शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय
खेल

खेलकुद प्रशिक्षणमा राेकावटकाे असर

आइतबार, १८ फागुन २०८१, १३ : ००
आइतबार, १८ फागुन २०८१

हालसम्म हाम्रो देशमा अल्पकालीन योजनाअनुरूप नै खेलकुद सञ्चालन भइरहेका छन् । हामीकहाँ खेलकुद सम्बन्धमा दीर्घकालीन योजना बन्न सकेका छैनन् । नेपाली खेल क्षेत्रको सबैभन्दा प्रमुख समस्या यो छ कि खेलाडीको प्रशिक्षण नै निरन्तर चल्न सक्दैन । खेलाडीले प्रशिक्षणमा निरन्तरता दिन पाएनन् र बेला–बेला मात्रै प्रशिक्षण भयो खेलाडीको क्षमतामा विकास हुन पाउँदैन । यस प्रकारको अल्पकालीन लगानी खेर जाने हुन्छ । प्रशिक्षणसँगै प्रतियोगिताहरूको पनि निरन्तरता भएन भने खेलाडीलाई नकारात्मक असर पर्छ । 

साफ खेलकुद र एसियाली खेलकुद प्रतियोगिताहरूमा सहभागी गराउनका लागि हामीकहाँ प्रायः ६–७ महिनाको प्रशिक्षण कार्यक्रम चलाइन्छ । यसमा पनि चरणबद्ध रूपमा ८–१० दिन त प्रशिक्षणमा ब्रेक हुने गर्छ । 

प्रशिक्षणमा अल्पकालीन रोकावटले खलाडीलाई कस्तो प्रभाव पार्छ भन्ने सम्बन्धमा विश्वमा विभिन्न अनुसन्धान भएका छन् । एक अनुसन्धानका क्रममा १५ जना लामो दूरीका धावकलाई लिइएको थियो । १० दिनका लागि प्रशिक्षण रोकेर शारीरिक अवस्था हेर्दा उनीहरुको मुटुको धड्कन, ब्लड प्रेसर र मुटुको स्ट्रोक भोलम् आदिमा कुनै परिवर्तन भएन । यस्तै रगतको प्लाज्मा भोलुममा ५ प्रतिशतले कम भएको तर प्रशिक्षण निरन्तर गर्दा अधिकतम मुटुको धड्कनमा केही प्लस–माइनस भए पनि अक्सिजन ग्रहण गर्ने क्षमतामा कुनै परिवर्तन भएको पाइएन । यसले के प्रस्ट भएको छ भन्दा प्रशिक्षणमा अल्पकालीन रोकावट आउँदा खेलाडीलाई आराम हुने र सानातिना चोटपटक आदिबाट पनि छुटकारा पाउने हुन्छ । मानसिक रूपमा पनि खेलाडीहरूलाई फाइदा नै हुन्छ ।R (1)

अमेरिकी शारीरिक व्यायामविद् डा. डेभिड एल. कोस्टिलका अनुसार प्रशिक्षणमा दुई दिन मात्र रोकावट आएमा मांशपेसीको एरोबिक एनर्जीमा करिब ५० प्रतिशतले घट्न जाने र त्यसमा पनि पूरै आराम अवस्थामा राख्दा मांशपेशीय इन्जाइम पनि घट्न जाने हुन्छ । ती साता वा त्यसभन्दा बढी समय प्रशिक्षणमा रोकावट आएमा मांशपेशीहरूमा अक्सिजन र अरु खाद्य पदार्थ पुर्‍याउने काम रगतले शिरा र स–साना धमनीहरूको माध्यमद्वारा गर्छ । डा. कोस्टिल भन्छन्, ‘यसरी प्रशिक्षणमा रोकावट आएपछि मांशपेशीहरूमा १० देखि २० प्रतिशतसम्म सक्रिय धमनीहरू निष्क्रिय हुने कारणले अक्सिजन पुर्‍याउने र मांशपेशीय कोषहरूमा शक्ति उत्पादन हुने क्षमतामा ह्रास आउने र रक्तसञ्चार कम भई ‘लाइक्टिक एसिड’ लाई सफा गर्ने कार्य पनि कम हुन्छ ।’

फिजिकल फिटनेस भन्नु बैङ्कमा जम्मा गरेको साँवा जस्तो होइन जसले भविष्यमा पनि ब्याज दिइरहोस् । अभ्यासमा निरन्तरता भएको खण्डमा मात्र फिजिकल फिटनेस रहन्छ, अभ्यास बन्द भएपछि त्यो बिस्तारै घटेर जान्छ ।

यसै सन्दर्भमा मित्र राष्ट्र भारतको पटियालामा पनि यस्ता अनुसन्धान भएका छन् । डा. रजनी र धिलोन बीएसले गरेको बेग्लै अनुसन्धान अनुसार तीन–चार सातासम्म प्रशिक्षणमा रोकावट आएमा खेलाडीको शारीरिक फिटनेस र कुशलता आदिमा निम्न लिखित फरक हुने निष्कर्ष निकालेका छन् । 

१) चार साताको प्रशिक्षण रोकावटपश्चात् खेलाडीको शारीरिक तन्दुरुस्ती र कुलशतामा उल्लेखनीय रूपमा कमी आएको पाइएको छ । तर प्रदर्शन क्षमताका विभिन्न तत्त्वमा नकारात्मक प्रभावको परिमाण चाहिँ फरक–फरक पाइएका छन् । पहिलेकै अवस्थामा आउन करिब तीन–चार साता लागेको पाइन्छ ।  २) शारीरिक तन्दुरुस्तीमा भन्दा उनीहरूको कुशलतामा बढी नकारात्मक प्रभाव पारेको छ । 

३) शारीरिक क्षमताहरूमा लचकता र चपलतामा उल्लेख्य रूपमा घट्न गएको पाइएका छन् ।

४) फिजिकल फिटनेस भन्नु बैङ्कमा जम्मा गरेको साँवा जस्तो होइन जसले भविष्यमा पनि ब्याज दिइरहोस् । अभ्यासमा निरन्तरता भएको खण्डमा मात्र फिजिकल फिटनेस रहन्छ, अभ्यास बन्द भएपछि त्यो बिस्तारै घटेर जान्छ ।

कुनै खेलाडीले ६ महिनादेखि ६ वर्षसम्म प्रशिक्षणमा निरन्तरता ल्याएको भए पनि उसले ८–१० सातासम्म कुनै कारणले खेल्न सकेन भने उसले प्राप्त गरेको शारीरिक क्षमता ८० प्रतिशतदेखि पूरै मात्रामा समाप्त हुन सक्छ । 

५) डा. एचएस सोडीले भारतका एक यस्ता खेलाडीमाथि अनुसन्धान गरेका थिए, जसले पाँच हजारदेखि १० हजार मिटर दौडमा १५ वर्षसम्म लगातार भारतको प्रतिनिधित्व गरेका थिए । खेल जीवनबाट संन्यास लिएको १५ वर्षपछि उनको शारीरिक संरचनाको अध्ययन गर्दा निम्न परिवर्तन देखिएका थिए । sport table1


उपरोक्त तालिकाले के प्रस्ट गर्न खोजेको छ भन्दा सक्रिय खेलमा संलग्न भएको बेलामा शरीरको ‘लिन बडी मास’ (एलएमबी) बढी भएका बेला शरीरमा शक्ति खर्च हुने दर बढी हुन्छ भने संन्यास भइसकेपछि शरीरको सम्पूर्ण संरचनाहरू परिवर्तन भई शरीरमा शक्तिको सञ्चय बढी हुने हुनाले बोसोको प्रतिशतमा वृद्धि हुने र मांसपेशीय अनि हड्डीको तौल न्यून हुन जानाले शरीरको ‘लिन बडी मास’ मा कमी हुन जान्छ र शरीरमा शक्ति सञ्चय बढी हुन जान्छ । 
प्रशिक्षणमा रोकावट आउँदा खेलाडीको शरीरमा के कस्तो परिवर्तन हुन्छ भनी विदेशीले थुप्रै अनुसन्धान गरेका छन् । हामीकहाँ पनि यस प्रकारकोे अध्ययन–अनुसन्धान हुन नितान्त आवश्यक छ । प्रशिक्षणमा निरन्तरता नहुने र प्रतियोगिता पनि न्यून मात्रामा हुने भएकाले नेपाली खेलाडी कहिल्यै पनि आफ्नो शतप्रतिशत क्षमतामा पुग्दैनन् । यो नेपाली खेलकुदको निमित्त ठुलो समस्या हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवाकर लाल अमात्य
दिवाकर लाल अमात्य
लेखकबाट थप

छुटाउनुभयो कि ?