बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुलीको बिदाइ

आइतबार, १८ फागुन २०८१, १८ : ०५
आइतबार, १८ फागुन २०८१

विराटनगर । उमेर हदका कारण अनिवार्य अवकाशमा गएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको बिदाइ गरिएको छ । आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको बिदाइ गरिएको हो । 

कार्यक्रममा मेयर नागेश कोइरालाले अबीर, टीका र खादा लगाएर मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पराजुलीले अमिट छाप छाडेर गएको स्मरण गरे । 

मेयर कोइरालाले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्धलाई थप मजबुत बनाउन पराजुलीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले जनप्रतिनिधिले अघि सारेका योजना कार्यान्वयनमा पराजुली नेतृत्वको कर्मचारी संयन्त्रले सधैँ सहयोग गरेको उल्लेख गरे । 

निजामती सेवामा साढे ३ दशकभन्दा लामो अनुभव संगालेका पराजुलीबाट विराटनगरले भविष्यमा पनि साथ र सहयोग प्राप्त गर्ने मेयर कोइरालाले विश्वास व्यक्त गरे । 

त्यस्तै पराजुलीले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिए । जनप्रतिनिधिसँग जनताका असीमित चाहना हुने भएकाले कर्मचारीले जनप्रतिनिधिका समस्या बुझेर काम गर्नु आवश्यक रहेको उनले औँल्याए । 

मोरङको साविक हसन्दह स्थायी घर भएका पराजुली लेखापालबाट सरकारी सेवा प्रवेश गरी सहसचिवबाट अवकाश भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप