सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

एक वर्षभित्र पोखरामा जलन अस्पताल बनाउने मेयरको घोषणा

आइतबार, १८ फागुन २०८१, २२ : ३०
आइतबार, १८ फागुन २०८१

पोखरा । फागुन ३ गते पोखरा भ्रमण वर्ष घोषणा समारोहमा बेलुन विस्फोट भएर घाइते भएपछि मेयर धनराज आचार्यले कीर्तिपुरमा उपचार गराए । शरीरमा करिब ६ प्रतिशत हाराहारी पोलिएपछि उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको हो ।

उपचार गराएर फर्किएपछि मेयर आचार्यले पोखरामै जलन उपचार गर्ने अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् । पोखरामा भएको नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ शीर्षकको सेसनमा आचार्यले पोखरामै जलनको सुविधा सम्पन्न उपचार युनिट बनाउने घोषणा गरेका हुन् ।

‘पोखरामा अब एक वर्षभित्र सुविधा सम्पन्न जलनको युनिट बन्छ भनेर पीडाकै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यानलाई पनि भन्छु, नेपाल सरकारलाई पनि भन्छु । स्थानीय सरकारको प्रमुख भएकोले त्यो अभियान म चलाउँछु । एक वर्षभित्रमा जलनको एउटा सुविधा सम्पन्न युनिट बनाउँछु भनेर प्रतिबद्धता जनाएको छु ।’

अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले जलन अस्पताल बनाउनै पर्ने बताएका हुन् । ‘कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि पर्ने भएकाले बाध्यात्मक हिसाबले सुविधा सम्पन्न युनिट अथवा अस्पताल बनाउनुपर्छ भन्ने प्रतिबद्धता मेरो छ,’ उनले भने ।

तर पोखरामा नेपालकै सबैभन्दा पुरानो जलन उपचार गर्ने अस्पताल छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देशकै पुरानो जलन उपचार कक्ष रहेको डा. पीयूष गिरीले बताए । उक्त युनिट सन् १९८८ मा स्थापना भएको हो । जहाँ जलनका बिरामी राख्ने ६० शय्या छन् । गिरीका अनुसार दैनिक ७ जना जलन सम्बन्धी बिरामीले पोखराबाट उपचार लिइरहेका छन् । मेयर आचार्यले उक्त कक्षलाई सुविधा सम्पन्न बनाउन आवश्यक रहेको बताए ।

‘जलनको एउटा पनि घटना नघटे हुन्थ्यो । तर घट्दाखेरि निकै ठुलो म्यानपावर र अरू चिज चाहिने रहेछ,’ उनी थप्छन्, ‘अर्थमन्त्री ज्यूसँग पनि राम्रैसँग छलफल गर्‍यौँ । हामी जलेको कारणले मात्रै होइन, सरकारले सुरु गरिसकेको हो । सातै प्रदेशको सदरमुकामका अस्पतालहरूमा अहिले कीर्तिपुरले दिए जति सेवा आउने वर्षभित्र दिन सकौँ ।’

कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन विभाग निर्देशक डा. किरण नकर्मीले जलनका घटनामा आत्तिएका कारण बढी समस्या आएको बताए । ‘आगो लागेपछि आत्तिएर भाग्न हुँदैन । भुइँमा लड्नुपर्छ । लडीबुडी गर्नुपर्छ । जिउमा भएको लुगा र गहना खोल्नुपर्छ,’ उनले भने, ‘तातोपना गुम्सिएर घाउ गहिरो हुन्छ । पोलेको ठाउँमा पानी खन्याउनुपर्छ । त्यसले घाउ गहिरो हुँदैन । तर, त्यो कुरा धेरै भएको पाइँदैन ।’ उनले नेपालमा जलनका ७० प्रतिशत घटना घरभित्रै हुने गरेको सुनाए ।

देशभर ९० वटा केन्द्र भएमा जलनको प्राथमिक उपचार घटना भएको दुई घण्टाभित्रै गर्न सकिने उनले बताए । ‘जल्ने बित्तिकै हेल्थ पोस्ट, जिल्ला अस्पतालमा उपचार गर्न सकिन्छ । देशभर ९० वटा केन्द्र भएमा २ घण्टामा प्राथमिक उपचार पाउन सकिन्छ,’ उनले भने, ‘त्यसपछि २० प्रतिशत जलेका घटना प्रादेशिक अस्पतालमा गर्न सकिन्छ र त्योभन्दा बढी भए केन्द्रमा लैजान सकिन्छ ।’ कीर्तिपुर अस्पतालमा जलन उपचारका लागि हाल ३५ शय्या रहेको र दुई वर्षभित्र ७० शय्याको नेपाल जलन उपचार केन्द्र बनाउने योजना रहेको उनले जानकारी दिए ।

जलनविरुद्धका अभियन्ता उज्वलविक्रम थापा वार्षिक ७० हजार नेपालीले व्यहोनुपर्ने अमानवीय नरसंहारको रूपमा रहेको व्याख्या गरे । 

 ‘मनुष्य जलेपछि कति पीडादायी हुन्छ भन्ने कुरा हरेक व्यक्तिको समान हुन्छ । एउटै गल्तीले जल्ने गर्छन् । मलाई हुँदैन भन्ने भ्रममा नबाँच्नुहोला,’ उनी भन्छन्, ‘कसैलाई पनि कुनै समय पर्न सक्ने भएकाले यसलाई रोग होइन दुर्घटना भनिएको हो ।’ आगोसँग नजिक हुने श्रमिकको बीमा गरिदिन उनले व्यवसायीलाई आग्रह गरे । पेट्रोल पम्पमा मोबाइल नचलाउन, जन्मदिनमा प्रज्वलनशील वस्तु प्रयोग नगर्न, भान्सामा हुँदा सामाजिक सञ्जालमा व्यस्त नहुन, कोठामा हिटर बालेर नछोड्न उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप