सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

कालोपत्रेका लागि दबाब दिन सडकमै वडा कार्यालय

आइतबार, १८ फागुन २०८१, २० : ०३
आइतबार, १८ फागुन २०८१

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ ले सडकमा कालोपत्रेका लागि दबाब दिन आइतबारदेखि सडकमै वडा कार्यालय स्थापना गरेको छ।

प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत बंक–नायल–बुडर सडकखण्ड अन्तर्गत बंक क्याम्पस चोकदेखि दोमिल्ला सम्मको सडक यथाशीघ्र कालोपत्रे सुरु गर्न दबाब दिने उद्देश्यले सडकमा वडा कार्यालय स्थापना गरिएको हो।

बंक–क्याम्पस चोकदेखि दोमिल्लासम्मको सडक कालोपत्रे गर्न निर्माण गर्ने जिम्मा सन्तोषी ट्रेडिङ जे.भी.ले पाएको छ । तर लामो समयदेखि सडक कालोपत्रे नहुँदा त्यहाँका स्थानीयले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मेको समस्या झेलीरहनु परेको छ।

476498411_2391139344603530_2084414966524276298_n

स्थानीय पदमा पाण्डेयका अनुसार धोएका लुगा कपडा सडकको धुलोले बाहिर सुकाउन नसकिने अवस्था छ। खाना, पानीमा समेत धुलोले असर गर्दा खानपिनमा समेत समस्या सिर्जना भएको उनले गुनासो गरिन्।

‘हामीले धोएका लुगा धुलोले फोहोर हुन्छन्, खाना, पानीमा त्यस्तै समस्या छ, घरबाट बाहिर निस्किन सकिने अवस्था छैन, बर्खामा, हिलो र हिउँदको धुलोले हैरानी छ, बालबच्चालाई हिँडडुल गर्न समस्या छ, धुलोले खाएको कयौँ साल भएँ, ठेकेदारले पिचको काम अगाडी बढाएन, सरकारले पनि ध्यान दिएन,’ उनले गुनासो गरिन्।

सो सडक प्रदेश सरकार अन्तर्गत निर्माणाधीन अवस्था रहेका छ। वडा कार्यालयले सडक कालोपत्रेका लागि पटक पटक आवाज उठाए पनि अहिलेसम्म काम सुरु नहुँदा बाध्य भएर अहिले यसो कदम चालेको वडा अध्यक्ष अर्जुन साउँदको भनाई छ।

476503249_588586934336523_6617286241848669714_n

स्थानीयहरू विकास निर्माणलाई सहज बनाउन वडा कार्यालयको यो कदमलाई स्थानीयले सकारात्मक रूपमा लिइरहेका छन्। वडा कार्यालयले सबै सरोकारवालालाई निर्माण कार्यमा सहकार्य गर्न अनुरोध गर्दै सडक निर्माण कार्य अविलम्ब अघि बढाउन आग्रह गरेको छ।

‘यो सडक कालोपत्रेका लागि सम्बन्धित निकायले छिटो पहल गरेर काम अगाडी बढाउनुपर्छ, हामीले हाम्रो वडा कार्यालय सडकमा ल्याएका छौँ, यही सडकमा कार्यालय स्थापना गरेर काम गरिरहेका छौँ, यो हाम्रो दबाबलाई गम्भीर रूपमा लिनुपर्छ, कहिलेसम्म यहाँका जनताले धुलो र हिलोसँग सामना गर्नुपर्ने हो?,’ अध्यक्ष साउँदले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप