सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

अनुदान लिएर लेखकले दातृ निकायको स्वार्थ अनुरूप काम गरेका हुन् ?

आरोप लगाउनेहरूले मलाई सधैँ भारु दिइरहे : संग्रौला
आइतबार, १८ फागुन २०८१, १६ : ४१
आइतबार, १८ फागुन २०८१

पोखरा । नेपाली कलाकर्मी र साहित्यकार पछिल्लो समय ‘अनुदान’ को विषयमा आलोचित भइरहेका छन् । खास गरी दातृ निकायबाट अनुदान लिएर उनीहरूको उद्देश्य अनुरूपका फिल्म र पुस्तक लेखेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

के उनीहरूले अनुदान लिएर दातृ निकायको स्वार्थ अनुरूप काम गरेका हुन् ?  आइतबार पोखरामा ‘अनुदानमा सिर्जनाको स्वतन्त्रता’ बारे चर्चा भयो । पत्रकार देवेन्द्र भट्टराईले लेखक खगेन्द्र संग्रौला, निर्देशक मीन भाम, कवि सुमिना र नेपाली मूलकी लेखक मञ्जुश्री थापासँग प्रश्नोत्तर गरे । सामाजिक सञ्जालमा भइरहेको रोइलो जस्तो अनुदानले लेखनमा प्रभाव नपार्ने १२ औँ संस्करणको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा भएको प्रश्नोत्तरले निष्कर्ष निकालेको छ ।

लेखक संग्रौलाले आफूलाई लगाइएको आरोपमा सत्यता नभएको दाबी गरे । ‘आरोपहरू धेरै समय लागेको हो । आरोप लगाउनेहरूले मलाई सधैँ भारु दिइरहेँ !’, उनले व्यंग्य हान्दै भने, ‘मलाई ज–जसले आरोप लगाइरहेका छन्, त्यो डलर बाटोमा आउँदै होला । आयो भने मलाई राम्रो हुन्छ अर्को किताब लेख्न हुन्छ !’

कवितामा आफूले अधिकारका विषय उठान गर्दा आफूमाथि अनाहकमा दानापानीको लाञ्छना लगाइएको सुमिनाले बताइन् । ‘महिला अधिकारका कुरा र परम्परागत मान्यतासँग असहमति राख्दै महिलाको कोणबाट केही विचारहरू लेखेको छु । त्यो कारणले गर्दा अधिकारको कुरासँग भड्किएकाले लगाएको आरोप हो मलाई लाग्छ’, उनी भन्छिन्, ‘आरोप लगाउनेहरू को हुन्, उनीहरूको उद्देश्य के हो ? स्पष्ट भएकाले त्यति धेरै असर परेको छैन ।’ लेखक र कलाकर्मीमाथि भएको आक्रमणलाई सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएको अराजकताको संज्ञा दिन्छिन् उनी । 

नेपाल गोजीको पैसा दाउमा लगाएर कला, साहित्यमा लगानी गर्ने तेस्रो मुलुक भएको निर्देशक भामले बताए । ‘अपवादबाहेक हामीले निर्माण गर्ने चलचित्र वा अरू कलाको माध्यममा जहाँ मान्छेले गोजीको पैसा ताउमा लगाएर सिर्जनामा लाग्नुपर्छ’, उनले दाबी गरे । राज्य र सार्वजनिक क्षेत्रको लगानी नभएको उनको भनाइ छ ।  

क्यानडमा बस्दै आएकी नेपाली मूलकी लेखक थापाले साहित्यलाई लेखनको अमेरिकी बजारले प्रभाव पारेपछि क्यानडामा ढुक्कले लेख्न सकुन् भनेर अनुदान दिन थालिएको स्मरण गरिन् । ‘क्यानडा काउन्सिल फर द आर्टस्’ भन्नेछ, त्यसले वर्षमा तीन सय मिलियन्स अमेरिकी डलरको अनुदान मात्रै उपलब्ध गराउँदछ । साहित्यकारहरुलाई मात्रै होइन अरू सबै विधाको कलाकार र कलकारका संघहरुलाई’, उनले भनिन् ।

‘राइटर ट्रष्ट’ ले पनि साहित्यलाई मात्रै अनुदान दिने बताउँछिन् । साहित्यकारलाई आनन्दले लेख्नलाई लेखन आवासीय क्षेत्र खडा गरेर वातावरण निर्माण गरिएको उनले सुनाइन् । 

लेखन नेपालको कला साहित्यको क्षेत्रमा सबैभन्दा सस्तो ठानिएको लेखक मञ्जुश्रीको विश्लेषण छ । ‘सबै जनाले के सोच्दा रहेछन् भने साहित्यकारले बसेर लेख्नु नि ।  त्यसबाट ममता पाइहाल्छन् नि । साहित्यकारले खानु पनि पर्दैन । घरको बाल पनि तिर्नुपर्दैन’, उनी थप्छिन्, ‘आफ्ना परिवारलाई पनि जतन गर्नुपर्दैन । अरू कुनै बोझ साहित्यकारमा हुँदैन ।  सिर्जनाको शुद्ध क्षेत्र सोचिरहेको जस्तो पाए अहिलेको विवादलाई हेर्दा ।’

६ महिना लाग्ला कुनै किताब लेख्नलाई त्यो बेला कसरी बाँच्ने ? घरभाडा कसरी तिर्ने ? यो विषयमा पनि सोच्न उनले आवश्यकता औँल्याइन् । 

विदेशमा किताब लेख्ने बेलामा अनुदान दिने संस्थाहरुले कुनै पनि सर्त नराख्ने उनको भनाइ थियो । उनले जहाँबाट अनुदान पाएका छन् त्यही संस्थालाई आलोचना गर्ने प्रचलन रहेको बताइन् । ‘सरकारबाटै पैसा लिएर त्यही सरकारलाई गाली गर्ने स्वतन्त्रता पाइन्छ ।  नेपालमा गलत बुझाइ हुन्छ सक्छ । अर्को जानी जानी  कुरा व्यंग्याउने प्रचलन देखिन्छ’, उनले भनिन्, ‘जो सत्ताको पारदर्शिता खोजिरहेको हुन्छ उनीहरूलाई मात्रै टार्गेट भइराछ । सामाजिक आन्दोलन होस् या न्यायका लागि आवाज उठाउनेहरूलाई मात्रै टार्गेट भइराछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप