तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा सास्ती : पुनः ठेक्का खोल्ने तयारी
_bRbEOjZKf0.jpg)
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन् । विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौता अनुसारको काम नहुँदा यात्रुले धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको हो ।
वर्षायाममा मालवाहक तथा यात्रुवाहक सवारीसाधन हिलोमा फस्दा हप्तौँसम्म राजमार्ग अवरुद्ध हुँदै आएका छन् । पुनःनिर्माणका लागि भत्काइएका सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते पनि हुने गरेका छन् । उक्त खण्डमा समयसीमाको करिब एघार महिना नाघिसक्दा पनि निर्माण कम्पनीद्वारा सम्झौता अनुसार काम नहुँदा सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको छ । यसले निर्माण कहिले पुनःसञ्चालन हुन्छ भन्ने अन्योल बढेको स्थानीय बताउँछन् ।
जिल्ला सदरमुकाम धुलिखेलबाट खावासम्मको उक्त खण्ड विस्तारका लागि गौरी–पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो । कम्पनीले विसं २०८० चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७९ जेठ २० मा रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो ।
पछिल्लो वर्षदेखि उक्त खण्डमा निर्माण बन्द भई अलपत्र परेको छ । सडक डिभिजन कार्यालय कार्यालयले गत बिहीबार ठेक्का रद्द गरेपछि निर्माण अनिश्चित बनेको हो । सडक उपभोक्ताले पटक–पटक गुनासो गर्नुका साथै यात्रुले सास्ती व्यहोरेपछि संसद्को पूर्वाधार समितिले अनुगमन गरेको थियो ।
सडक डिभिजनको ताकेता पछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लो पटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । अब प्रक्रिया पुर्याएर केही हप्तामा पुनः ठेक्का खोल्ने तयारी गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताए ।
उहाँका अनुसार भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत गरी पुनः ठेक्का लगाइनेछ । हालसम्म २५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ ।
हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा ‘कटिङ’को काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ‘ड्रेनवाल’ लगाउने काम गरिएको छ । “जिपलाइनबाट तल खावासम्मको भत्काइएको सडकमध्ये करिब एक किलोमिटर भागमा कटिङको काम गर्न बाँकी छ”, उनले भने ।
गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि वर्षामा सबै बगाएर खण्डहर बनाएको थियो । पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आएका केदार ढुङ्गानाले करिब दुई घण्टा सडक जाममा परेको बताए । “उक्त खण्ड निर्माण यथाशीघ्र सम्पन्न नभए यो बाटो भएर वर्षायामामा यात्रा गर्न थप सास्ती हुनेछ”, उनले भने । यस्तै राजमार्गमा चल्ने दुईपाङ्ग्रे सवारीसाधनलाई उक्त खण्ड पार गर्न निकै हम्मेहम्मे पर्ने गरेको उनको भनाइ छ ।
केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो ।
अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही खण्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको १० अर्ब ७३ करोड हिनामिना, २५ कम्पनीमा ९ अर्ब ६२ करोड रुपैयाँ गैरकानुनी लगानी
-
अमेरिकामा नभड्किनु भनेर जेलेन्स्कीलाई पहिल्यै दिइएको थियो चेतावनी
-
कांग्रेसका तीन वटा कार्यक्रममा शेखर अनुपस्थित, पूर्णबहादुरसँग वरीयता विवाद
-
काठमाडौँ र भक्तपुरमा चोरी
-
जुवातास खेलिरहेका १५ जना पक्राउ
-
लेनदेनको विषयमा हत्या गरी फरार युवक पक्राउ