सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

भूठानको अर्थ के ?

आइतबार, १८ फागुन २०८१, १६ : ३२
आइतबार, १८ फागुन २०८१

पोखरा । ‘जब म मेरो देश फर्किने छु त्यहाँ सबै सुखी हुनेछन् तर एकमात्र दुखी मान्छे त्यहाँ हुनेछ र त्यो म हुनेछु,’ पात्रको आशय भाव बोल्छ । नौ दिन अघि सामाजिक सञ्जाल यूटूबमा रिलिज भएको चलचित्र भूठानमा हरिवंश आचार्यले अस्पतालको शय्यामा बसेर जब म त्यहाँ पुग्छु एक मात्र दुखी मान्छे म हुन्छु बोल्छन् । 

विषयवस्तु के छ ? सन्दर्भ के हो ? टिजर मात्र नभएर भूठान हेरेपछि दर्शकले बुझ्लान् । दर्शकले भूठानको भाव अहिल्यै बुझ्न भने खोजिरहेका छन् । यसैमाथि पोखरामा जारी भएको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको चौथौँ दिन हरिवंशको भूठान यात्रा सत्रमा बहस भयो । सत्रमा पत्रकार स्वेच्छा राउतले निर्माता विनोद पौडेललाई प्रश्न गरिन्– भूठानको अर्थ के ? 

त्यसको जवाफ पौडेलले भने,‘मलाई चाहिँ के लाग्छ भने । टाइटलको व्याख्या दिए जस्तो हुन्छ । सिनेमा हेरिसकेपछि दर्शकले टाइटललाई कसरी व्याख्या गर्छन् महत्त्वपूर्ण हुन्छ त्यो आधारमा मैले टाइटल राखेको थिएँ । अहिले सामान्यतय भन्नुपर्दा अस्तित्व मेटिएको अथवा घर हराएको भन्ने मिडियामा आइरहेछ त्यसैलाई म मानिरहेको छु ।’

सुरुवातमा हास्यकलाकारको छवि बनाएका हरिवंश आचार्यले मान्छेको भाव बोक्ने चोटिलो पात्रमा पनि उत्तिकै देखिएका छन् । पछिल्लो समय महापुरुषबाट भावनात्मक रूपमा एक्लिएको पात्रमा देखिएका थिए उनी । हास्य मार्फत होस् वा गम्भीर पात्रको माध्यमले उनको पात्रले दिने सन्देश सधैँ गहन र चोटिलो हुन्छ । हरेक पात्रले कथा बोकेका हुन्छन् । महापुरुषमा देखिएको पात्र र भूठानमा देखिएको पात्रमा के कति फरक छ सहजकर्ता स्वेच्छाले प्रश्न गर्दै भनिन्, ‘महापुरुष मात्र भावनात्मक रूपमा एक्लिएको र दुखी भएको चरित्र यी चरित्रहरूभन्दा भर्खरै टिजरमा हेरेको दुखी मानिस कति फरक छ ?’ त्यसैक्रममा हरिवंशको भूठान यात्रा कसरी सुरु भयो चर्चा गरियो । 

चलचित्रको स्क्रिप्ट पढिसकेपछि आचार्यलाई त्यसमा आफ्नो स्थान बनाउन आशा लागेको उनले सुनाए । 

‘चलचित्रको स्क्रिप्ट पढेँ यसभित्र म अटाउन सकेँ भने यसभित्रको चरित्र मैलै निर्वाह सकेँ भने मैले अर्को स्थान बनाउन सक्छु भन्ने मलाई आशा लाग्यो र यसमा अभियान गर्छु भन्ने अठोट गरेँ,’आचार्यले भने ।

तीन वर्ष बढी समय लगाएर तयार भएको स्क्रिप्टमा हरिवंशको यात्रा रोचक छ । ग्लोबली चलचित्रलाई लिएर जाने कुरा भएपछि कलाकार पनि सोही अनुसार लिने कुरा सुरुवात भएको उनको निर्माता पौडेलको भनाइ थियो । 

‘पात्र मात्र दिमागमा थियो । पछि फिल्म बनाउँदा ग्लोबल्ली जाऊ भन्ने कुरा आयो । बलिउडको कलाकार लिऔँ भन्ने आयो,’ पौडेलले भने । 

सुरुवातमा मुख्य पात्रमा नसरुद्दिन शाहलाई ल्याउने कुराकानी भएको थियो । तर, मिलने । पछि, पौडेललाई आफ्नै माटो बुझेको कलाकार खोजे । उनलाई नाम आयो हरिवंशको । 

‘जीवनसँग पाकेको कलाकार चाहिएको थियो त्यसका लागि हरिवंश बाहेक अरू देखिनँ । उहाँले खेल्दिनँ भन्ने फिल्म रोकिन्थ्यो । कलाकारिता मात्र होइन दाइ सानैदेखि नै जीवनसँग पाक्दै पाक्दै आउनुभएको हो । त्यो पाक्दै गरेको मान्छेले सिनेमाको गहिराइलाई राम्रोसँग बुझ्छ भन्ने उहाँको नाम आउँदा बित्तिकै विश्वास भएको थियो,’ पौडेलले भने । 

टिजर आइसकेपछि निर्माताले सफलताको आशा गर्नु स्वाभाविक हो । दर्शकले पनि अपेक्षा राखेका छन् । हरिवंश पनि सन्तुष्ट देखिन्छन् यसमा । 

‘विनोद पौडेलसँग काम गर्न गाह्रो छ । उहाँलाई पर्फेक्सन चाहिन्छ । त्यो चुनौतीपूर्ण नै थियो मेरो लागि । र मैले चाहिँ आफूले लिएको जिम्मेवारी पूरा गर्ने कोसिस गरेँ त्यहीँ अनुसार पनि त्यो चुनौतीको फल हो भन्ने लागेको छ,’ आचार्यले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप