१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. बक्यौता नतिर्ने उद्योगीको विद्युत् लाइन काट्ने ऊर्जा राज्यमन्त्रीको चेतावनी
ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर) तामाङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्न आफूले नेतृत्व गर्ने बताएका छन् । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने तामाङले घोषणा गरे ।
२. शेखर–गगन सम्बन्ध कसरी बिग्रियो ?
नेपाली कांग्रेसको २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका डा. शेखर कोइराला र गगन थापाको सम्बन्ध पछिल्लो समय बिग्रिएको छ । महाधिवेशनमा डा। कोइराला सभापतिमा पराजित भए । थापा भने लोकप्रिय मत ल्याएर महामन्त्रीमा निर्वाचित भए । त्यसपछि उनीहरूको सम्बन्ध बिस्तारै बिग्रिँदै गएको हो ।
३. ठगी आरोपमा बानेश्वरबाट महिला पक्राउ
ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् ।
४. टोखामा सुटर पक्राउ गर्न प्रहरीले चलायो गोली
राजधानीको टोखामा प्रहरीले गोली आइतबार एक सुटरलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार गोली चलाएको हो । यस क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
५. बानेश्वरमा झडप हुँदा डीएसपी घाइते
काठमाडौँको नयाँ बानेश्वरमा आइतबार झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आइतबार आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।
६. एमाले सचिवालय बैठकका यी हुन् ८ निर्णय
नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ बुँदे निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
७. सरकारबारे कठोर बन्दै जसपा नेपाल
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबारे कठोर बन्दै गएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार पूर्वाग्रही हिसाबले एउटै अपराध अन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण कार्यमा संलग्न रहेको आरोप लगाएका छन् ।
८. एनआरएनएको एकता महाधिवेशन गराउन सरकारले तोक्यो प्रतिनिधि
शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन सरकारले प्रतिनिधि तोकेको छ । सर्वोच्च अदालतको परमादेश र फैसला कार्यान्वयन निर्देशनालयले हालै गरेको पत्राचारका आधारमा परराष्ट्र मन्त्रालयले कानुन मन्त्रालयको सिफारिसमा सहसचिव अरुणा जोशीलाई प्रतिनिधि तोकेको हो ।
९. गाँजा किन्ने विषयमा विवाद हुँदा हत्या
काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा फागुन १४ मा मृत भेटिएका अडवीर राईको हत्या आरोपमा दोलखाको मेलुङ गाउँपालिका घर भएका विराट ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको हो । गाँजा किनबेचको विषयमा विवाद हुँदा ५० वर्षीय अडवीरको हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
१०. माओवादीले किन हेरफेर गर्यो अभियानको समय तालिका ?
नेकपा माओवादी केन्द्रले फेरि ‘जनतासँग माओवादीः तराई-मधेस जागरण अभियान’ को समय तालिका हेरफेर गरेको छ । शनिबार सर्लाहीदेखिका कार्यक्रम १/१ दिन पछि सारेर तालिका हेरफेर गरेको माओवादीले फेरि अर्को सर्कुलर पठाएर महोत्तरीदेखिको कार्यक्रमको समय तालिका परिवर्तन गरिएको जनाएको छ ।
११. विप्लवले गरे भेडा फार्मको उद्घाटन
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले भेडा फार्मको उद्घाटन गरेका छन् । आइतबार महासचिव सीले कर्णाली प्रदेशको रुपसा चिसापानी कालिकोटमा भेडा फार्मको उद्घाटन गरेका हुन् ।
१२. पोखरामा जलन अस्पताल बनाउने मेयरको घोषणा
फागुन ३ गते पोखरा भ्रमण वर्ष घोषणा समारोहमा बेलुन विस्फोट भएर घाइते भएपछि मेयर धनराज आचार्यले कीर्तिपुरमा उपचार गराए । शरीरमा करिब ६ प्रतिशत हाराहारी पोलिएपछि उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको हो ।