सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : माओवादी अभियान

०६४ सालमा फर्किन्छौँ भनेको ‘सिम्बोलिक’ कुरा हो

सोमबार, १९ फागुन २०८१, ०८ : ५०
सोमबार, १९ फागुन २०८१

संसारमा कम्युनिस्ट आन्दोलन नै प्रतिरक्षात्मक थियो । त्यो अवस्थामा नेपालमा २०४६ सालको जनआन्दोलनपछि आफूलाई पुनः परिभाषित गरेर आएको हुनाले एमालेले एउटा रेकर्ड बनायो । मदन भण्डारी नेपालमा वामपन्थी एजेण्डा लोकप्रिय भएको विश्लेषण गरेरै जनताको बहुदलीय जनवादमा गएका हुन् ।

पुँजीवादी देशहरूले समाजवादको कतिपय राम्रा पक्ष लिएर अगाडि बढ्दै थिए । त्यसै बेलामा चीनमा देङले पनि पुँजीवादका अस्त्रहरूलाई समाजवादको सेवा ल्याउने सोच बनाए । उनका समाजवादी बजार अर्थतन्त्र र चार आधुनिकीकरण त्यसैका उपज हुन् । हो, यसो गर्दा उनले समाजमा ठुलो आर्थिक ध्रुवीकरण नहोस् भन्नेमा ध्यान दिएर योजनाहरू बनाए । परिणामस्वरुप चीन आत्मनिर्भर भएर अगाडि बढ्यो ।

सम्भवतः मदन भण्डारी पनि यसबाट प्रभावित भए । उनलाई लाग्यो, नेपालमा कम्युनिस्टहरू निर्वाचनबाट पनि सरकारमा पुग्न सक्छन् तर के तत्कालीन विश्व शक्तिहरूले टिक्न दिन्छन् र ? हो, त्यसैले उनले उदार लोकतन्त्रका विशेषताहरूलाई अँगालेर बहुदलीय जनवादको कार्यक्रम अघि सारे । आवधिक निर्वाचन, बहुमतको शासन अल्पमतको प्रतिपक्ष, कानुनको शासन, बहुलवादी खुला समाजजस्ता विशेषता भनेका लिबरल डेमोक्रेसी कै विशेषता हुन् । यसरी बहुदलीय जनवादको प्रतिपादन गरेर उनले नेपालमा निर्वाचनबाट कम्युनिस्टहरूले सरकार बनाउँदा त्यसप्रति बाहिरी पुँजीवादी जगतबाट स्वीकार्यता हुन्छ भन्ने सोचेका थिए । मलाई लाग्छ, नेकपा माओवादीले पनि २१ औँ शताब्दीको जनवाद अघि सार्नुको कारण पनि त्यही हो ।

अहिले नेपालमा जुन समाजवादी क्रान्तिको कुरा गरिँदैछ, त्यसका लागि संविधान नै अक्षरशः कार्यान्वयन गर्नसके पुग्छ । संविधानमा व्यवस्था गरिएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तलाई व्यापक जनसमुदायको पक्षमा कार्यान्वयन गरेमात्र पनि समाजवादतर्फ अग्रसर हुन सकिन्छ तर यतिबेला मुलुक दलाल पुँजीवादको चङ्गुलमा छ । सरकार र राजनीतिक दलहरू त्यसको पकडबाट मुक्त हुन जरुरी छ ।

नेपाली जनतामा अझ पनि जनपक्षीय नीतिहरू लोकप्रिय छन् । अतः शिक्षा, स्वास्थ्य र रोजगारमा आम जनताको पहुँच पुर्‍याउन, राष्ट्रिय पुँजीको विकास, तुलनात्मक रूपमा आत्मनिर्भर अर्थतन्त्रको विकास र सुशासन दिन सक्ने ढंगले प्रभावकारी शासन जनताको चाहना देखिन्छ । 

यसका लागि अहिलेको भद्रगोल र छ्यासमिसे होइन, विचार र कार्यक्रमका आधारमा सुग्घर गठबन्धन बन्नु र त्यसबाट शासन सञ्चालन हुन जरुरी छ । त्यो भनेको  नेपालको राजनीतिमा ध्रुवीकरण भएर वैचारिक रूपमा केन्द्रबाट देब्रे शक्तिहरू एक ठाउँ र केन्द्रबाट दाहिने शक्ति एक ठाउँमा हुनुपर्छ । यसरी स्पष्ट कार्यक्रमिक रूपमा किसान, मजदुर, दलित, महिला र पिछडिएको वर्ग समुदाय पक्षमा उभिएर प्रतिस्पर्धा गर्न कम्युनिस्टहरू तयार हुन सक्नुपर्छ ।  हाम्रो संविधानले समाजवादतर्फ जाने बाटो खुला राखेकै छ । आवश्यकता भनेको त्यसलाई  यथार्थको धरातलमा ओराल्नु हो ।

माओवादीले अहिले चलाएको अभियानको समाचार म हेरिहेको छु । पढिरहेछु । यसले उसको पक्षमा ‘पोजेटिभ भाइब’ सिर्जना गरेको जस्तो लाग्छ ।  यथार्थ के हो भने जनताको माझमा नेता जाने, जनताको गुनासो सुन्ने, जनताको आलोचना सुन्ने, जनताको अवस्था बुझ्ने र आफ्नो कुरा पनि नेताले भन्न पाउने भयो । जनताले पनि हाम्रो कोही छैन भनिरहेको बेलामा यसरी कुनै पार्टीले अभियान चलाउनु, नेताहरू जनताको घरमा जानु भनेको राम्रो पक्ष हो । अब उसले जनताको पहलकदमीलाई  संगठनमा र तिनका आवाजहरूलाई आफ्नो नीति तथा कार्यक्रममा रिफ्लेक्ट गर्न सक्नुपर्छ ।

माओवादीले अहिले चलाएको हुलाकी राजमार्ग लक्षित अभियानबाट नेतालाई आफ्नो यथार्थ धरातल पनि थाहा हुने, कार्यकर्तालाई क्रियाशील र ऊर्जावान बनाउने, निराश जनतालाई हाम्रो सुन्ने पार्टी र नेता पनि रहेछन् है भन्ने बनाउने खालको छ । यसले जनता र नेतृत्वको दुरी पनि घटाउन सक्छ तर, यससँगै फलोअप हुनुपर्छ । हिजो जनतासँगको सम्बन्धको कडी कहाँ चुँडियो ? यो हिसाबले सोच्नु पर्छ । अहिले सरकारमा भएका दललाई चाहिँ अप्ठ्यारो छ । उसले परिणाम दिनुपर्छ तर, प्रतिपक्षले भने जनताको कुरा सुन्ने र सरकारलाई आवाज सुनाउने हो । त्यसो हुँदा टुटेको संगठन बनाउन सक्यो, हिजो तितरवितर भएको कार्यकर्तालाई फेरि विश्वास दिलाएर, अहिलेका युवाहरूलाई पनि आफूतिर ल्याउन सक्यो भने यसले एउटा सकारात्मक प्रभाव पार्छ ।

जनताको घरमा पुगेपछि तिनले आफूलाई सम्मानित महसुस गर्छन् । यस्ता अभियानबाट पार्टीभित्रका आपसी अन्तर्विरोध र नेताहरूको आपसी अहमको लडाइँलाई समाधान गर्न मद्दत मिल्छ ।

  • ०६४ सालको निर्वाचन

२०६४ सालको निर्वाचनमा झापाबाट केपी ओली नै हारेका हुन् । झापाको ७ निर्वाचन क्षेत्रमध्ये ५ वटा त माओवादीले जितेको थियो । अहिले माओवादीले त्यही परिस्थिति फर्काउँछौँ भन्नु भनेको कार्यकर्तालाई उत्साहित बनाउन र आम जनताको खतपको लागि भनिदिने कुरा हो ।

राजनीतिक पार्टीले भन्दा ०६४ फर्किन्छ–फर्किन्छ भन्ने भए । ०६४ सालको निर्वाचन चाहिँ भुतो न भविष्यको कुरा हो । त्यसबेला राजनीतिक पार्टीहरूलाई माओवादीले चुनाव बहिष्कार पो गर्छन् कि भन्ने त्रास थियो । त्यसबेला माओवादीका फलानोले पनि जित्छ, चिलानोले पनि जित्छ भन्ने खालका खबरहरू आइरहेका थिए । त्यो अवस्था आउनुमा माओवादी शान्तिपूर्ण राजनीतिमा आउँछ भने एउटा भोट दिनुपर्छ भन्ने आम भावना थियो ।

नभन्दै समानुपातिक र प्रत्यक्ष दुवैमा माओवादीले धेरै मत ल्यायो । कांग्रेस र एमालेलाई त्यही समानुपातिकले इज्जत जोगायो । त्यसबेला प्रत्यक्षतर्फ त एमाले चौथो भयो । मधेसी जनअधिकार फोरमले पनि एमालेलाई जितेको थियो । त्यसकारण त्यो ०६४ सालको निर्वाचन विशिष्ट किसिमको थियो । अहिले त्यहीँ फर्किन्छौँ भनेको सिम्बोलिक कुरा हो । फर्किंदैन भन्ने पनि होइन । निर्णायक ठाउँमा माओवादीलाई अबको निर्वाचनले पुर्‍याउन सक्छ । नेपालको मतदाता भनेको केही स्थानमा मात्रै फिक्स छन् । अरु भोट भनेको तरल भोट हुन् । तरल भोटहरू इस्यु र उम्मेदवार ठिक ढंगले लिएर गएको अवस्थामा माओवादीलाई आउन सक्छ । त्यो कुराको उदाहरण भर्खरै सम्पन्न उपनिर्वाचनको मत परिणामले पनि देखाएको छ । त्यो उपनिर्वाचनले बढी मानिसहरू माओवादीलाई भोट हाल्न तयार भएको देखिएको छ । तरल भोट नै निर्णायक हो । त्यो भोट माओवादीलाई दिनुहुँदैन भन्ने खालको सोच मतदातामा छैन भन्ने देखायो । त्यो भोटलाई आफ्नो कार्यक्रम, संगठन र सक्रियताले ल्याउन सक्ने सम्भावना छ । तर, यस्तो अभियानलाई कर्मकाण्डी रूपमा मात्रै लियो भने प्रतिफल दिँदैन । यस कुरामा अहिले सत्तामा भएकाहरूलाई भन्दा माओवादीलाई सहज अवस्था छ ।

– कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा. कृष्ण पोखरेल
प्रा. कृष्ण पोखरेल
लेखकबाट थप