सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

झुम्सा–चरङ्गे सडकको काम ६ वर्षमा पनि भएन पूरा

सोमबार, १९ फागुन २०८१, ०८ : ००
सोमबार, १९ फागुन २०८१

बुटवल । लुम्बिनी प्रदेश सरकारले २०७५ सालदेखि सुरु गरेको झुम्सा–चरङ्गे सडक निर्माणको काम सुस्त देखिएको छ ।

पाल्पा जिल्लामा पर्ने सिद्धबाबाको पहिरो छल्ने गरी वैकल्पिक मार्गका रुपमा झुम्सा–चरङ्गे सडक निर्माण सुरु गरिएको हो । आर्थिक वर्ष २०७५/०७६ मा लुम्बिनी प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गर्दै काम थालेको थियो ।

तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको पहलमा निर्माण सुरु भएको यो सडक ६ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन ।

पाल्पा र रुपन्देही दुई खण्ड गरी २१ किलोमिटर लामो सडक २ वर्षमा निर्माण गर्ने योजना थियो । सरकारले बजेट कम राख्ने तथा रुपन्देही क्षेत्रको मुढाबाँसमाथिको डाँडो भौगोलिक रूपमा अप्ठ्यारो रहेकाले निर्माणमा ढिलाइ भएको हो ।

jhumsa charange road (1)

चुरे क्षेत्रमा कतिपय जमिन भासिएको र पहिरो जाने गर्दा समस्या भएको सडक पूर्वाधार कार्यालय रुपन्देहीका सूचना अधिकारी इन्जिनियर कृष्ण पण्डितले रातोपाटीलाई बताए । रुपन्देहीमा पर्ने साढे १३ किलोमिटरमध्ये ५ किलोमिटर क्षेत्र कच्ची नै छ ।

तीन वर्ष अगाडि खनिएको ट्र्याक गत मंसिरमा सफा गरेर गाडी चल्ने बनाएको पण्डितको भनाइ छ । रुपन्देहीको देवदह चरङ्गेमा एउटा पुल निर्माण भएको छ । यस्तै, ३ किलोमिटर सडक पिच भएको छ भने ५ किलोमिटर ग्राभेल भएको उनले बताए ।

jhumsa charange road (2)

यता पाल्पातिरको काम भने तुलनात्मक रूपमा धेरै भएको छ । पाल्पा सडक पूर्वाधार कार्यालयका सूचना अधिकारी इन्जिनियर श्याम श्रेष्ठले पाल्पाको साढे ८ किलोमिटर सडक ग्राभेल भइसकेको बताए ।

उनले पाल्पामा पर्ने तीनवटा पुलमध्ये २ वटा निर्माण भएको र तिनाउ गाउँपालिका–३ मा पर्ने बेलदमार खोलामा पुल निर्माणाधीन रहेको जानकारी दिए । करिब ७ किलोमिटर सडक निर्माण सम्पन्न भएको र एक किलोमिटरको काम बाँकी रहेको उनको भनाइ छ ।

गत वर्ष ३ सय मिटर ढलाइ भएको र अहिले स्वर्गद्वारी निर्माण सेवा पाल्पासँग ९७ लाख रुपैयाँमा १ सय ५५ मिटर ढलान गर्न ठेक्का सम्झौता भएको इन्जिनियर श्रेष्ठले बताए ।

jhumsa charange road (5)

देवदहको चरङ्गेका लक्ष्मण थापा मगरले हिउँद र वर्षा दुवै सिजनमा गाडी चल्ने गरी सडक निर्माण गर्न ध्यान दिनुपर्ने बताए । यद्यपि काममा निकै ढिला भएको उनको भनाइ छ ।

देवदह नगरपालिका–१० का वडा अध्यक्ष एकबहादुर सुनारले सडक समयमा निर्माण भए चरङ्गे आर्थिक रूपमा चलायमान हुने बताए । उनी पनि सडक निर्माण निकै सुस्त भएको बताउँछन् ।

jhumsa charange road (4)

पहिलो वर्गा यो सडकका लागि विनियोजित १० करोड बजेटमध्ये रुपन्देहीतर्फ ६ करोड र पाल्पातर्फ ४ करोड छुट्ट्याइएको थियो । पाल्पामा आर्थिक वर्ष २०७९/०८० मा १ करोड बजेट विनियोजन भएको थियो । पाल्पातर्फ आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड र आर्थिक वर्ष २०८१/०८२ मा १ करोड बजेट विनियोजन भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर श्याम श्रेष्ठका अनुसार अहिले विनियोजित बजेटमध्ये गत वर्षको काम भएको ४० लाख रुपैयाँ भुक्तानी गरिएको छ । नयाँ सडक पिच गर्न ठेक्का लगाइएको पनि उनले जानकारी दिए ।

jhumsa charange road (3)

उता रुपन्देहीमा आर्थिक वर्ष २०७९/०८० मा १ करोड ५०, आर्थिक वर्ष २०८०/०८१ मा २ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । १ करोड ४० लाख रुपैयाँको लागतमा सडक ढलान गर्ने काम भइरहेको रुपन्देही सडक पूर्वाधार कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण पण्डितले रातोपाटीलाई बताए ।

उनले भने, ‘बजेट कम छ । अर्कोतिर चुरे पहाड रहेको एउटा डाँडोमा १२ घुम्ती छन् । त्यहाँ जति बेला पनि पहिरो जान्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप