सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले स्ववियु निर्वाचनमा समन्वय गर्न सात प्रदेशमा खटायो कमान्डर

आइतबार, १८ फागुन २०८१, १७ : ०५
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले आगामी चैत ५ गतेका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा समन्वय गर्न नेपाली कांग्रेसले सात प्रदेशमा कमान्डर खटाएको छ । चार प्रदेशमा सहमहामन्त्रीलाई कमान्डर बनाइएको छ भने तीन प्रदेशमा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिइएको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी दिएका थिए । 

महामन्त्री शर्मासहितका नेताहरूको छलफलपछि सातै प्रदेशमा संयोजनका लागि नेताहरू खटाइएको हो । कांग्रेसले यसबारे औपचारिक विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमलाई जानकारी दिएको छैन । पार्टी केन्द्रीय कार्यालयका अनुसार कोशी प्रदेशमा सहमहामन्त्री भिष्मराज आङ्देम्बे, मधेस प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, बागमती प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र गण्डकी प्रदेशमा सहमहामन्त्री जीवन परियारलाई कमान्डरको जिम्मेवारी दिइएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य डा।चन्द्रकान्त भण्डारी, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउदलाई कमान्डरको जिम्मेवारी दिइएको छ ।  त्यस्तै स्ववियु निर्वाचनमा पार्टी केन्द्रीय कार्यालय सानेपाबाट संयोजन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य नानु बास्तोलालाई दिइएको छ । 

स्ववियु निर्वाचनको संयोजन गर्ने जिम्मेवारी पाएका महामन्त्री शर्माले पार्टीको भ्रातृ संस्था स्ववियु निर्वाचनमा होमिँदै गर्दा पार्टीले चासो राख्नु स्वाभाविक भएको प्रतिक्रिया दिए । उनले रातोपाटीसँग भने, ‘भ्रातृसंस्था स्ववियु निर्वाचन लड्दै गर्दा पार्टीले चासो लिनु स्वाभाविक हो । पार्टीले आन्तरिक रूपमा अवश्य पनि तयारी गर्छ नै । मिडियालाई नै दिनेगरी सूचना छैन ।’ 

कांग्रेसले औपचारिक निर्णय गर्दा पार्टी भित्र र बाहिरबाट आलोचना हुने डरले अनौपचारिक रूपमा कमान्डर खटाउने र काम गर्ने गरिरहेको छ ।  प्रदेशका कमान्डहरूलाई नेविसंघभित्र देखिएको विवाद मिलाउने र सर्वसम्मत उम्मेदवार बनाउने जिम्मेवारी दिइएको छ ।

कांग्रेसमा पार्टीमा जस्तै संस्थापन र नेता डा.शेखर कोइराला समूहका विद्यार्थी नेताहरूबिच चर्को विवाद छ । संस्थापनले जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएपछि डा.कोइराला समूहले पनि समानान्तर रूपमा प्रतिनिधि खटाएपछि विवाद तल्लो तहसम्म पुगेको छ ।  त्रिभुवन विश्वविद्यालयले ६२ आंगिक एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप