सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

एमाले मोरङको अधिवेशन : नयाँ नेतृत्वको लागि दुई खेमाको छुट्टाछुट्टै प्यानल बन्ने

आइतबार, १८ फागुन २०८१, १५ : २६
आइतबार, १८ फागुन २०८१

विराटनगर । नेकपा एमाले मोरङको दसौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि दुई पक्षले छुट्टाछुट्टै प्यानल बनाउने भएका छन् । शनिबार उद्घाटन भएको अधिवेशन अन्तर्गत आज बन्द सत्र चलिरहेको छ । बन्द सत्रमा प्रतिवेदन माथिको छलफल सकिएपछि नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी छ । 

यद्यपि अधिवेशन स्थलमा अध्यक्षका आकांक्षी राजकुमार ओझा र अजम्बर राईले प्रतिनिधिहरूसँग भोट माग्न सुरु गरिसकेका छन् । ओझाले आफू नै पार्टीको आधिकारिक उम्मेदवार भएको दाबी गरे । ‘पार्टीले आधिकारिक रूपमा मलाई नै अध्यक्षमा अघि सार्ने निर्णय भएको छ । म सोहीअनुरूप तयारीमा लागेको छु । मतदाताहरूसँग छलफल गरिरहेको छु । मत माग्दै छु,’ उनले रातोपाटीसँग भने । 

उनले अध्यक्षसहित अन्य पदमा आफ्नो प्यानल तयार भएको बताए । ओझाका अनुसार उनको प्यानलमा उपाध्यक्ष शान्तिकुमारी लिम्बू, सचिव रविन थापा, उप–सचिव एर्जालाल राजवंशीको नाम टुंगिएको छ । ओझा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोजेका उम्मेदवार हुन् । 

उता, अध्यक्षका अर्का प्रतिस्पर्धी अजम्बर राईले निर्वाचनको प्रक्रियाबाट नै नेतृत्व चयन हुने देखिएको बताए । ‘२०४८ सालमा चौथो जिल्ला सम्मेलन भएको थियो । संगठित सदस्य पुराना भएपछि संगठित सदस्यले सम्मेलन गर्ने चलन थियो । अहिले सदस्यबाट निर्वाचित भएर अधिवेशन गर्न थालियो । म त्यस बेलादेखि नै प्रतिनिधि हुँदै आएको छु, अब अध्यक्षमा मेरो दाबेदारी हो,’ उनले भने, ‘निर्वाचनबाट नेतृत्व चयन हुनेछ । आन्तरिक चुनाव हुनु राम्रो हो । सहमतिको म विरोधी होइन । मिल्दोजुल्दो नाम आए मानेर जान्छु तर त्यो नाम आएको छैन । सहमति गरौँ भनेर कुनै नेताले मलाई भन्नु भएको छैन ।’ 

अहिलेसम्म को आधिकारिक हो वा आधिकारिक होइन भन्ने नभएको तर जसले यसरी प्रचार गरे पनि त्यो गलत भएको उनले टिप्पणी गरे । ‘उम्मेदवार बन्न पाउँदैनस् भन्ने हुन्छ र ? जसले जित्छ त्यो र हार्ने पनि पार्टीकै आधिकारिक हुन्छ,’ उनले भने । राईको प्यानलमा उपाध्यक्ष सागर थापा, सचिव सोम थापा, उप–सचिवमा उषा झा र सन्तोष बान्तवा रहेको चर्चा छ । 

यसैबिच एमाले अध्यक्ष ओलीले मोरङ जिल्ला अध्यक्षमा ओझा र उपाध्यक्षमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीको नाममा सहमति गर्न निर्देशन गरेको स्रोतले बताएको छ । संस्थापन पक्षबाट उपाध्यक्षमा शान्तिकुमारी लिम्बूलाई अगाडि सारिरहेको बेला अध्यक्ष ओलीबाटै कार्कीको नाम आएपछि भने सो पक्ष अप्ठ्यारोमा परेको छ । 

यसअघि ओलीले चाहेअनुरूप नहुँदा भोजपुर, इलाम र तेह्रथुममा निर्वाचनबाटै नयाँ नेतृत्व चयन भएको थियो । मोरङमा पनि सहमतिबाट नेतृत्व चयन हुने परिस्थिति नहुँदा अधिवेशन नै लम्बिएको हो । मोरङमा ओली इतर समूहको वर्चस्व रहेको बताइन्छ । मोरङमा १७ पालिकाका १५१ वडाबाट ६९२ जना, २३ जनवर्गीय संगठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलितबाट ५१ जना र मनोनीत ४६ जना गरी ९१४ जना प्रतिनिधि छन् । 

मोरङमा एमाले इतर समूह (पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी) नेतृत्व एमाले मोरङका पूर्व अध्यक्ष विनोद ढकालले गर्दै आएका छन् । ढकाल पहिले अध्यक्ष केपी ओली निकट मानिन्थे । तर, एमाले कोसीको अधिवेशनपछि फेरिएका छन् । उनी अध्यक्षमा ओली निकट खेमाका घनश्याम खतिवडासँग पराजित बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप