवेदनले सञ्चालकबाट असुल उपर गर्नुपर्ने रकम १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रहेको ठहर गरेको छ ।
भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने(विश्वकर्मा)ले २०५२ सालमा धरानका लाहुरे परिवारलाई लक्षित गरेर बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए । छोटो समयमा लाहुरेको सहर धरानमा मात्र होइन बराह ज्वेलरीले देशभर चर्च कमायो । हङकङ र दुबईमा पनि यसको शाखा खोलिएको थियो । २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो । बराह सहकारी २०७८ सालदेखि नै आर्थिक संकटमा परेको थियो । सहकारी संकटमा परेसँगै अध्यक्ष लगायतका मुख्य व्यक्तिहरू फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा
-
'यौन श्रम पनि एक प्रकारको श्रम नै हो, यसलाई निरपराधीकरण गरिनुपर्छ'
-
सोह्र वर्षपछि अछाम दरबारको निर्माण कार्य सम्पन्न
-
बल्ल पर्यो पानी, किसानलाई राहत
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता