सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

इस्लाम धर्मावलम्बीको एकमहिने रोजा सुरु

आइतबार, १८ फागुन २०८१, १४ : ५६
आइतबार, १८ फागुन २०८१

महोत्तरी । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् ।

 इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो ।

इस्लाम परम्पराका चाडपर्व हिजरी (उर्दू) सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौँ महिना हो । 

चन्द्रमाको गतिले निक्र्यौल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान (सार्वजनिक) गरेपछि उपवास थालिएको  इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्म गुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यो वर्षको रमजान आजदेखि सुरु हुने बताएका थिए । 

‘शावान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा रहेको रामगोपालपुर–२ महनपुरका इस्लाम धर्मका जानकार मोहम्मद कादीर हुसैनले बताए । सोहीअनुसार हिजो साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेका हुन् ।

इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ एक महिनासम्म रोजा गर्ने परम्परा छ । भूगोलका विभिन्न खण्डमा ग्रहन क्षेत्रको गतिले समयमा पार्ने फरकफरक प्रभावअनुसार ठाउँअनुसार रमजान अघिपछि पर्ने गरेको हुसैनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप