माओवादीलाई ०६४ को अवस्थामा फर्काउन कति सम्भव ?

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोआज आफ्नो पार्टीलाई ०६४ सालकै अवस्थामा फर्काउने प्रतिबद्धता जनाउँदै आएका छन् ।
गत असार अन्तिममा सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनतातिर फर्किएका छन् । जनताका मुद्दा उठाउने, जनतासँग सामीप्य बढाउने, विभिन्न अभियानमार्फत जनतासँग पार्टीलाई जोड्ने कामलाई माओवादी केन्द्रले प्राथमिकता दिएको छ ।
यी गतिविधिलाई ‘मिसन ०८४’ अर्थात् आगामी संसदीय निर्वाचनसँग जोडेर हेरिएको छ । ०८४ को निर्वाचनमा माओवादीलाई ०६४ को अवस्थामा फर्काउने भनेर सो पार्टीले विभिन्न कार्यक्रम अघि सारेको छ । त्यसमा पनि माओवादी केन्द्रले पूर्व क्षेत्रलाई विशेष महत्त्व दिएको देखिन्छ ।
- ०६४ मा कस्तो थियो माओवादी ?
पहिलो संविधान सभा (२०६४ चैत २८ गते) निर्वाचनलाई लक्षित गर्दै तत्कालीन नेकपा (माओवादी)ले सोही वर्ष चैत २२ गते झापाको बिर्तामोडमा आमसभा आयोजना गर्यो । त्यो आमसभा अप्रत्याशित र ऐतिहासिक रहेको माओवादी नेता बताउँछन् ।
त्यस दिन दिउँसो एक बजे अध्यक्ष प्रचण्डलगायत नेताहरूले उक्त आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । यद्यपि पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरू बिर्तामोडमा तीन बजेपछि मात्रै पुगे । आमसभामा आएका मानिसहरू बिर्तामोड सहरभरि थिए । त्यो देखेपछि नेताहरूले कानेखुसी गरे, ‘ढिलो आएको कारण रिसाएर मानिसहरू फर्किए कि के हो ?’
तर, त्यस्तो नभएर सभास्थलमा पनि मानिसहरूको भिडभाड उस्तै धेरै थियो । अर्थात् बिर्तामोड बजारभरि मानिस नै मानिस थिए । बिर्तामोड बजार नै सभास्थल जस्तो बन्यो ।
त्यो सभालाई अहिले पनि माओवादीहरूले बिर्सन सक्दैनन् । त्यसैलाई आधार मान्दै प्रचण्डले अहिले आएर पनि भन्ने गर्छन्, ‘त्यसबेला झापाले हाम्रो जितको संकेत गरेको थियो । अहिले पनि झापाले जितको संकेत गरेको छ ।’
जितको संकेत गरेको बिर्तामोडको सभापछि २०६४ चैत २८ गते भएको निर्वाचनमा माओवादीले झापामा ७ सिटमध्ये ५ वटामा जित्यो । एमालेका वरिष्ठ नेता केपी शर्मा ओली एक जना मामुली माओवादी कार्यकर्तासँगको प्रतिस्पर्धामा हारे । तत्कालीन गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला पनि पराजित भए ।
मोरङमा पनि ८ वटा निर्वाचन क्षेत्रमा माओवादीले ४ वटा जित्यो । मोरङ २ बाट एमाले नेता भरतमोहन अधिकारी पराजित भए । उदयपुर, खोटाङ, सोलुखुम्बु, भोजपुर, संखुवासभा, धनकुटामा पनि माओवादीले सानदार विजय हासिल गर्यो ।
तर, अहिले माओवादीले झापामा एउटा वडामा पनि जित निकाल्न सकेन । सुनसरीमा एउटा वडामा मात्रै जित्न सक्यो । मोरङमा बल्लतल्ल १ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको माओवादीले स्थानीय तहमा कुनै पनि प्रमुख वा अध्यक्ष जित्न सकेन । किन ? माओवादी अहिले यही प्रश्नको उत्तरसहित पूर्वी नेपाल र त्यसमा पनि झापा, मोरङ र सुनसरीमा केन्द्रित भएको छ ।
माओवादी केन्द्रको आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकमा प्रस्तुत संक्षिप्त राजनीतिक प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकमा व्याख्या गर्दै भनेका छन्, ‘जनसंख्याको ठुलो केन्द्रीकरण रहेको उपत्यका, मधेस लगायतका ठुला सहर एवं उत्पादक शक्तिको सापेक्षरूपले विकास भएको पूर्वी नेपालमा संगठन र संघर्षको विकास गर्न विशेष जोड दिन आवश्यक छ ।’
जसका लागि माओवादीले फागुन १२ गतेदेखि हुलाकी मार्ग एवं पूर्व–पश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेस जागरण अभियान चलाइरहेको छ भने २०८२ वैशाखमा मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा आधारित जनतासँग माओवादी पूर्व–पश्चिम जागरण अभियान चलाउने भएको छ ।
हालै चलाइएको अभियानमा झापा, मोरङ र सुनसरीबाट करिब ५ हजार मानिस अन्य पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरेको सो पार्टीको दाबी छ ।
- निर्वाचनमा माओवादी
२०६४ सालमा नेकपा माओवादीले प्रत्यक्ष चुनावतर्फ २४० सिटमध्ये १२० सिट जितेको थियो । समानुपातिक मत परिणाममा माओवादीले लगभग ३१ प्रतिशत मत ल्यायो । तर २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ जम्मा २५ सिटमात्रै जित्न सक्यो । समानुपातिक मत परिणाममा पनि माओवादीले १७ प्रतिशत हाराहारी मात्रै मत ल्यायो । त्यसपछिको २०७४ र २०७९ सालको निर्वाचनमा पनि माओवादीको ओरालो यात्रा जारी रह्यो ।
एमालेसँगको सहकार्यमा २०७४ मा प्रत्यक्षतर्फ ३२ सिट जितेको माओवादी २०७९ सालको निर्वाचनमा कांग्रेससँगको सहकार्यमा जम्मा १८ सिट जित्न सफल भयो । समानुपातिक तर्फ पनि माओवादीको मत निरन्तर घट्दै गयो ।
२०६४ सालमा झण्डै ३१ प्रतिशत मत ल्याएको माओवादी २०७९ सालको निर्वाचनमा १२ प्रतिशतमा सीमित भयो ।
पूर्व नेपालमा त माओवादीको अवस्था झनै खराब भयो । २०६४ सालमा पहिलो दल बनेको माओवादी ०७९ सालमा आइपुग्दा समानुपातिक मतको हिसाबले चौथो नम्बरमा छ । २०७४ सालको निर्वाचनमा खसेको जम्मा सदर मत १७ लाख ३६ हजार ६२२ मा माओवादीले तेस्रो लोकप्रिय २ लाख ६ हजार ७८१ मत ल्याएको थियो । २०७९ सालको निर्वाचनमा खसेको जम्मा सदर मत १८ लाख ९९ हजार १४४ मा माओवादीले प्रदेश सभातर्फको समानुपातिकमा चौथो हुँदै १ लाख ८१ हजार २४५ मत ल्यायो । जबकि अघिल्लो निर्वाचनमा ५७ हजार ३४२ मत ल्याएर पाँचौँ बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी २०७९ सालको निर्वाचनमा १ लाख ९८ हजार ५११ मत ल्याउँदै तेस्रो बन्यो ।
- उपनिर्वाचनबाट उत्साहित
निरन्तर मत परिणाममा ओरालो यात्रा गरिरहेको माओवादीका लागि २०८० मंसिर १५ गते सम्पन्न उपनिर्वाचनले भने प्राण दियो । ४१ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेस–एमाले नै प्रतिस्पर्धी हुने ठानिरहेको बेला माओवादी केन्द्र पनि सशक्त ढंगले प्रस्तुत भयो ।
एमाले र कांग्रेसले जितेका कतिपय स्थानमा माओवादीले आफ्नो विजय झण्डा फहरायो । कोशी प्रदेशमा पनि १ अध्यक्ष र ७ वडाध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये १ अध्यक्ष र २ वडाध्यक्ष पदमा जित निकाल्दै माओवादी पहिलो भएको छ । यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले दुई–दुई वडाध्यक्षमा र एक जना स्वतन्त्रले वडाध्यक्षमा विजयी भएका छन् ।
२०७९ सालको निर्वाचनमा भने ती ८ पदमै माओवादी पराजित भएको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसले पालिका अध्यक्षसहित ५ वडाध्यक्ष जितेको थियो भने एमालेले २ स्थानमा जितेको थियो । लोकप्रिय मतमा पनि माओवादी पहिलो देखियो । उपनिर्वाचनमा माओवादीले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदपुरको त्रियुगा १२ र बेलका ९ जितेको छ । माओवादीले जितेका तीनै स्थान अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो ।
कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । सो मतमा पनि माओवादी केन्द्र पहिलो भयो । जसअनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा कांग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएको छ । माओवादीले कांग्रेसभन्दा १ हजार ७५८ मत र एमालेभन्दा २ हजार २९२ मत बढी पाएको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार राप्रपाले ७२६ र रास्वपाले ९२९ मत ल्याएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा ती स्थानमा माओवादीले जम्मा ४ हजार ५५ मत पाउँदा कांग्रेसले १० हजार ६५१ मत ल्याएको थियो । यस्तै एमालेले ९ हजार ४५१ र राप्रपाले ५०३ मत पाएको थियो ।
उक्त तथ्याङ्क हेर्दा कांग्रेसको मत २ हजार ५८७ मत र एमालेको १ हजार ९२१ मत घटेको छ । यही परिणामलाई लिएर माओवादीले आगामी ०८४ को निर्वाचनलाई ०६४ मा जस्तै विजय हुने भनेर प्रचार गरिरहेको छ ।
माओवादीले त्यतिमात्रै भनेको छैन । समाजवादी क्रान्तिको आधार क्षेत्र पूर्वी नेपाल बन्ने व्याख्या गरिरहेको छ ।
माओवादीले कोशी प्रदेश र त्यसमा पनि झापा, मोरङ र सुनसरीलाई नै केन्द्रित गर्नुको कारण अर्को पनि छ । यी तीन जिल्ला नेपालमै बढी जनसंख्या हुने पाँच जिल्लाको सूचीमा छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सबैभन्दा बढी काठमाडौँमा २० लाख १७ हजार ५३२ जनसंख्या छ । काठमाडौँपछि बढी जनसंख्या भएको दोस्रो जिल्ला मोरङमा ११ लाख ४७ हजार १८६ छ । तेस्रो ठुलो जिल्ला रुपन्देहीमा ११ लाख १८ हजार ९७५ जनसंख्या छ । त्यसपछि झापाको जनसंख्या नौ लाख ९४ हजार ९० छ । पाँचौँ नम्बरमा रहेको सुनसरीको जनसंख्या नौ लाख ३४ हजार ४६१ छ । यसरी हेर्दा झापा, मोरङ र सुनसरीमा ३० लाख ७५ हजार ७३७ जनसंख्या छ ।
- के भन्छन् नेताहरू ?
माओवादीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ तीन जिल्लाबाट ५ हजारभन्दा बढी मानिस हालै आफ्नो पार्टीमा आएको दाबी गर्छन् । ‘सानासाना धेरै कार्यक्रम भएका छन् । हामीले ५ हजार मानिसलाई प्रवेश गराउने लक्ष्य राखेका थियौँ । त्यो करिबकरिब पूरा भएको छ,’ उनले भने ।
त्यसमध्ये अन्य पार्टीमा रहेका पुराना माओवादीलाई फर्काउने लक्ष्य पनि धेरैजसो पूरा भएको नेम्वाङले बताए । उनले भने, ‘अहिले सबै समीक्षा गर्न बाँकी छ । झापा र सुनसरीमा केही समस्या देखियो । मोरङको हकमा एउटा उचाइमा अगाडि बढ्यौँजस्तो लाग्छ ।’
अहिलेको अभियानले एउटा आधार बनाएको जिकिर गर्दै नेम्वाङले त्यसलाई व्यवस्थित ढंगले समीक्षा गरेर अगाडि बढ्दा धेरै राम्रो हुने बताए ।
झापा माओवादीका संयोजक राजु आचार्य (अग्नि) ले झापाको अभियान ऐतिहासिक रूपमा सफल भएको दाबी गरे । ‘झापाका कार्यकर्ता–नेताहरू प्रचण्डसँगै नाचे, हाँसे । अभियान सशक्त भयो । एउटा जागरण आएको छ । सबै जनता उद्वेलित भए,’ उनले भने, ‘सबै जनाले प्रचण्ड पुग्दा घरघरबाट फूलमाला लिएर स्वागत गरेका छन् ।’
आगामी राजनीतिका लागि यो अभियानले आफूहरूलाई धेरै सहज भएको आचार्यले बताए ।
माओेवादी मोरङका संयोजक विजय विश्वास थारुले अभियान मोरङमा धेरै राम्रो भएको दाबी गरे । ‘विभिन्न पार्टीबाट ३ हजार जति मानिस माओवादी केन्द्रमा प्रवेश गरे । सभाहरूमा उपस्थिति पनि ठुलो भयो । कर्सिया, रतुवामाई र कानेपोखरीका सभा निकै राम्रो भयो । जनता आकर्षित देखिए । यसले ०६४ सालको भन्दा राम्रो अवस्था हुने देखाउँछ । यसलाई कायमै राख्नुपर्ने हाम्रो चुनौती हो,’ उनले भने ।
उता, सुनसरीका माओवादी नेता सन्तोष चौधरी (विश्व)ले मधेसी र थारु समुदायमा जागरण पैदा भएको दाबी गरे ।
‘अभियान पनि हामीले मधेसी र थारुहरू लक्षित नै गरेका थियौँ । दक्षिणी भेगमा रहेको बर्जु ताल अवलोकन भयो । देवानगञ्ज, गढीमा मुस्लिम समुदायसँग भएको छलफल उपलब्धिमूलक रह्यो,’ उनले भने, ‘यो अभियानले पार्टी निर्माणमा धेरै ठुलो महत्त्व राखेको छ । किनभने अहिले प्रचण्डप्रति जनताको आकर्षण र उत्साह देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश
-
सकियो 'हरिबहादुरको जुत्ता'को छायांकन, फूलपातीमा रिलिज हुने
-
प्रकृति लम्साललाई न्याय दिलाउने परराष्ट्रमन्त्री आरजुको प्रतिबद्धता
-
‘कोशी’ नामबारे माओवादीको दोहोरो नीति कहिलेसम्म ?
-
विश्वचर्चित फुटबलर जियानलुइजी बुफन रंगशालामा, तस्बिरहरु
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै