सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा कसरी बिग्रियो शेखर–गगन सम्बन्ध ?

दुई वर्षदेखि गुटको बैठकमा गगनलाई ‘नो इन्ट्री’
आइतबार, १८ फागुन २०८१, १७ : ३०
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । नेपाली कांग्रेसको २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका डा. शेखर कोइराला र गगन थापाको सम्बन्ध पछिल्लो समय बिग्रिएको छ । 

महाधिवेशनमा डा. कोइराला सभापतिमा पराजित भए । थापा भने लोकप्रिय मत ल्याएर महामन्त्रीमा निर्वाचित भए । त्यसपछि उनीहरूको सम्बन्ध बिस्तारै बिग्रिँदै गएको हो । 

दुई वर्षदेखि डा. कोइरालाले राख्ने गरेको गुटको बैठकमा थापा सहभागी छैनन् । फरक–फरक समूहमा रहेका उनीहरू १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा एकै ठाउँमा उभिएका थिए । यद्यपि, उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन । 

२०७९ मंसिरमा भएको संघ र प्रदेशको निर्वाचनपछि संसदीय दलको नेतामा इतर समूहबाट को उम्मेदवार बन्ने भन्नेमा विवाद भयो । दुई दिनको निरन्तर छलफलबाट महामन्त्री थापा इतर समूहबाट संसदीय दलको नेताको उम्मेदवार बन्ने निर्णय भयो । दुई नेताबिच १५औँ महाधिवेशनमा डा. कोइराला सभापतिको उम्मेदवार हुने र संसदीय दलमा थापा उम्मेदवार हुने गरी सहमति बन्यो । त्यसबेला सहमतिपछि सांसद डा. सुनिल शर्माले भनेका थिए, ‘१५ औँ महाधिवेशनको सभापतिमा डा.शेखर कोइरालालाई गगन थापाले प्रस्ताव गर्ने र अहिले डा.शेखर कोइरालाले संसदीय दलमा गगन थापालाई समर्थन गर्ने सहमति भयो ।’

यस्तो सहमति भए पनि २०७९ पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा डा. शेखरबाट आफूलाई सहयोग नभएको गुनासो थापाले आफ्ना निकटस्थसँग गर्दै आएका छन् । 

महामन्त्री थापा निकट नेताहरूका अनुसार प्रतिनिधि सभामा तत्कालीन अवस्थामा रहेका कांग्रेसका ८९ सांसदमध्ये इतर समूहसँग ३१ सांसद थिए । यद्यपि निर्वाचनमा आफ्नो जम्मा २५ मत आएपछि डा. शेखरले सहयोग नगरेकोमा थापा ढुक्क भए । यद्यपि, त्यो विषयमा उनले मुख फोडेर केही भनेनन् । 

निर्वाचनमा आफ्नो समूहको पूरा मत नपाएपछि गुटको नेतृत्व गरेको नेताको हैसियतले डा. कोइरालाले दलको नेताको निर्वाचनमा किन आफ्नो समूहमा रहेका सांसदहरू भन्दा थोरै मत आयो र कसरी यस्तो भयो भनेर सहानुभूति राख्न गुटको बैठक राख्न त परैको कुरा, मौखिक रूपमा पनि नसोधेको आफू निकटका नेताहरूसँग थापाले ब्रिफिङ गर्छन् । 

त्यसको विपरीत ‘बल्ल आफ्नो हैसियत देख्यो होला । शक्ति कस्तो हुने रैछ भन्ने चाल पायो होला’ भनेर आफू निकटका सँग कोइरालाले भनेपछि थापा थप चिढिएको बताइन्छ । ‘नेता भइसकेपछि आफ्नो गुटको मत कसरी बाँडियो ? सबै मत एक ठाउँमा किन आएन भनेर सोधखोज गर्नुपर्ने हो,’ गगन निकट एक नेताले भने, ‘तर यस विपरीत कोइरालाले त बल्ल चाल पायो होला भनेर उल्टै काखी बजाएजस्तो गरिदिनुभएछ ।’

त्यसपछि महामन्त्री थापा र डा. कोइराला आ–आफ्नै तरिकाले अगाडि बढ्न लागे । डा. कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबिचमा सभापति र गुटको नेताका हैसियतमा संवाद र छलफल सुरु भयो । डा. शेखरले बिस्तारै गुटका कोर मिटिङबाट महामन्त्री थापालाई ‘आउट’ गर्दै गए । 

त्यसपछि महामन्त्री थापाले पार्टी नेतृत्वको कार्यशैलीबारे प्रश्न उठाउन सुरु गरे । उनले महाधिवेशनमा गरेका बाचा र निर्वाचनमा गरिएका प्रतिबद्धता कार्यान्वयनका लागि पहल कदमी नथालेकोमा सभापतिको आलोचना गरिरहेका थिए । यो विषयमा पक्ष–विपक्षमा बहस भइरहेको थियो । त्यत्तिकैमा सभापति देउवाले २०८० साउन २ मा पार्टी केन्द्रीय समिति बैठक बोलाउनका साथै पहिलो पटक लाइभ गर्ने प्रस्ताव बैठकअघि बसेको पदाधिकारी र कार्यसम्पादन समिति बैठकमा राखे । त्यहाँ पक्ष–विपक्षमा मत आए पनि देउवाको निर्देशनमा बैठक लाइभ भयो ।  

लाइभ गर्नुको मुख्य निशानामा थिए महामन्त्री थापा । किनकि उनले नेतृत्वको धेरै आलोचना गर्ने डरमा देउवाले बैठक लाइभ गरेका थिए । लाइभ गर्ने देउवाको प्रस्तावमा डा. कोइराला सहमत थिए । 

त्यो बेला महामन्त्री थापाले समूहको बैठक राख्न डा. कोइरालालाई सुझाव दिएका थिए । ‘बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल गरौँ’ भन्ने थापाको प्रस्तावलाई डा. कोइरालाले वास्तै गरेनन् । 

अर्कोतिर कोशीमा डा. कोइराला समूहले पार्टी संस्थापनसँग विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने विषयमा पनि यी दुई नेताबिचको सम्बन्ध थप चिसिएको देखिन्छ । २०८० असोज २७ मा कोशीमा केदार कार्की मुख्यमन्त्री नियुक्त भए । कांग्रेसको इतर समूह र नेकपा एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । त्यो बेला महामन्त्री थापाले गठबन्धनमा विद्रोह गर्ने भए पनि सभापति देउवालाई विश्वासमा लिनुपर्ने बताएका थिए । तर, डा. कोइरालाले मानेनन् । नमानेपछि महामन्त्री थापा सभापति देउवाको पक्षमा उभिएपछि डा.कोइराला निकटहरूले थापालाई साइबर अट्याकसम्म गर्न भ्याए । सामाजिक सञ्जालमै डा. कोइराला निकटहरूले थापालाई माओवादीसँग मिल्यो, राष्ट्रिय स्वतन्त्र पार्टीसँग घुँडा टेक्यो भन्ने खालका आरोप लगाएर पोष्टहरू गरेका थिए । 

दुई नेताबिच धेरै नै असमझदारी भएपछि डा. कोइरालाले २०८० मंसिर २५ मा आफूपक्षीय पदाधिकारी केन्द्रीय सदस्य, प्रदेश सभापति, १४ औँ महाधिवेशनमा पदाधिकारीका उम्मेदवार लगायतको बैठक बोलाए । त्यो बैठकमा महामन्त्री थापा आफ्नो पहिल्यै अर्को कार्यक्रम निर्क्योल भइसकेको भन्दै सहभागी भएनन् । त्योभन्दा अघिका महत्त्वपूर्ण समयमा आफूले बैठक आह्वान गर्न भन्दा नमानेका डा. कोइरालाले आफ्नो सल्लाहविनै बैठक बोलाएको भन्दै थापा जानीजानी नगएको निकटस्थ बताउँछन् । 

त्यसपछि दुई नेताबिचको सम्बन्धमा बिस्तारै दुरी बढ्दै गएको छ । गत मंसिर १८ गते डा. कोइरालाले विराटनगरमा पार्टीका नगर सभापतिहरूको भेला गरे । त्यो भेलामा महामन्त्री थापा गएनन् । डा. कोइरालाको भेलालाई ‘काउन्टर’ दिन ४ दिनपछि पार्टीले कोशी प्रदेश सम्मेलन आयोजना गर्‍यो । त्यसका योजनाकार महामन्त्री थापा थिए । आफ्नो गृह प्रदेशमा भएको सम्मेलनमा डा. कोइराला आसन ग्रहणको वरीयता नमिलेको भन्दै गएनन् । 

उपसभापति पूर्णबहादुर खड्काभन्दा पछि आफूलाई मन्तव्य दिन दिनुपर्ने कोइरालाको माग पार्टीले अस्वीकारेपछि नगएको निकटस्थको भनाइ छ । 

आफू बिस्तारै पेलिँदै गएपछि ‘मिल्न पर्‍यो’ भन्ने नेताहरूलाई थापाले जवाफ दिने गरेका छन्, ‘उहाँले मलाई एक्लै छोड्नु भयो भने त म पनि पार्टीको महामन्त्री छु, आफ्नै हिसाबले अगाडि बढ्न परिहाल्यो नि !’

महामन्त्री थापा र नेता डा. कोइरालाले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेको बुझाइ संस्थापन पक्षको छ । फागुन २ मा बूढानीलकण्ठमा बसेको संस्थापन पक्षीय नेताहरूको बैठकमा महामन्त्री थापा र नेता डा. कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गर्दै अभियानमा हिँडेको भनेर चर्चा भएको थियो ।

तर, महामन्त्री थापा भने सार्वजनिक रूपमा आफूले सभापतिको उम्मेदवारी घोषणा नगरेको बताउँछन् । ‘मैले आजसम्म सार्वजनिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेको छैन,’ थापाले संक्षिप्त प्रतिक्रिया दिँदै रातोपाटीसँग भने । 

निकटस्थहरू अझै पनि डा. कोइरालासँग मिल्न सकिन्छ कि भनेर थापाले सार्वजनिक रूपमा उम्मेदवारी घोषणा नगरेको बताउँछन् । थापा निकट एक नेता भन्छन्, ‘डा. कोइराला समूहको नेता हो, महामन्त्रीज्यूले आजसम्म सार्वजनिक रूपमा सभापतिको उम्मेदवारी घोषणा नगरेर मिल्न सक्ने ठाउँ सुरक्षित राख्नुभएको छ ।’ 

थापा आफैँ भने पार्टीको महामन्त्री भएकाले महाधिवेशनको मिति निश्चित गरेपछिमात्रै कसरी अगाडि बढ्ने भन्ने सार्वजनिक गर्ने बताइरहेका छन् ।

थापाले आफू निकट नेताहरूसँग कोइराला समूहको बैठकमा बोलाए जान तयार रहेको बताउने गरेका छन् । ‘अहिले पनि शेखर कोइरालाले बैठक बोलाए भने म जान्छु, जान पर्छ । म सार्वजनिक रूपमा त्यही भनिरहेको छु तर, करिबकरिब दुई वर्ष भयो, मलाई समूहको बैठकमा बोलाउनु भएको छैन,’ थापाको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने । 

कोइरालाले आफूलाई सहयोग चाहिएको बेलामा त पेल्छन्, सभापति भए भने टेक्ने ठाउँसम्म पनि दिँदैनन् भन्ने चिन्तामा थापा रहेको ती नेताले बताए । ‘अहिले म महामन्त्री छु, उहाँलाई सभापति बन्नु पर्नेछ । त्यस्तो अवस्थामा त मलाई टेक्ने ठाउँ दिनुहुन्न भने १५ औँ महाधिवेशनमा मेरो सहयोगमा सभापति जित्नुभयो र आफ्नो हातमा पावर भयो भने मलाई टेक्ने ठाउँ कसरी दिनुहुन्छ ?’ थापाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।  

डा. कोइराला निकटस्थहरू भने थापाले भित्रभित्रै महाधिवेशनको तयारी गरेकाले अब एकै ठाउँमा बस्ने सम्भावना नरहेकाले प्रयास नै नभएको बताउँछन् । कोइराला निकट एक नेताले भने, ‘अहिले संवादहीनताको अवस्था छ । हामीले कुरा गर्ने प्रयास गरेका छैनौँ । किनकि उहाँले सभापतिमा भित्रभित्रै तयारी गरिसक्नुभएको छ । हामी पनि पछि हट्ने कुरा भएन । कुरा मिल्ने ठाउँ नै भएन ।’ 

थापा भने नेता–कार्यकर्ताले डा. शेखरसँग तपाईंको सम्बन्ध किन बिग्रियो भनेर प्रश्न गर्दा ठट्यौली पारामा भन्छन्, ‘मैले सार्वजनिक रूपमा उहाँलाई अहिलेसम्म कहाँ अस्वीकार गरेको छु र ?’ 

महामन्त्री थापा निकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले १४ औँ महाधिवेशनमा उम्मेदवारी दिने बेलामा जस्तो सम्बन्ध डा. कोइराला र महामन्त्री थापाबिच अहिले नरहेको बताए । ‘१४ औँ महाधिवेशनमा उम्मेदवारी दिँदाजस्तो सम्बन्ध सौहार्द हुन नसकेको नेता कार्यकर्ताले गुनासो गरिरहेका छन्,’ केन्द्रीय सदस्य शिवाकोटीले रातोपाटीसँग भने, ‘नेताहरूको सम्बन्ध बिग्रेर संवादहीनताको अवस्था आएको हो वा संवादहीनताले सम्बन्ध बिग्रेको हो ? यो धेरैको चासोको विषय छ ।’

शिवाकोटीले नेताद्वयले कार्यकर्ताको भावनालाई सम्बोधन गर्ने गरी भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा आफ्नो रहेको बताए । समूहको नेताको हिसाबले गर्नुपर्ने संयोजनमा कमजोरी भएको हो कि भनेर विचार पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘समूहको नेताको हिसाबले डा. कोइरालाबाट जुन संयोजन हुनुपर्ने थियो, त्यसमा कमजोरी भएका कारणले सम्बन्धमा चिसोपन आएको हो कि ? नेतृत्वकर्ताका हिसाबले महामन्त्रीलाई ढाडस दिनुपर्नेमा नदिएकाले पो भएको हो कि ?’ 

डा. कोइराला पक्षका केन्द्रीय सदस्य सञ्जय गौतम पनि दुई नेताबिच पहिलाजस्तो सुमधुर सम्बन्ध नभएको तर मिलाउने प्रयास जारी रहेको बताउँछन् । ‘सौहार्द छ भन्ने होइन, केही विषयमा मिस अन्डरस्ट्यान्डिङ भएकै छ,’ केन्द्रीय सदस्य गौतमले रातोपाटीसँग भने, ‘ठुला नेताहरूबिच इस्युगत विषयमा फरक–फरक धारणा आइहाल्छन् । हामीले मिलाउने प्रयास गरिरहेका छौँ । आशा छ, महाधिवेशनसम्म हामीले मिलाउन सक्छौँ कि ?’

उनले दुई नेताबिच फाटो ल्याउन अन्य शक्तिहरू लागेको बताए । ‘हामीभित्र मात्रै होइन, बाहिरी शक्तिले पनि कतै खेल्न सक्छन् । त्यो नेताहरूले बुझेर निश्चित समयमा निश्चित निर्णय लिएर एक ठाउँमा आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

डा. कोइरालाले दुई वर्षदेखि महामन्त्री थापालाई समूहको बैठकमा नबोलाएको विषयमा केन्द्रीय सदस्य गौतमले भने, ‘औपचारिक बैठक नबसेकाले नबोलाइएको हो । बस्यो भने बोलाइहाल्नु हुन्छ ।’ 

तर, केही दिन अघि बसेको बैठकमा महामन्त्री थापालाई बोलाइएको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई
लेखकबाट थप