सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको पद छाडेर अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु भन्दै जेलेन्स्कीले अघि सारे शर्त

सोमबार, १९ फागुन २०८१, ११ : १२
सोमबार, १९ फागुन २०८१

लन्डन । युरोपमा युक्रेनमा शान्ति स्थापनाबारे भएको बैठकपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको अमेरिका प्रतिको अडान केही नरम देखिएको छ । जेलेन्स्कीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध सुधार गर्न सक्ने बताएका थिए ।

तर यसका लागि बन्द ढोका पछाडि वार्ता जारी राख्नु आवश्यक भएको भनिएको छ । युक्रेनले सुरक्षा ग्यारेन्टी र नेटोको सदस्यता पाएमा आफू राष्ट्रपतिको पद त्याग्न तयार रहेको जेलेन्स्कीले बताएका छन् ।

रुससँगको शान्ति सम्झौतामा युक्रेनले आफ्नो भूभाग कुनै पनि हालतमा नछोड्ने पनि उनले स्पष्ट पारेका छन् । अमेरिकासँग खनिज सम्झौता गर्न पनि उनी तयार देखिए । शुक्रवार ओभल अफिसमा भएको भेटघाटमा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीबिच चर्काचर्की भएको थियो ।

ट्रम्पले जेलेन्स्कीमाथि अमेरिकाको अपमान गरेको र तेस्रो विश्वयुद्ध भड्काउन खोजेको आरोप लगाएका थिए । यो बैठकपछि अमेरिकाले युक्रेनलाई समर्थन गरिरहने कि नगर्ने भन्नेमा शङ्का छ ।

जेलेन्स्कीले युरोपेली देशहरूको समर्थनको लागि कृतज्ञता व्यक्त गरेका छन् । आइतबार भएको वार्तामा युरोपेली नेताहरूले अमेरिका पठाउन शान्ति योजना तयार गर्न सहमत भएको पनि उनले बताए । युक्रेनले अमेरिकाबाट सुरक्षा ग्यारेन्टीको अपेक्षा गरेको र भविष्यमा रुसलाई आक्रमण गर्नबाट रोक्न यो आवश्यक भएको पनि उनले भने ।

आफूहरूले अमेरिकाको महत्त्व बुझ्छौँ र अमेरिकाप्रति कृतज्ञ नभएको कुनै एउटा दिन नभएको पनि जेलेन्स्कीले बताए । आइतबार युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्की लन्डन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थिए । यस समयमा उनले ओभल अफिसमा भएको घटना बारेमा सन्तुलन कायम राखेको पनि देखियो । 

अमेरिकाको सहयोगप्रति जेलेन्स्कीको प्रतिक्रिया

अमेरिकाले युक्रेनलाई दिइने सहायता बन्द गर्नेछ भन्ने आफूलाई नलागेको विमानस्थलमा पत्रकारहरू समक्ष जेलेन्स्कीले भने । सभ्य संसारका नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न नचाहने उनको तर्क थियो । तर, आफू कुनै पनि परिणामको लागि आफू तयार रहेको पनि उनले बताए । 

शुक्रवार ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबिच खनिज सम्झौता हुने तय भएको थियो । तर बहसका कारण सम्झौतामा हस्ताक्षर हुन सकेन । यसबारे जेलेन्स्कीले भने– ‘हामी यसमा हस्ताक्षर गर्न सहमत भएका थियौँ र हामी यसको लागि तयार छौँ ।’ सम्झौतामा हस्ताक्षर गर्न अमेरिका पनि तयार हुनेछ भन्ने आफूलाई लागेको पनि उनले बताए । 

ट्रम्पले युक्रेनलाई युद्धको समर्थनमा अमेरिकाले अहिलेसम्म दिएको सहयोगको बदलामा खनिज सम्झौताको माग गरेका थिए । युक्रेनमा लिथियमलगायत कयौँ दुर्लभ खनिजहरूको भण्डार छ । युक्रेनी दुर्लभ धातु र खनिजमा अमेरिकाको गिद्धे दृष्टि छ । आफ्ना पूर्व राष्ट्रपति जो बाइडेनले रुससँगको युद्धमा युक्रेनलाई दिएको अर्बौँ डलर सहायताबापत ट्रम्पले युक्रेनको खनिज लिन खोजिरहेका छन् । 

‘रुसलाई जमिन दिँदै दिन्न’

विमानस्थलमा जेलेन्स्कीले कुनै पनि हिसाबले अमेरिकाको विरोध गर्नबाट बचिरहे । ह्वाइट हाउसमा के भयो भनेर आफूले बिर्सन नचाहेको र भविष्यको लागि बलियो युद्धविराम चाहेको उनले बताए । तर आफूले युक्रेनको एक इन्च पनि जमिन रुसलाई नदिनेमा उनले जोड दिए ।

‘सबैले बुझ्नुपर्छ कि रुसले कब्जा गरेको कुनै पनि क्षेत्रलाई युक्रेनले रुसी क्षेत्रको रूपमा मान्यता दिने छैन । हामीलाई आशा छ कि यो ग्यारेन्टीले रुसबाट हुने कुनै पनि आक्रमणलाई पूर्ण रूपमा निरुत्साहित गर्नेछ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप