सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको नयाँ मिति सार्वजनिक

सोमबार, १९ फागुन २०८१, १० : ४२
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको मिति सरेको छ । फागुन १९ देखि २९ गतेसम्म नेपालगन्ज रंगशालामा हुने तय भएको प्रतियोगिता अब आगामी वैशाख ५ देखि १५ गतेसम्म आयोजना हुनेछ । 

आयोजक अन्तरालले प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नु परेको जानकारी दिए । ‘प्राविधिक कारणले प्रतियोगिताको मिति सारिएको हो । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौँ,’ उनले भनेका छन् ।

प्रतियोगितामा नेपालका चर्चित क्लब, विभागीय टोली र भारतीय टोलीहरूलाई आमन्त्रण गरिसकिएको जानकारी पनि उनले दिए । बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने विश्वास पनि आयोजकले लिएको छ । 

प्रतियोगितामा स्थानीय बाँके जिल्लाको टोलीसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरी खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाइएको जानकारी बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले दिए । 

बाँकेको महिला फुटबल टोलीले धम्बोझीस्थित नेपाल प्रहरीको गुल्ममा प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षक सानु तामाङ र रवीन्द्र श्रेष्ठले स्थानीय खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । नेपालगन्ज रंगशालाको मैदानमा घाँस उर्माने कार्य पनि भइरहेको पनि आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप