सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

युएसएआईडीको कार्यक्रम स्थगित भएपछि गैँडा गणना समेत अन्योलमा

आइतबार, १८ फागुन २०८१, १२ : ०६
आइतबार, १८ फागुन २०८१

चितवन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जङ्गल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो । परियोजनाले सूचना जारी गरी सामग्रीहरु खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो ।
 
निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको खर्च सोही परियोजनाले बेहोर्ने भएको थियो । “परियोजनाले रुण् ५० लाख बराबरको सामग्री दिने तयारी थियो । गणना सम्पन्न गर्न रु एक करोड ५० लाख हाराहारी बजेट खर्च हुने अनुमान गरिएको छ”, उनले भने । 

विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले दाताको सहयोगको अन्योलताले अन्तिम तयारीका बेला गणना प्रभावित बनेको बताए । यस विषयमा मन्त्रालयमा छलफल गरेर बजेट प्राप्त हुन सकेमा काम हुने अन्यथा स्थगन गर्न बाध्य हुने उनको भनाइ छ ।
 
    आउँदो वर्ष बाघ गणना गर्नुपर्ने हुन्छ । दुवै कार्य एकै पटक सम्भव नहुने भएकाले यस वर्ष गैँडा गणना गर्न सकेमा अर्काे वर्ष बाघ गणना गर्न सहज हुने उनको भनाइ छ ।
 
चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा छन् । तीमध्ये सबैभन्दा बढी चितवनमा छन् । सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ ।

नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, सन् १९९५ मा गैँडा ४६६ रहेको विभागको तथ्याङ्क  छ । यसैगरी सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप