सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

यती डिस्टिलरीद्वारा कलाकार श्रेष्ठ सम्मानित

आइतबार, १८ फागुन २०८१, १७ : १३
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । यती डिस्टिलरी प्रालिले अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त पौभा कलाकार समुन्द्रमान सिं श्रेष्ठलाई सम्मानित गरेको छ । नेपाली परम्परागत कलाको संरक्षण र विश्वस्तरमा यसको प्रवर्द्धनमा उनले पुर्‍याएको योगदानका लागि सम्मानित गरिएको कम्पनीले जनाएको छ । 

यो सम्मान ओल्ड दरबार ह्विस्की र श्रेष्ठबिच उनको कलाकृति ‘द मिथिकल क्रेचर्स’ लाई उक्त ब्रान्डको पछिल्लो संस्करण फिफ्टिन इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीमा समावेश गर्नका लागि भएको पछिल्लो सहकार्यको उत्सव पनि भएको कम्पनीको भनाइ छ । 

पौभा कला परम्परामा आधारित उक्त कलाकृतिले नेपाली धरोहरमा गहिरोसँग जरा गाडेका मिथकीय पात्रहरूलाई चित्रित गरेको छ ।

‘यो कलाकृतिले सजीव र निर्जीव दुवै जगत्का प्रतीकात्मक तथा अलौकिक जीवजन्तुलाई चित्रण गर्दै नेपालको सम्पन्नशाली कलात्मक धरोहरको गुणगान गर्दछ,’ श्रेष्ठले भने, ‘यो कलाकृतिले मयूर, श्वेतशार्दूल, नीलशार्दूलजस्ता श्रद्धेय अनुप्रतीकहरूप्रति सम्मान प्रकट गर्नुका साथै पृथ्वी, जल, अग्नि, वायु (बादलद्वारा प्रतिनिधित्व गराइएको) र आकाश (गाढा पृष्ठभूमिमा चित्रित) जस्ता पञ्चतत्त्वलाई पनि एकीकृत रूपमा समेटेको छ । यो हाम्रा पुर्खा तथा अग्रज कलाकारहरुप्रतिको सम्मान र नेपाली सांस्कृतिक पहिचानको प्रतिविम्ब दुवै हो ।’ 

सम्मान कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले नेपाली कलाकारहरूलाई समर्थन र सांस्कृतिक धरोहरको संरक्षण गर्ने कम्पनीको प्रतिबद्धता जनाए ।

सन् १९८० मा काठमाडौंको रक्तकालीमा जन्मिएका समुन्द्रमान सिंह श्रेष्ठले १४ वर्षको उमेरमै औपचारिक कला प्रशिक्षण प्रारम्भ गरे । उनी परम्परागत नेवारी पौभा चित्रकला विधिलाई समकालीन शैलीमा मिसाएर देवीदेवता र सांस्कृतिक कथाको दृश्यात्मक चित्रण गर्नमा अब्बल मानिन्छन् । उनका पुरस्कृत कलाकृतिहरू विश्वका प्रतिष्ठित संग्रहालयहरूमा सङ्ग्रहित छन्, जसले उहाँलाई नेपालका सर्वाधिक प्रभावशाली कलाकारमध्ये एक बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप