सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

ठगीको आरोपमा बानेश्वरबाट एक महिला पक्राउ

आइतबार, १८ फागुन २०८१, १२ : ५२
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् ।

जबरजस्ती चोरी गरेर ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

शुक्रबार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर कल्पनालाई थप अनुसन्धान र कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो । प्रहरीले उनलाई अस्पताल बस्ने सुविधा दिएको छ । कल्पनालाई अल्का अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । 

पहुँच नभएका व्यक्तिहरू पक्राउ पर्दा प्रहरीले अस्पताल बस्ने सुविधा दिँदैन । अस्पतालमा पठाउँदा निश्चित प्रक्रिया पुरा गर्नुपर्ने कार्यविधि भएपनि कल्पनाको हकमा सो कार्यविधि लत्याइएको प्रहरी अधिकृत बताउँछन् । उनलाई अस्पताल राखिएको बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले अनभिज्ञता जनाए । उनले भने, ‘अपराध महाशाखाले पक्राउ गरेको रहेछ, अस्पतालको कुरा म बुझ्छु ।’

कल्पनाविरुद्ध गणेश ढकालले जाहेरी दिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँको मुद्दा शाखाका अधिकृतहरूले आफूलाई फोन गरेर ‘किन झुटा मुद्दामा जाहेरी दिएको ?’ भनेर हप्काएको ढकालले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप