प्रधानमन्त्री र विश्व चर्चित गोलरक्षक बुफोनको उपस्थितिमा उपाधिका लागि भिड्दै आर्मी र मच्छिन्द्र
_gpM8GU83AC.jpg)
काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबिच भिडन्त हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । मच्छिन्द्र क्लब प्रतियोगिताको साबिक विजेता पनि हो ।
आर्मी क्लब भने पहिलो पटक केपी ओली कपको उपाधि जित्ने धुनमा हुनेछ । आर्मी क्लब यो वर्ष पहिलो पटक कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको हो । मच्छिन्द्र क्लबको भने यो वर्ष चौथो फाइनल यात्रा हो ।
जारी केपी ओली कपको सेमिफाइनलमा मच्छिन्द्र क्लबले आयोजक केपी ओली फुटबल क्लबलाई हराएको थियो । आर्मी क्लबले भने सेमिफाइनल भिडन्तमा बलियो प्रतिद्वन्द्वी संकटा क्लबलाई पाखा लगाएको थियो ।
आर्मी क्लबका प्रशिक्षक मेघराज केसी टोलीमा प्रतिभाशाली नयाँ खेलाडीको बाहुल्य रहेकाले उपाधि जित्नेमा आफूहरू आशावादी रहेको बताएका छन् । टोलीका कप्तान जिलेस्पीजंग कार्कीले अघिल्ला खेलको नतिजाबाट पनि आफूहरू उत्साही रहेको बताएका छन् ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने भने आर्मी बलियो टोली भएको बताउँदै आफूहरूले फाइनलका लागि सोही अनुरूपको रणनीति बनाएको बताउँछन् । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले टोली सन्तुलित रहेको र आफूहरूले जितका लागि सक्दो प्रयास गर्ने बताएका छन् ।
केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा सहभागी हुन इटालीका पूर्वकप्तान एवम् गोलरक्षक जियानलुइजी बुफोन पनि श्रीमतीसहित नेपाल आएका छन् । आइतबार काठमाडौँ आइपुगेका बुफोनले नेपाल भ्रमण गर्ने आफ्नो सपना साकार भएको बताएका छन् ।
विश्व फुटबलका यी महान् गोलरक्षक इटालीलाई सन् २००६ मा आयोजित फिफा विश्वकपको उपाधि चुमाउने टोलीका महत्त्वपूर्ण सदस्य हुन् । उक्त विश्वकपको फाइनलमा इटालीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराएको थियो ।
यसदेखि वाहेक पनि उनको उत्कृष्ट प्रदर्शनमा इटालीले थुप्रै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको थियो । उनी आफ्नो समयका विश्वकै सर्वाधिक लोकप्रिय गोलरक्षक थिए । उनले विश्वका विभिन्न चर्चित क्लबबाट व्यवासायिक फुटबल खेलेका थिए ।
४७ वर्षीय बुफोनले पार्मा, युभेन्ट्स, पेरिस सेन्ट जर्मन (पीएसजी)लगायतका चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । उनले थुप्रै पटक इटालियन सिरिएको उपाधि पनि जितेका थिए । बुफोन इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गोलरक्षक पनि हुन् । उनले इटालीको राष्ट्रिय टोलीको कप्तानी पनि गरेका थिए ।
आफ्नै नाममा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशालामा उपस्थित हुनेछन् । प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ ।
नौवटा टोलीको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेता टोलीले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ । प्रतियोगिताको उपविजेता टोलीले भने पाँच लाख रुपैयाँ पुरस्कार हात पार्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण अभियान बहुआयामिक र गुणात्मक भएको माओवादीको निष्कर्ष
-
केपी ओली कपले यातायात अस्तव्यस्त
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश
-
सकियो 'हरिबहादुरको जुत्ता'को छायांकन, फूलपातीमा रिलिज हुने
-
प्रकृति लम्साललाई न्याय दिलाउने परराष्ट्रमन्त्री आरजुको प्रतिबद्धता
-
‘कोशी’ नामबारे माओवादीको दोहोरो नीति कहिलेसम्म ?