भारत–न्युजिल्यान्डबिचको भिडन्तअघि दक्षिण अफ्रिका र अस्ट्रेलियालाई आईसीसीको अचम्मको निर्देशन

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको सेमिफाइनलमा पुग्ने चारवटै टोली टुंगो लागिसकेको छ । न्युजिल्यान्ड, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
तर, प्रतियोगिताको सेमिफाइनलमा कुन–कुन टोलीबिच भिडन्त हुनेछ भन्ने कुराको टुंगो लाग्न भने बाँकी छ । समूहगत चरणको अन्तिम खेल आइतबार भारत र न्युजिल्यान्डबिच खेलिँदै छ । उक्त खेलपछि मात्र सेमिफाइनलमा भिड्ने प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।
समूह ‘बी’ बाट दक्षिण अफ्रिका पहिलो र अस्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । आइतबार हुने न्युजिल्यान्ड र भारतबिचको खेलपछिमात्र समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबिच सेमिफाइनल खेल हुनेछ ।
जारी च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो सम्पूर्ण खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल्दैछ । त्यसैले सेमिफाइनल खेलअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले दक्षिण अफ्रिका र अस्ट्रेलिया दुवैका लागि एउटा आश्चर्यजनक निर्देशन जारी गरेको छ ।
आईसीसीले पहिलो सेमिफाइनलअघि नै दक्षिण अफ्रिका र अस्ट्रेलियालाई पाकिस्तानबाट दुबई जान निर्देशन दिएको छ । आईसीसीको निर्देशन अनुसार दक्षिण अफ्रिका र अस्ट्रेलिया दुवै टोली पहिले दुबई जानु पर्नेछ ।
आइतबार हुने न्युजिल्यान्ड र भारतबिचको खेलले सेमिफाइनलमा भारतको प्रतिद्वन्द्वी टुंगो लगाउने छ । त्यसपछि भारतसँग सेमिफाइनल खेल्ने टोली दुबईमै बस्नेछ भने अर्को टोली न्युजिल्यान्डसँग सेमिफाइनल खेल्न फेरि पाकिस्तान फर्कने छ ।
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेल मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिने छ । दोस्रो सेमिफाइनल खेल बुधबार पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा खेलाइने कार्यक्रम छ ।
फाइनलमा पुगेमा भारतीय टोलीले उपाधि भिडन्त पनि दुबईमै गर्नेछ । त्यसैले पाकिस्तानमा हुने दोस्रो सेमिफाइनल खेलको विजेता उपाधि भिडन्तका लागि फेरि दुबई नै फर्कनु पर्नेछ । फाइनल खेल मार्च ९ तारिखमा खेलिने छ ।
दक्षिण अफ्रिका, अस्ट्रेलिया, इङ्ल्यान्ड, आयोजक पाकिस्तानलगायतका केही राष्ट्रका वर्तमान तथा पूर्वखेलाडीहरुले यसअघि नै जारी च्याम्पियन्स ट्रफीमा आईसीसीले विशेष सुविधा उपलब्ध गराएको भन्दै विरोध जनाउँदै आएका छन् ।
अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै पाकिस्तानी भूमिमा नखेल्ने अडान लिएपछि भारतको सबै खेल दुबईमा सारिएको हो । दक्षिण अफ्रिकी टोलीका राशी भान डर डुसेन र अस्ट्रेलियन टोलीका अलराउण्डर प्याट कमिन्सले एउटै स्टेडियममा खेल्ने अवसर पाउँदा भारतीय टोलीलाई फाइदा पुगेको आरोप लगाएका हुन् ।
उनीहरूले जारी च्याम्पियन्स ट्रफीमा भारतले मात्र एउटै स्टेडियममा खेल्ने सुविधा पाएको आरोप लगाएका हुन् । ‘भारतीय टोली भाग्यमानी छ । एउटै स्टेडियममा खेल्ने अवसर पाएको छ । एउटै होटेलमा बस्ने सुविधा पाएको छ,’ डुसेन र कमिन्सले भनेका छन् ।
डुसेन र कमिन्सले भारतबाहेक अन्य टोलीले भने फरक स्टेडियम र फरक चरित्र बोकेका पिचमा खेल्नु परेको गुनासो पनि गरेका छन् । ‘भारतले भने सेमिफाइनल पनि एउटै स्टेडियममा खेल्नेछ । रोहित शर्माको टोली दुबईको स्टेडियममा अभ्यस्त भइसकेको छ,’ उनीहरूले भनेका छन् ।
पाकिस्तानका पूर्वखेलाडी अकिब जावेद, इङ्ल्यान्डका पूर्वक्रिकेटर नासिर हुसैन र इङ्ल्यान्डकै पूर्वखेलाडी माइकल एथर्टनले पनि भारतीय टोलीमाथि यस्तै आरोप लगाएका छन् । उनीहरूले पनि जारी च्याम्पियन्स ट्रफीमा भारतीय टोलीले विशेष सुविधा पाएको टिप्पणी गरेका छन् ।
‘यदि कुनै टोलीले एउटै वातावरण अभ्यस्त हुन पाउँछ । एउटै होटलमा बस्न पाउँछ । एउटै ठाउँमा प्रशिक्षणको अवसर पाउँछ । निरन्तर एउटै पिचमा खेल्ने सुविधा पाउँछ भने त्यो पक्कै पनि विशेष सुविधा हो । यस्तोमा अन्य टोलीमाथि अन्याय भएको हुन्छ,’ डुसेनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु