सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

स्ववियुमा मेरो दाबी

सोमबार, १९ फागुन २०८१, ०९ : ५७
सोमबार, १९ फागुन २०८१

शिक्षा पुस्तकका अक्षरमा मात्र सीमित हुँदैन यो चेतना, नैतिकता, मूल्य तथा भविष्य निर्माणको एक महत्त्वपूर्ण आधार हो । एक सभ्य एवं प्रगतिशील समाज निर्माणका निमित्त शिक्षित नागरिकहरूको आवश्यकता हुन्छ र त्यही शिक्षालाई सुदृढ बनाउन विद्यार्थी स्वयं सचेत हुन जरुरी छ । 

स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) लोकतान्त्रिक अभ्यासको एउटा महत्त्वपूर्ण पाटो हो, जहाँ विद्यार्थीले आफ्नो नेतृत्व चयन गर्ने अवसर पाउँछन् । तर यो केवल पदको खेल होइन– यो मानसिकताको, सोचको, दर्शनको र विद्यार्थीको हकहितको लडाइँ हो ।

  • स्ववियुको इतिहास र गरिमा

स्ववियुको यात्रा र नेपालको विद्यार्थी आन्दोलन एक–अर्कासँग पारस्परिक रूपमा गाँसिएका छन् । २०२३ सालदेखि स्ववियु नेपाली विद्यार्थीको हक–अधिकारको प्रतिविम्ब बनेर अघि बढ्दै आएको छ । इतिहासका विभिन्न कालखण्डमा यसले शैक्षिक सुधारदेखि सामाजिक रूपान्तरणसम्मका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । २०४६ र २०६२÷६३ को आन्दोलनमा स्ववियुको योगदान अतुलनीय ठहरिएको छ ।

आजको परिवेश भने अलि फरक छ । अबको संघर्ष बाह्य शक्तिविरुद्ध मात्र होइन, आन्तरिक कमी–कमजोरीहरूविरुद्ध पनि हो । शिक्षाको गुणस्तर वार्षिक रूपमा खस्कँदै गएको तथ्याङ्कले प्रस्ट दर्शाउँछन्, क्याम्पसभित्र अनुशासन कमजोर बन्दै गएको देखिन्छ, शैक्षिक प्रणालीप्रति वितृष्णा बढ्दै गएर विद्यार्थी देशबाट बाहिरिँदै छन्, अनि विद्यार्थीलाई शिक्षाका मूलभूत सवालबाट गान्धारीझैँ अनभिज्ञ राखिन खोजिएका छन् । यस्तो अवस्थामा स्ववियुले के गर्न सक्छ ? यसको उत्तर हाम्रो सामूहिक चेतनामा निर्भर गर्छ ।

  • शिक्षामा स्ववियुको भूमिका

एक शिक्षालय केवल इँटा र गाह्रोको संरचना होइन यो चिन्तन, विश्लेषण र परिवर्तनको केन्द्र हो । तर के हाम्रा शैक्षिक संस्थाहरू ज्ञानको तीर्थस्थल बन्न सकेका छन् त ? कि तिनले केवल प्रमाणपत्र उत्पादन गर्ने कारखानाको रूप लिइसकेका छन् ?

के हाम्रा क्याम्पसहरूमा पठनपाठन गुणस्तरीय छ ? विद्यार्थीको समस्यालाई प्रशासनले सुनिरहेको छ ? या केवल दोषारोपणमै समस्यालाई नजरअन्दाज गरिँदै छ ? नयाँ पुस्ताका लागि शिक्षालाई जीवनोपयोगी बनाउन के गरिँदै छ ? हाम्रो शैक्षिक प्रणालीले तार्किक, रचनात्मक सोच र सिर्जना गर्न सक्षम बनाइरहेको छ या केवल परीक्षा पास गर्ने मेसिन तयार गर्दै छ ?

