सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज जलविद्युत आयोजना

आइतबार, १८ फागुन २०८१, १४ : ०४
आइतबार, १८ फागुन २०८१

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । 

प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचान गरेको छ ।
त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरु छनोट  र स्तरीकरण गरिएको छ । रुकुम (पश्चिम)स्थित स्यार्पु तालमा ३३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ ।

 ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले पनि २०० मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ ।

 काठमाडौं उपत्यकाका एवम् विद्युत भार केन्द्र नजिकै, पहुँच सडक, प्रसारण लाइनलगायतका सम्पूर्ण पूर्वाधारको सुगमता रहेको धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा करिब १५९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । आयोजना विकास विभागले हाल आयोजनाको डेक्स अध्ययन गरिरहेको छ ।
आयोजनाका लागि हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमश करिब ४५ र १०३ मि. अग्लो बाँध बनाई दुईवटा जलाशय निर्माण गरिने छ । विद्युतगृह मोवा खोलामा रहनेछ । हुग्दी खोलाको जलाशयमा भण्डार भएको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ ।

 विद्युत उत्पादनपछि मोवा खोला (तल्लो जलाशय) मा भण्डारण भएको पानीलाई पम्प गरी पुनः हुग्दी खोला (माथिल्लो जलाशय) मा खसालिने छ । आयोजनालाई विद्युतको बढी माग हुने समय (पिक)मा ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको छ ।

पम्प स्टोरेज आयोजनाहरुमा विद्युतको न्यूनतम माग भएको (अफ पिक) अथवा  ऊर्जा न्यूनतम मूल्य भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा भण्डारण गरिन्छ । यसरी, भण्डार गरिएको पानीलाई  पिक अथवा बढी मूल्य भएको समयमा प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ । 

विद्युत प्रणाली स्थिरता, पिक डिमाण्ड एवम् खपत गरी बढी भएको विद्युत् (सरप्लस इनर्जी) व्यवस्थापन र ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्वपूर्ण मानिन्छ । अफ पिक समयमा  पम्प गरी भण्डारण गरिएको पानीको प्रगोगमार्फत पिक समयमा विद्युत् उत्पादन गरी आन्तरिक रुपमा खपत गर्ने र सरप्लस इनर्जीलाई भारततर्फ पिकमा महंगोमा बिक्री गर्न सकिन्छ ।
यसैबीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विभागका निर्देशक नसिबमान प्रधानलगायतको टोलीले शनिबार  धादिङ र चितवनमा पर्ने हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजनाको स्थलगत निरीक्षण गरी त्यस क्षेत्रको अवस्थाको जानकारी लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप