कांग्रेसका तीन वटा कार्यक्रममा शेखर अनुपस्थित, पूर्णबहादुरसँग वरीयता विवाद

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीले आयोजना गरेका तीन वटा महत्त्वपूर्ण कार्यक्रममा अनुपस्थित भएका छन् । पछिल्लो पटक सोमबारदेखि रुपन्देहीको भैरहवामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिने कार्यक्रममा डा. कोइराला अनुपस्थित रहे ।
डा. कोइराला यसअघि २२ र २३ माघमा कास्कीको पोखरामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको सातै प्रदेशका सभापति, उपसभापति र ७७ वटै जिल्लाका सभापति उपसभापतिहरूका आयोजित अभिमुखीकरण कार्यक्रममा पनि अनुपस्थित भएका थिए ।
यस्तै २२ मंसिरमा भएको नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलनमा समेत डा. कोइराला उपस्थित भएका थिएनन् । कांग्रेस नेताहरूका अनुसार आइतबारसम्म भैरहवामा नै रहेका कोइरालालाई पार्टी केन्द्रीय कार्यालयबाट संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेकोले उपस्थित हुन जानकारी गराइएको थियो ।
तर, डा. कोइरालाले उपस्थित भएनन् । आज कार्यक्रम सुरु हुने बेलामा डा. कोइराला मोरङको विराटनगरमा पुगेका छन् । विराटनगरमा आजबाट सुरु हुन लागेको विराट गोल्डकपको उद्घाटन गर्न डा. कोइराला विराटनगर पुगेका हुन् ।
फुटबल प्रतियोगिताको उद्घाटनका लागि पार्टीको कार्यक्रम छोडेर पुगेको भन्दै नेता कार्यकर्ताले व्यङ्ग्य गरिरहेका छन् ।
यसअघि कोइरालाले पोखराको कार्यक्रममा आफूले निमन्त्रणा नपाएकाले सहभागी हुन नसकेको भन्दै सार्वजनिक रूपमै प्रतिक्रिया दिएका थिए । यस्तो प्रतिक्रिया आएपनि अहिले भने सभापति देउवा र प्रतिष्ठानका संयोजक पार्टी उपसभापति पूर्णबहादुर खड्काको निर्देशनमा कार्यक्रम हुनुभन्दा चार दिन अघि नै जानकारी दिएर उपस्थितिका लागि आग्रह गरिएको थियो । तर, अर्कै कार्यक्रम तय भएको भन्दै उपस्थित नभएपछि पार्टी कार्यालय र सभापति देउवा नै अचम्मित भएको पार्टी कार्यालयका एक कर्मचारीले बताए ।
ती कर्मचारीले रातोपाटीसँग भने, ‘पहिला खबर नपाएर उपस्थित नभएको मिडियामा बोल्नुभयो । अहिले खबर पाएर पनि आउनुभएन ।’
यो बेला डा. कोइरालालाई खबर नगरेको भन्दै सभापति देउवा र उपसभापति खड्काको पार्टीभित्रै नेता कार्यकर्ताबाट आलोचना भएको थियो । त्यो आलोचनाबाट बच्न पनि अहिले डा. कोइरालालाई खबर गर्न बेलैमा उनीहरूले पार्टी केन्द्रीय कार्यालयलाई निर्देशन दिएका थिए ।
यसो त २२ मंसिरमा उनको गृहनगर विराटनगरमै भएको कार्यक्रममा डा. कोइराला त्यसको चार दिन अघि पार्टीको निर्देशन विपरीत विराटनगरमै पालिका सभापतिहरूको भेला राखेपछि आलोचना हुने डरले सहभागी भएका थिएनन् । डा. कोइराला र भेला राख्ने तयारी गर्नेहरूलाई पालिका सभापतिहरूको भेला नराख्न केन्द्रले पत्र पठाएको थियो । त्यो पत्रको अवज्ञा कोइराला र उनको समूहका नेताहरूले गरेका थिए ।
कोइरालाले बहिस्कार गरेको २२ मंसिरको कार्यक्रममा भेला विधान विपरीत र अनुशासन विपरीत भन्दै नेताहरूले चर्को आलोचना गरेका थिए । त्यो बेला शेखर चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन गएका थिए ।
- उपसभापति खड्कासँग वरीयता विवाद
पार्टीको १४ औँ महाधिवेशन सम्पन्न भएपछि डा. कोइरालाले आफू निकटतम् प्रतिद्वन्द्वी भएकाले सभापतिपछिको वरियतामा हुनुपर्ने माग राख्दै आएका छन् । पार्टी विधानमा व्यवस्था नभए पनि सभापतिमा पराजित निकटतम प्रतिद्वन्द्वीलाई सभापति पछिको वरियता दिने र वरिष्ठ नेता भन्ने प्रचलन कांग्रेसमा थियो ।
तर, डा. कोइरालालाई सभापतिपछिको वरियता दिन पूर्वउपसभापति पनि नरहेको र उनीभन्दा सिनियर धेरै नेता रहेकाले नसकिने जवाफ त्यतिबेलै देउवाले दिएका थिए । देउवाले उपसभापति खड्कालाई दोस्रो वरियता र डा. कोइरालालाई पदाधिकारी र पूर्वपदाधिकारीपछिको वरियता दिएका छन् ।
त्यसपछि पार्टी केन्द्रीय समिति बैठकमा उपस्थित भए पनि डा.कोइराला उपसभापति खड्का उपस्थित हुने कार्यक्रममा सहभागी भएका छैनन् । विराटनगर, पोखरा र भैरहवाका कार्यक्रममा पनि कोइराला उपसभापति खड्कासँगको वरीयता विवादकै कारण सहभागी नभएको निकटस्थहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
समुद्रमा नेपाली झन्डासहित पानीजहाज चलाउने बाटो खुल्दै
-
केपी ओली कप फुटबल : मछिन्द्रको ह्याट्रिक, त्रिभुवन आर्मी क्लब पराजित
-
समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा सुधार गर्नुपर्छ : खिलराज रेग्मी
-
भैरहवामा कांग्रेसका २ महामन्त्री र ४ विज्ञले के–के विषयमा दिए प्रशिक्षण ?