एक सशक्त स्ववियुले नीतिगत दबाबमार्फत शिक्षामा सुधार ल्याउन, सरकार र विश्वविद्यालय प्रशासनलाई बाध्य पार्न सक्छ । यसले विद्यार्थीलाई उनीहरूको अधिकार र कर्तव्यप्रति जागरूक गराउने भूमिका खेल्न सक्छ । योग्य विद्यार्थीलाई नेतृत्वदायी भूमिकामा ल्याएर देशको उज्ज्वल भविष्यका लागि कुशल नेतृत्व विकास गर्न सक्छ ।

स्ववियुले यी कुरालाई सम्बोधन गर्ने जिम्मेवारी लिन्छ । स्ववियु सही ढङ्गमा परिचालित हुने हो भने, यसले यस्ता विभिन्न प्रश्नको जवाफ खोज्ने ल्याकत राख्छ । कक्षा कोठाभित्र मात्र होइन, क्याम्पसको हरेक कुना–कुनामा शिक्षाको उज्यालो फैलाउने प्रमुख कर्तव्यका साथ यसले राज्यको शैक्षिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

  • स्ववियुको योगदान

विद्यार्थी आजको नागरिक मात्र होइनन्, भोलिका नेतृत्वकर्ता पनि हुन् । शिक्षामा भएको लगानी भनेको देशको भविष्यमा गरिएको लगानी हो । शिक्षा कमजोर हुनु भनेको राज्य कमजोर हुनु हो । 

एक सशक्त स्ववियुले नीतिगत दबाबमार्फत शिक्षामा सुधार ल्याउन, सरकार र विश्वविद्यालय प्रशासनलाई बाध्य पार्न सक्छ । यसले विद्यार्थीलाई उनीहरूको अधिकार र कर्तव्यप्रति जागरूक गराउने भूमिका खेल्न सक्छ । योग्य विद्यार्थीलाई नेतृत्वदायी भूमिकामा ल्याएर देशको उज्ज्वल भविष्यका लागि कुशल नेतृत्व विकास गर्न सक्छ । अनुसन्धान, प्राविधिक सीप र व्यावहारिक ज्ञानलाई प्रवद्र्धन गर्ने जस्ता कैयौँ कर्तव्यनिष्ठ एवं जिम्मेवार भूमिका समेत स्ववियुले निर्वाह गर्न सक्छ । 

  • मेरो दाबी : एक विद्यार्थीको भूमिका

म केवल एक विद्यार्थी होइन, शिक्षाको सही अर्थ बुझ्ने व्यक्ति पनि हुँ । मेरा लागि स्ववियु कुनै राजनीतिक लालसाको सिँढी होइन, यो शिक्षालाई समृद्ध बनाउन एउटा अवसर हो । स्ववियु आफ्नो क्याम्पसका लागि हितकारी नेतृत्व तथा देशको भविष्यका लागि सबल व्यक्तिलाई प्रोत्साहन गर्ने एक सुनौलो अवसर हो । 

चैत ५ गतेका लागि स्ववियु चुनाव तोकिएको छ । यस चुनावमा म स्ववियुमा एक ‘सचेत विद्यार्थी’को भूमिका निर्वाह गर्नेछु । म वाचा गर्छु कि म केवल नामका लागि मतदान गर्नेछैन, म योग्य, कर्मठ र शिक्षालाई पहिलो प्राथमिकता दिने उम्मेदवारलाई समर्थन गर्नेछु । म मेरो मतलाई केवल एक सीमित कालखण्डको प्रतिनिधित्व गर्न होइन, शिक्षाको स्थायी स्तरोन्नतिका लागि प्रयोग गर्नेछु ।

अब प्रश्न तपाईंहरू सबैका लागि छ– के तपाईं पनि एक सचेत विद्यार्थीका रूपमा आफ्नो मत सही ठाउँमा प्रयोग गर्न तयार हुनुहुन्छ ? के तपाईंले शिक्षालाई केवल पढाइको रूपमा होइन, भविष्य निर्माणको साधनका रूपमा बुझ्नुभएको छ ? के तपाईं आफ्नो उत्तरदायित्व सही ढङ्गले निर्वाह गर्नुहुनेछ ? हामी विद्यार्थी केवल दर्शक बन्ने कि परिवर्तनका संवाहक ? अब निर्णय गर्ने समय आएको छ ।

(विद्यार्थी, अमृत साइन्स क्याम्पस)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निराजन खतिवडा
निराजन खतिवडा
लेखकबाट थप