प्रतिवेदन माथि ‘कर्मकाण्डी छलफल’, ६ वटै समूहको नेतृत्वमा ढकाल पक्ष हाबी

विराटनगर । नेकपा (एमाले) मोरङको दसौँ अधिवेशनको बन्द सत्रमा नेता विनोद ढकाल पक्ष हाबी भएको छ । शनिबार अधिवेशन उद्घाटन भएको हो । आइतबार चलेको बन्द सत्रमा भने संगठन समिति मोरङका अध्यक्ष बाबुराम कार्कीले राजनीतिक तथा सांगठनिक प्रतिवेदन र लेखा कमिटीका संयोजक हेमराज सुवेदीले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
सो प्रतिवेदन माथिको छलफलका लागि ६ वटा समूह निर्माण भएको थियो । उक्त समूहले छानेका ६ जनै टोली नेता ढकाल समूहका हुन् । निर्वाचन क्षेत्रस्तरीय गठन भएको टोली नेताको १ नम्बर टोलीमा गोपाल प्रसाद रिमाल, २ नम्बरको महेन्द्र विष्ट, ३ भोला अधिकारी, ४ को सुरज न्यौपाने, ५ को सन्तोष साह र ६ नम्बरको सागर थापा टोली नेता भएका हुन् । छलफलले प्रतिवेदनहरू पारित गरेको छ ।
यद्यपि प्रतिवेदनमाथि धेरै प्रतिनिधिले अध्ययन नै नगरेको एक नेताले बताए । ‘जिल्ला समितिमा समेत छलफल नगरी ल्याएको प्रतिवेदन नपढ्ने भनेर धेरैले भने,’ स्रोतले भन्यो, ‘प्रतिवेदन वैधानिक हिसाबले भन्ने हो भने फेल भयो । तर, बाबुराम कार्कीको अनुहार हेरेर पारित भएको भनियो ।’
प्रतिवेदनमा मोरङमा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसलाई लिइएको छ । केन्द्र र प्रदेश सरकारमा सत्ता सहकार्य भए पनि चुनावी प्रतिस्पर्धी दल नेपाली कांग्रेस नै भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा नेकपा माओवादी केन्द्रलाई उग्रवामपन्थ विगत र चरम दक्षिणपन्थ अवसरवादी नीति वर्तमानमा भएकोले उक्त पार्टीले देश विकास र जनताको भविष्य निर्माण गर्ने अभियानको नेतृत्व गर्न सक्ने अवस्था नरहेको उल्लेख छ ।
आर्थिक प्रतिवेदनमा भने एमालेले आर्थिक वर्ष २०७८/७९ देखि चालू आर्थिक वर्षको माघसम्ममा २ करोड ५२ लाख ४९ हजार ४८१ रुपैयाँ आम्दानी गरेको उल्लेख छ । सोही अवधिमा खर्च भने २ करोड २२ लाख ९२ हजार ८२१ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । एमालेले सदस्यता शुल्कबाट १ करोड ५० लाख २५ हजार ९३० रुपैयाँ, लेविबाट ९८ लाख ३३ हजार ४२१ रुपैयाँ, विशेष आर्थिक सहयोग १८ हजार ८९५ रुपैयाँ तथा अन्य आम्दानी गरी सो आम्दानी गरेको देखाएको छ । एमाले मोरङको पार्टी सदस्य संख्या १८ हजार ७१२ जना रहेको छ ।
- अधिवेशन स्थलमा नाराबाजी, निर्वाचन प्रक्रिया रोकियो
यसैबिच एमाले मोरङको मनोनीत प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै ढकाल समूहले अधिवेशन स्थलमा नाराबाजी गरेको छ । अधिवेशनका लागि ४६ जना प्रतिनिधि मनोनीत गरिएको थियो । विधि र प्रक्रिया विपरीत आफ्ना नाता गोतालाई प्रतिनिधि बनाएको भन्दै सो पक्षले प्रक्रियाबाट आउनुपर्ने माग गर्दै नाराबाजी गरेको हो ।
‘विधि र प्रक्रिया मिचेर एकलौटी ढंगले प्रतिनिधि छनौट गरियो,’ ढकाल पक्षका नेता सागर थापाले भने, ‘जिल्ला समितिको बैठकबाट पारित भएर नाम आउनु पर्छ । कोही दुई, चार जना नेता बसेर मनोनीत गरेको विषय मान्य हुँदैन ।’
एमालेले छनौट गरेका प्रतिनिधिमध्ये कतिपय पराजितहरू पनि रहेको, नेताहरूले आफ्नो नातागोता र सवारी चालकहरू ल्याएको सो पक्षको आरोप छ । ‘संस्थापन पक्षले आफू हार्ने डरले एकलौटी ढंगले मनोनीत गरेको देखियो,’ नाराबाजीमा संलग्न एक नेताले भने, ‘ड्राइभरदेखि नातागोतालाई पनि मनोनीत गरियो ।’ एमाले मोरङले शुक्रबार मनोनीत प्रतिनिधिको अन्तिम टुंगो लगाएको थियो । निर्वाचन प्रक्रिया सुरु गर्न लागेपछि भएको नाराबाजीका कारण सोमबार बिहानसम्मका लागि प्रक्रिया स्थगित गरिएको छ ।
- दुई पक्षबिच आ–आफ्नो पक्षमा प्रचार
उता, नयाँ नेतृत्व चयनका लागि दुई पक्षले छुट्टाछुट्टै प्यानल बनाउने भएको छ । आइतबार दिनभर अधिवेशन स्थलमा अध्यक्षका आकांक्षी राजकुमार ओझा र अजम्बर राईले प्रतिनिधिहरूसँग भोट माग्न सुरु गरेका छन् । ओझाले आफू नै पार्टीको आधिकारिक उम्मेदवार भएको दाबी गरे । उनले अध्यक्षसहित अन्य पदमा आफ्नो प्यानल तयार भएको बताए । ओझाका अनुसार उनको प्यानलमा उपाध्यक्ष शान्तिकुमारी लिम्बू, सचिव रविन थापा, उप–सचिव एर्जालाल राजवंशीको नाम टुंगिएको छ । ओझा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोजेका उम्मेदवार हुन् ।
उता, अध्यक्षका अर्का प्रतिस्पर्धी अजम्बर राईले निर्वाचनको प्रक्रियाबाट नै नेतृत्व चयन हुने देखिएको बताए । ‘अध्यक्षमा मेरो दाबेदारी हो,’ उनले भने, ‘निर्वाचनबाट नेतृत्व चयन हुनेछ । आन्तरिक चुनाव हुनु राम्रो हो । सहमतिको म विरोधी होइन । मिल्दोजुल्दो नाम आए मानेर जान्छु तर त्यो नाम आएको छैन । सहमति गरौँ भनेर कुनै नेताले मलाई भन्नु भएको छैन ।’ राईको प्यानलमा उपाध्यक्ष सागर थापा, सचिव सोम थापा, उप–सचिवमा उषा झा र सन्तोष बान्तवा रहेको चर्चा छ । राईलाई नेता विनोद ढकाल पक्षले सहयोग गरेको छ ।
यसअघि ओलीले चाहेअनुरुप नहुँदा भोजपुर, इलाम र तेह्रथुममा निर्वाचनबाटै नयाँ नेतृत्व चयन भएको थियो । जसमध्ये तेह्रथुममा संस्थापन इतर पक्षले जितेको थियो । भने इलाम र भोजपुरमा संस्थापनले रोजेकै उम्मेदवार विजयी भएका थिए । मोरङमा संस्थापन इतर समूहको वर्चस्व रहेको बताइन्छ । मोरङमा १७ पालिकाका १५१ वडाबाट ६९२ जना, २३ जनवर्गीय संगठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलितबाट ५१ जना र मनोनीत ४६ जना गरी ९१४ जना प्रतिनिधि छन् । मोरङमा एमालेमा इतर समूहको नेतृत्व एमाले मोरङका पूर्व अध्यक्ष विनोद ढकालले गर्दै आएका छन् । उनको साथमा पार्टीका केन्द्रीय सदस्यहरू रामलाल साह, यज्ञराज बाँस्कोटा, नैनकला ओझालगायत छन् ।
संस्थापन पक्षबाट भने पार्टी उपाध्यक्ष गुरु बराल, नेता भानुभक्त ढकाल, केन्द्रीय सदस्य इन्चार्ज जीवन घिमिरे, लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले लबिङ गरिरहेका छन् ।
अध्यक्षका आकांक्षी राई तत्कालीन दुलारी गाविसका अध्यक्ष हुन् । यस्तै तत्कालीन जिल्ला विकास समितिका सदस्य र हालका जिल्ला समन्वय समितिका प्रमुख हुन् । उनी पूर्व शिक्षक समेत हुन् ।
संस्थापन समूहबाट अध्यक्षको आकांक्षी रहेका ओझा कोशी प्रदेशका पूर्व मन्त्री तथा सांसद हुन् । दुवै जना सुन्दरहरैंचा नगरपालिकाका हुन् ।
निर्वाचन कार्यक्रम सार्वजनिक
नयाँ नेतृत्व निर्वाचित गर्न गठन गरिएको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन समितिले बिहान ८ बजे मतदाता नामावली प्रकासन गर्ने र दिउँसो २ः४५ बजेदेखि ५ः०० बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए ।
निर्वाचन समितिलाई नेताहरुको सुझाव र निर्देशनका आधारमा निर्वाचन कार्यतालिका संशोधन गर्ने अधिकार रहने भएकोले कार्यतालिका सार्वजनिक हुँदैमा मतदानमा गइहाल्छ भन्ने निश्चित नहुने नेताहरुको बुझाइ छ । यस बिचमा पनि सहमतीको सम्भावनाहरु खोजी गरिने भएकोले केही दिन अधिवेशन लम्बिन सक्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको १० अर्ब ७३ करोड हिनामिना, २५ कम्पनीमा ९ अर्ब ६२ करोड रुपैयाँ गैरकानुनी लगानी
-
अमेरिकामा नभड्किनु भनेर जेलेन्स्कीलाई पहिल्यै दिइएको थियो चेतावनी
-
कांग्रेसका तीन वटा कार्यक्रममा शेखर अनुपस्थित, पूर्णबहादुरसँग वरीयता विवाद
-
काठमाडौँ र भक्तपुरमा चोरी
-
जुवातास खेलिरहेका १५ जना पक्राउ
-
लेनदेनको विषयमा हत्या गरी फरार युवक पक्राउ