सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता

आइतबार, १८ फागुन २०८१, २३ : ०१
आइतबार, १८ फागुन २०८१

पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन २७ गतेदेखि २९ गतेसम्म दोस्रो अध्यक्ष कप खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

पालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो । गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले स्थापना दिवस एकीकृत रुपमा मनाउन लागेको बताए । ‘यसअघि भलिबल र स्थापना दिवस फरक मितिमा गरिन्थ्यो । त्यसले खर्च बढायो,’ उनले भने, ‘यसपालि सँगै गर्ने र मितव्ययी हुने गरी निर्णय गरिएको छ ।’

प्रतियोगितामा गण्डकी प्रदेशका ८५ वटै पालिकाका वडाहरूले सिफारिसका आधारमा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिता गाउँपालिकाको वडा नम्बर ३ याङ्जाकोटमा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमिफाइनल पुगेका बाँकी २ टिमले पनि ५० हजारका दरले पुरस्कार पाउने छन् । यस्तै विधागततर्फ तर्फ उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने पालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

पालिका स्थापना दिवसमा शिक्षकहरूबिच हाजिरी जवाफ पनि हुनेछ । प्रतियोगितामा पहिलो हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार दिइने छ । सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारी, किसान, शिक्षक र स्वास्थ्यकर्मी लगायतलाई सम्मान गर्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप