‘बौद्ध साहित्य वर्तमान समाजका लागि सान्दर्भिक’

पोखरा । बौद्ध धर्म र बौद्ध साहित्य वर्तमान समाजका लागि सान्दर्भिक रहेको बौद्ध धर्मका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘बौद्ध साहित्यको वर्तमान’ सत्रमा आइतबार बोल्दै बौद्ध संस्कृतिका लेखक आङ्लामी शेर्पाले मनलाई शुद्ध राख्न बौद्ध साहित्य सान्दर्भिक रहेको जिकिर गरे ।
‘बौद्ध साहित्यको आजको समाजमा सान्दर्भिकता छ । छरपस्ट भएका, धेरै सुविधाले विकृत बनाएको मनलाई कसरी शुद्ध, मानव र ब्रह्माण्डको हित र संरक्षणका लागि बुद्ध शिक्षाले प्रेरित गर्छ,’ उनले भने ।
बुद्ध शिक्षाको बाँकी खोज–अनुसन्धान गरेर त्यसलाई संकलन गर्न सके त्यसले सबै पक्षको उद्धार गर्ने शेर्पाको दाबी रह्यो । बौद्ध साहित्यको परम्परागत अध्ययन गर्ने लामा खेम्चेले बौद्ध धर्म र यसका उपदेशले मानसिक स्वस्थता प्रदान गर्ने सुनाए ।
‘हाम्रो दिमाग सयतिर छरिएको छ । दिमागलाई कसरी केन्द्रित बनाउने ? एउटा चराको पुरै शरीरमा, रुखमा ध्यान केन्द्रित गर्ने कि आँखामा गर्ने भन्ने बुद्धको दर्शनले मानसिक विकार हटाएर मानसिक स्वस्थता प्रदान गर्ने काम गर्छ,’ उनले भने ।
बौद्ध धर्मका प्राध्यापक रमेशकुमार ढुंगेलले बुद्धले आफूले प्राप्त गरेको ज्ञानलाई जनसाधारणको भाषामा प्रदान गरेकाले बौद्ध धर्म व्यापक भएको जिकिर गरे । ‘आफूले पाएको ज्ञान जनसाधारणको भाषामा दिन थाल्नुभयो । गाह्रो कुरालाई सजिलो बनाउन थाल्नुभयो,’ उनले थपे, ‘सहज रूपमा मान्न सक्ने भए । राजा, महाराजा र विद्वान पनि चेला भए । यति विकसित भयो कि अर्को सनातनी परम्परा र अरू परम्पराभन्दा अघि बढ्यो ।’
अनुवाद गर्ने पद्धति नभएकाले पाली साहित्य नेपालीमा आउन नसकेको ढुंगेलले दाबी गरे । नेपालबाट बुद्ध धर्मसँग सम्बन्धित मूर्तिहरू विदेशमा बेचिँदा धर्मलाई नै असर गरेको उनले बताए ।
‘संसारभर बुद्ध धर्म, सनातनी हिन्दु धर्मका मूर्ति विदेशमा छन् । थाङ्का, नेवारको पौवा त्यत्तिकै छन्,’ उनले भने, ‘यो सन् १९७० को दशकमा धेरै भयो । हरेक हेरिटेजका चिज यहाँबाट ट्राफिकिङ भएर गए । अहिले कम भए पनि कायम छ ।’ विदेशका संग्रहालयमा सिसाको फ्रेममा राख्दा त्यसबारे नेपालका बौद्ध धर्म अनुयायीले त्यसको इतिहास थाहा पाउन नसकेको उनको भनाइ थियो ।
व्यापारीकरणले गर्दा ऐतिहासिक मूर्तिलाई पैसा बनाउने साधनको रूपमा प्रयोग गरिएको ढुंगेलले टिप्पणी गरे । ‘युरोपमुखी आधुनिकतावादले व्यापारीकरण गर्यो । मूर्तिलाई पनि पैसा बनाउने साधनको रूपमा हेर्न थालियो । त्यसो भएकाले ट्राफिकिङ भयो,’ उनले भने । बौद्ध धर्म र साहित्यको विकासका लागि यससँग सम्बन्धित स्कुल र कलेजको स्थापना आवश्यक रहेको ढुंगेलले बताए ।
उक्त सत्रको सहजकर्ता लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका नेत्र आचार्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युगान्डामा हुने चार राष्ट्र सम्मिलित शृङ्खलाका लागि महिला क्रिकेट टोलीको घोषणा
-
अनेरास्ववियुले १४ क्याम्पसमा टुंग्यायो स्ववियु सभापतिका उम्मेदवार (सूचीसहित)
-
बबरमहल फुटपाथको हरिबिजोग, तस्बिरमा हेर्नुहोस्
-
प्रधानमन्त्री र विश्व चर्चित गोलरक्षक बुफोनको उपस्थितिमा उपाधिका लागि भिड्दै आर्मी र मच्छिन्द्र
-
स्ववियुमा मेरो दाबी
-
स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा १४ समिति गठन