नेपालीपनको प्रायोगिक शिक्षा : उन्नतिको आधार र अवसर

शिक्षा कुनै पनि राष्ट्रको प्रगतिको आधार हो । सांस्कृतिक धरोहरले भरिएको नेपालजस्तो देशका लागि प्रायोगिक शिक्षा प्रणालीको विशेष अर्थ र महत्त्व छ । विश्व अन्तर्सम्बद्ध (इन्टरकनेक्टेड) हुँदै गएको यस समयमा नेपाल एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ । नेपालले कसरी आफ्नो विशिष्ट सांस्कृतिक पहिचान कायम राख्दै युवा पुस्तालाई विश्वस्तरीय दक्षता र ज्ञान प्रवर्धन गर्न सक्छ ? यस प्रश्नको जवाफ सन्तुलित शिक्षा प्रणालीमा निहित छ, जसले पूर्वीय मूल्य र पश्चिमी विधिको समन्वय गर्छ ।
- प्रायोगिक शिक्षा
नेपालको शिक्षा प्रणालीलाई लामो समयदेखि रटन्ते विधि र परीक्षाकेन्द्रित शिक्षा भनी आलोचना गरिन्छ । यी विधि विद्यार्थीमा विवेकशील सोच, रचनात्मकता र व्यावहारिक क्षमता विकास गर्न असफल छन् ।
अर्कोतिर नेपालको सांस्कृतिक सन्दर्भलाई नहेरी पश्चिमेली शिक्षा प्रणाली अपनाउने हो भने यसले सदियौँदेखि राष्ट्रलाई एकतामा बाँधेका मूल्यलाई कमजोर पार्न सक्छ ।
पूर्वीय र पश्चिमेली दुवै दृष्टिकोण समेटिएको प्रायोगिक शिक्षा प्रणालीले हाम्रो शैक्षिक क्षेत्रमा देखिएका समस्याको श्रेष्ठ समाधान दिन सक्छ । पूर्वीय दर्शनको अध्यात्म, नैतिक र सामुदायिक मूल्यलाई पश्चिमी वैज्ञानिक, प्राविधिक र विश्लेषणात्मक विधिहरूसँग समन्वय गरेर हामीले आफ्नो ऐतिहासिक धरोहरमा आधारित भविष्योन्मुख शिक्षा प्रणाली निर्माण गर्न सक्छौँ ।
- पूर्वीय दर्शनको मूल्य
नेपालको शिक्षा प्रणालीले पूर्वीय र पश्चिमी दर्शनको सन्तुलित मिश्रण अवलम्बन गर्नुपर्छ । पूर्वीय दर्शनका मूल्यहरूले परम्परा, संस्कृति, आध्यात्मिक विकास, समुदायको महत्त्व र प्रकृतिसँगको सामञ्जस्यलाई जोड दिन्छन् । यस्तै विद्यार्थीमा नैतिक र सांस्कृतिक आधार बलियो बनाउँछन्, जसले उनीहरूलाई जिम्मेवार र संवेदनशील नागरिक बनाउन मद्दत गर्छ । यसका लागि इतिहास, अध्यात्म, नैतिकता, योग, ध्यान र पर्यावरणीय शिक्षालाई पाठ्यक्रमको अभिन्न अंग बनाउनुपर्छ ।
अर्काेतर्फ पश्चिमी शिक्षण विधिहरूले विवेकशील सोच, समस्या समाधान, प्रविधिमा आधारित शिक्षा, विद्यार्थी केन्द्रित शिक्षा र अनुसन्धानमा जोड दिन्छन् । यी विधिले विद्यार्थीलाई आधुनिक विश्वका चुनौतीहरू सामना गर्न तयार पार्छन् । यसका लागि प्रश्न गर्न, विश्लेषण गर्न, रचनात्मक सोच विकास गर्न, डिजिटल साक्षरता, स्टिम (टेक्नोलजी, इन्जिनियरिङ र म्याथम्याटेक्सि) शिक्षा, परियोजना आधारित शिक्षा, सामूहिक छलफल र व्यावहारिक प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । यी दुवै पक्षको संयोजनले नेपालको शिक्षा प्रणालीलाई अझ प्रभावकारी, सान्दर्भिक र विश्वव्यापी प्रतिस्पर्धामा सक्षम बनाउन मद्दत गर्छन् ।
पूर्वीय र पश्चिमेली दुवै दृष्टिकोण समेटिएको प्रायोगिक शिक्षा प्रणालीले हाम्रो शैक्षिक क्षेत्रमा देखिएका समस्याको श्रेष्ठ समाधान दिन सक्छ । पूर्वीय दर्शनको अध्यात्म, नैतिक र सामुदायिक मूल्यलाई पश्चिमी वैज्ञानिक, प्राविधिक र विश्लेषणात्मक विधिहरूसँग समन्वय गरेर हामीले आफ्नो ऐतिहासिक धरोहरमा आधारित भविष्योन्मुख शिक्षा प्रणाली निर्माण गर्न सक्छौँ ।
- दुई दृष्टिकोणको समन्वय
पूर्वीय र पश्चिमेली दुवै दृष्टिकोणलाई सहज रूपमा समन्वय गर्नु आजको वास्तविक चुनौती हो । यस सन्तुलनलाई प्राप्त गर्न केही रणनीति तय गरिनुपर्छ, जसमध्ये केही महत्त्वपूर्ण पक्ष यहाँ उल्लेख गरिन्छ ।
१) पाठ्यक्रम डिजाइन
पूर्वीय दार्शनिक शिक्षालाई पश्चिमेली विषयसँग समन्वय गर्ने पाठ्यक्रम विकास गर्नुपर्छ । उदाहरणका लागि— विज्ञानको कक्षामा विद्यार्थीलाई जैविक प्रविधि (बायोटेक्नोलजी) जस्ता विषय पढाउँदा यसको नैतिक पक्ष छलफल गर्न सकिन्छ । जिन सम्पादन जस्ता प्रविधिको प्रयोग गर्दा अहिंसा र प्रकृतिसँगको सामञ्जस्यको महत्त्वलाई जोड्दै पढाउन सकिन्छ । गणितको कक्षा सुरु गर्नुअघि ५–१० मिनेटको ध्यान अभ्यास गराएर विद्यार्थीको एकाग्रता बढाउन सकिन्छ । यसले उनीहरूलाई गणितीय समस्या समाधान गर्न अझ प्रभावकारी ढंगले मद्दत गर्छ ।
साहित्यको कक्षामा नेपाली कथा र कवितालाई अन्तर्राष्ट्रिय साहित्यसँग समन्वय गरेर पढाउन सकिन्छ । जस्तो ः लेखन कार्यमा विद्यार्थीलाई नेपाली लोककथा र पश्चिमेली कथाहरूको तुलना गर्न लगाएर दुवै संस्कृतिका मान्यताबारे छलफल गर्न सकिन्छ । पर्यावरण विज्ञानको कक्षामा नेपालका पारम्परिक सम्पदा (वन, नदी र हिमालय) को संरक्षणलाई आधुनिक वैज्ञानिक अध्ययनसँग जोडेर पढाउन सकिन्छ ।
हिमालयको अवस्था अध्ययन गर्दा स्थानीय जनजातिको प्रकृतिसँगको सामञ्जस्यपूर्ण जीवनशैलीलाई पनि समावेश गर्न सकिन्छ । व्यावसायिक शिक्षामा सामाजिक उद्यमशीलताजस्ता विषयलाई समावेश गर्न सकिन्छ । जसले गर्दा पछि गएर विद्यार्थीले व्यवसाय गर्नुपरेमा समाजलाई ध्यान दिन सक्नेछन् ।
यस्तै, स्थानीय सामग्रीको प्रयोगबाट उत्पादन गर्ने व्यवसाय मोडलबारे अध्ययन गर्न सकिन्छ । जस्तो ः कलाको कक्षामा नेपाली पारम्परिक कला र पश्चिमी कलाको तुलना गरेर पढाउन सकिन्छ । नेपाली थान्का चित्रकला र पश्चिमेली आधुनिक चित्रकलालाई समन्वय गरेर विद्यार्थीलाई दुवै शैलीको महत्त्व बुझाउन सकिन्छ । स्वास्थ्य शिक्षामा आयुर्वेदिक उपचार र पश्चिमी चिकित्सा विज्ञानलाई समन्वय गरेर पढाउन सकिन्छ । उदाहरणका लागि आधुनिक औषधि र प्राकृतिक उपचारको तुलना गरेर विद्यार्थीलाई दुवै प्रणालीको फाइदा बुझाउन सकिन्छ ।
२) शिक्षक प्रशिक्षण र भाषाको समायोजन
शिक्षा प्रणालीमा शिक्षकहरूले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले उनीहरूलाई परम्परागत र आधुनिक शिक्षण विधिहरूको प्रभावकारी संयोजन गर्न सक्षम बनाउन आवश्यक छ । यसका लागि शिक्षक प्रशिक्षण कार्यक्रममा नयाँ शिक्षण विधि–प्रविधिको प्रयोग र विद्यार्थीकेन्द्रित शिक्षाको ज्ञान समावेश गरिनुपर्छ । साथै नेपाली र स्थानीय भाषालाई अंग्रेजी भाषासँग समन्वय गरी बहुभाषिक शिक्षालाई प्रोत्साहन गर्नुपर्छ, जसले विद्यार्थीलाई आफ्नो संस्कृतिसँग जोडिन र विश्वव्यापी सञ्चारका लागि तयार हुन मद्दत गर्छ ।
३) सांस्कृतिक पहिचान
आफ्नो सांस्कृतिक पहिचानको सम्मान गर्दै विश्वव्यापी दृष्टिकोण विकास गर्न विद्यार्थीलाई प्रोत्साहन गरिनुपर्छ । यसले उनीहरूलाई आफ्नो समुदाय र विश्व दुवैमा योगदान गर्न सक्षम बनाउँछ । शिक्षा प्रणालीले विद्यार्थीलाई स्थानीय पहिचानको महत्त्व बुझाउँदै विश्वका अन्य संस्कृति र विचारलाई पनि सम्मान गर्न सिकाउनुपर्छ । यसका लागि पाठ्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध, विश्व इतिहास र सांस्कृतिक आदान–प्रदान जस्ता विषय समावेश गरिनुपर्छ ।
- चुनौती र उपाय
नेपालको शिक्षा प्रणालीमा पूर्वीय मूल्य र पश्चिमेली विधिलाई एकीकृत गर्न धेरै चुनौती छन् । यीमध्ये मुख्य चुनौती हुन्— सीमित स्रोत, परिवर्तनका लागि अनिच्छाले उत्पन्न हुने बाधा, परम्परा र आधुनिकताको सन्तुलन कायम गर्न नसक्नु आदि । यद्यपि यी चुनौतीलाई कुशलतापूर्वक सम्बोधन गर्न सकिन्छ । त्यसका लागि सरकारी–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्छ, जसले आवश्यक स्रोत र विशेषज्ञता उपलब्ध गराउन मद्दत गर्छ । संघीय, प्रादेशिक र स्थानीय सरकारहरूसँग निजी क्षेत्रको सहकार्य अपरिहार्य छ ।
१) नमुना कार्यक्रम र समुदायको सहभागिता
यो दृष्टिकोणको प्रभावकारिताका लागि नमुना (पाइलट) कार्यक्रमहरू व्यापक रूपमा सुरु गर्नुपर्छ । यसले समुदायलाई जागरुक र प्रोत्साहित गर्न मद्दत गर्छ । नमुना विद्यालयले परम्परागत र आधुनिक शिक्षाको सफल संयोजन देखाएर अन्य विद्यालयलाई प्रेरित गर्न सक्छन् । साथै स्थानीय समुदायको सहभागितालाई प्रोत्साहन गर्नुपर्छ, ताकि उनीहरूले शिक्षाको विकासमा सक्रिय भूमिका खेल्न सकुन् ।
२) नीतिगत सुधार र राष्ट्रिय बहस
राष्ट्रिय स्तरमा नीतिगत परिवर्तनका लागि व्यापक बहस र गोष्ठीहरू आयोजना गर्नुपर्छ । यसले अनुकूल वातावरण सिर्जना गर्न र नीति–निर्मातालाई आवश्यक जानकारी प्रदान गर्न मद्दत गर्छ । शिक्षाविद् शिक्षक, अभिभावक र विद्यार्थीलाई नीति–निर्माण प्रक्रियामा सहभागी गराउनुपर्छ । यसले नीतिलाई व्यावहारिक र प्रभावकारी बनाउन मद्दत गर्छ ।
- संयोजनको लाभ
नेपालको शिक्षा प्रणालीलाई पूर्वीय मूल्य र पश्चिमेली विधिको संयोजनबाट रूपान्तरण गर्दा विद्यार्थीले समग्र विकासको अनुभव गर्नेछन् । उनीहरूले केवल शैक्षिक ज्ञान मात्र नभई भावनात्मक र आध्यात्मिक लाभ पनि प्राप्त गर्नेछन् । यसले उनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा अग्रसर हुन सक्षम बनाउँछ, उनीहरूको सांस्कृतिक पहिचानलाई बलियो बनाउँछ । यस्तो शिक्षा प्रणालीले नेपालको दिगो विकास, सामाजिक सद्भाव र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँछ । यो दृष्टिकोणले विद्यार्थीलाई जिम्मेवार, संवेदनशील र विश्व नागरिक बन्न प्रेरित गर्छ ।
- निष्कर्ष
नेपालसँग ऐतिहासिक धरोहरमा आधारित र भविष्योन्मुख शिक्षा प्रणाली निर्माण गर्ने एक दुर्लभ अवसर छ । पूर्वीय मूल्य र पश्चिमी विधिलाई समन्वय गरेर राष्ट्रले आधुनिक विश्वको जटिलतालाई सामना गर्न युवाहरूलाई सशक्त बनाउन सक्छ भने ऐतिहासिक ज्ञानलाई संरक्षण गर्न सक्छ । यो प्रायोगिक दृष्टिकोणले केवल शैक्षिक सुधार मात्र गर्दैन, नेपालको उज्ज्वल र समावेशी भविष्यको मार्ग समेत हो यो ।
यो २१औँ शताब्दीमा तीव्र गतिमा परिवर्तन हुँदै गरेको विश्वको आवश्यकताहरूलाई हाम्रो शिक्षा प्रणालीले सम्बोधन गर्न सक्नुपर्छ । पूर्वी र पश्चिमेली परम्पराको उत्कृष्टतालाई समन्वय गरेर नेपालले एउटा वास्तवमा परिवर्तनकारी शिक्षा प्रणाली निर्माण गर्न सक्छ । यो केवल एउटा आकांक्षा मात्र होइन, एक आवश्यकता हो, जसले राष्ट्र र यसका जनताको भविष्यलाई आकार दिनेछ ।
(लेखक आचार्य दाङको देउखुरीस्थित ‘चैतन्य पाठशाला’का प्रबन्ध निर्देशक हुन् ।)