विजययात्रा कायम राख्दै समूह विजेता बन्ने दाउमा भारत र न्युजिल्यान्ड

काठमाडौँ । ‘मिनी विश्वकप’ को नामले चर्चित आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा आइतबार दुई बलिया टोली भारत र न्युजिल्यान्डबिच भिडन्त हुँदैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे सुरु हुनेछ ।
न्युजिल्यान्ड र भारत यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । यी दुई टोलीबिचको भिडन्तले समूह ‘ए’ को विजेता बन्ने टोलीको टुंगो लगाउने छ । हाल दुई खेलबाट चार अंक जोडेको न्युजिल्यान्ड पहिलो र समान खेलबाट समान अंक बटुलेको भारत दोस्रो स्थानमा आसिन छन् ।
तर, नेट रन रेटमा भारतभन्दा न्युजिल्यान्ड अगाडि छ । एक–एक अंक बटुलेका बंगलादेश र आयोजक पाकिस्तान भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । जारी च्याम्पियन्स ट्रफीमा समूहगत चरणको यो अन्तिम खेल पनि हो ।
आइतबारको खेलमा विजयी हुने टोलीले सेमिफाइनलमा अस्ट्रेलियासँग भिडन्त गर्नेछ । पराजित हुने टोलीले भने सेमिफाइनलमा अर्को बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्नु पर्नेछ । समूह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा भारतीय टोली पहिलो स्थानमा आसिन छ । उक्त वरीयतामा न्युजिल्यान्डको टोली भने चौथो स्थानमा रहेको छ ।
दुवै टोलीको हालसम्मको प्रदर्शन
जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र भारत आफूले खेलेको अघिल्ला दुबै खेलमा विजयी भएका थिए । भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि भारतले चिर प्रतिद्वन्द्वी पाकिसतानलाई ६ विकेटले नै पराजित गरेको थियो ।
न्युजिल्यान्डले भने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानमाथि ६० रनको जित हासिल गरेको थियो । आफ्नो दोस्रो खेलमा भने न्युजिल्यान्डको टोलीले बंगलादेशलाई पाँच विकेटले पराजित गरेको थियो ।
जारी प्रतियोगितामा यी दुबै टोलीको विजययात्रा जारी रहे पनि नेट रन रेटमा भने भारतीय टोलीभन्दा न्युजिल्यान्ड अगाडि छ । हाल न्युजिल्यान्डको नेट रन रेट ०.८६३ र भारतको नेट रन रेट ०.६४७ रहेको छ ।
च्याम्पियन्स ट्रफीमा भारत
भारतले च्याम्पियन्स ट्रफीमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । च्याम्पियन्स ट्रफीमा भारतको यो नवौँ सहभागिता हो । भारतले हालसम्म दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । च्याम्पियन्स ट्रफीको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने भारत दोस्रो टोली हो । दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि चुम्ने पहिलो राष्ट्र भने अस्ट्रेलिया हो । भारतले पहिलो पटक सन् २००२ मा आयोजित तेस्रो संस्करणको उपाधि चुमेको थियो ।
त्यतिबेला आयोजक श्रीलंका र भारत प्रतियोगिताको फाइनलमा पुगेका थिए । फाइनल खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि अर्को दिन फाइनल खेल राखिएको थियो । दोस्रो दिनको फाइनल खेल पनि वर्षाका कारण रद्द भएपछि दुबै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरिएको थियो ।
च्याम्पियन्स ट्रफीको इतिहासमा दुईवटा राष्ट्रलाई संयुक्त रुपमा विजेता घोषित गरिएको यो पहिलो पटक थियो । च्याम्पियन्स ट्रफीमा भारतले पहिलो उपाधि चुम्दा सौरभ गांगुली कप्तान थिए ।
यसैगरी, सन् २०१३ मा भारतले दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । त्यतिबेला भारतले फाइनलमा आयोजक इङ्ल्यान्डलाई पाँच रनले हराउँदै उपाधि हात पारेको थियो । त्यतिबेला भारतीय टोलीका कप्तान थिए, महेन्द्रसिंह धोनी ।
यसका अतिरिक्त, सन् २००० मा आयोजित च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण र सन् २०१७ मा आयोजित आठौँ संस्करणमा पनि भारत फाइनलसम्म पुगेको थियो । भारतीय टोली सन् २००० को फाइनलमा न्युजिल्यान्डसँग चार विकेटले र सन् २०१७ को फाइनलमा पाकिस्तानसँग एक सय ८० रनले पराजित भएको थियो ।
च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड
न्युजिल्यान्डले पनि सन् १९९८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा सहभागिता जनाउँदै आएको छ । त्यसैले आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डको पनि यो नवौँ सहभागिता हो ।
न्युजिल्यान्डले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । न्युजिल्यान्डले सन् २००० केन्यामा आयोजित दोस्रो संस्करणको फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई चार विकेटले हराउँदै उपाधि चुमेको थियो । आईसीसीद्वारा आयोजित सिनियर स्तरको ठुला प्रतियोगिताहरुमा न्युजिल्यान्डले जितेको यो एकमात्र उपाधि पनि हो ।
त्यतिबेला न्युजिल्यान्डको टोलीका कप्तान थिए, स्टिफन फ्लेमिङ । न्युजिल्यान्डको टोलीमा नाथन एस्टल, क्रिस क्रेन्स, क्रेग म्याकमिलन, क्रिस ह्यारिस, एडम परोरे, स्कट स्टाइरिस लगायतका प्रभावशाली खेलाडी थिए । यसदेखि वाहेक न्युजिल्यान्ड सन् २००९ मा सम्पन्न छैटौँ संस्करणमा पनि फाइनलसम्म पुगेको थियो । त्यतिबेला न्युजिल्यान्डको टोली फाइनलमा बलियो छिमेकी प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।
एकदिवसीय भिडन्तमा न्युजिल्यान्डभन्दा भारत बलियो
भारत र न्युजिल्यान्डबिच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलको तथ्याङ्कलाई हेदा तुलनात्मक रुपमा भारत बलियो देखिन्छ । हालसम्म यी दुई टोलीबिच कुल एक सय १८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ ।
त्यसमध्ये ६० खेलमा भारतले न्युजिल्यान्डलाई पराजयको स्वाद चखाएको छ । ५० खेलमा भने न्युजिल्यान्डले भारतलाई हराएको छ । यी दुई टोलीबिचको एक खेल बराबरीमा सकिएको छ भने सात खेल अनिर्णित रुपमा टुंगिएको छ ।
घरेलु मैदानमा भारतले ३१ खेल जितेको छ भने न्युजिल्यान्डले घरेलु मैदानमा २६ खेलमा सफलता हात पारेको छ । न्युजिल्यान्डको घरेलु मैदानमा भारतले १४ खेल जितेको छ भने भारतको घरेलु मैदानमा न्युजिल्यान्डले आठ खेलमा सफलता हात पारेको छ ।
यसैगरी, ‘न्यूट्रल भेन्यू’ मा न्युजिल्यान्डले १६ र भारतले १५ खेलमा एक–अर्कालाई हराएका छन् । पछिल्लो पटक यी दुई टोलीबिच सन् २०२३ को आईसीसी विश्वकपको सेमिफाइनलमा भिडन्त भएको थियो । उक्त खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।
लयमा छन् ओपनर शुभमन गिल
जारी च्याम्पियन्स ट्रफीमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा युवा ओपनर शुभमन गिल पहिलो स्थानमा छन् । उनले बंगलादेशविरुद्धको पहिलो खेलमा शतक बनाएका थिए । उक्त खेलमा गिलले अविजित एक सय एक रन बनाएका थिए ।
यस क्रममा गिलले एक सय २९ बलको सामना गरी दुई छक्का र नौवटा चौका पनि हिर्काएका थिए । जारी प्रतियोगितामा उनले दुई खेल खेल्दै कुल एक सय ४७ रन बनाइसकेका छन् । यसका अतिरिक्त, लामो समयदेखि निराशाजनक प्रदर्शन गर्दै आएका विराट कोहली पनि लयमा फर्किएका छन् ।
अनुभवी ब्याट्सम्यान कोहलीले पाकिस्तानविरुद्धको खेलमा शतक बनाएका थिए । उक्त खेलमा कोहलीले अविजित एक सय रन बनाएका थिए । यसक्रममा उनले एक सय ११ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । यसैगरी, बलिङतर्फ तिब्रगतिका बलर मोहम्मद सामी लयमा देखिएका छन् । अनुभवी बलर मोहम्मद सामीले जारी प्रतियोगितामा दुई खेल खेल्दै पाँच विकेट लिइसकेका छन् ।
न्युजिल्यान्डलाई टम लाथम र रचिन रवीन्द्रको आश
जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान टम लाथम हुन् । उनले दुई खेलमा कुल एक सय ७३ रन बनाइसकेका छन् । उनले पाकिस्तानविरुद्धको पहिलो खेलमा शतक बनाएका थिए । उक्त खेलमा उनले अविजित एक सय १८ रन बनाएका थिए ।
यस क्रममा उनले एक सय चार बलको सामना गरी तीन छक्का र १० वटा चौका पनि हिर्काएका थिए । बंगलादेशविरुद्धको खेलमा पनि उनले ५५ रनको योगदान गरेका थिए । उक्त खेलमा उनले ७६ बलमा तीन चौका पनि प्रहार गरेका थिए ।
यसका अतिरिक्त, न्युजिल्यान्डका लागि ओपनर विल योङले पनि शतक बनाएका थिए । उक्त खेलमा उनले एक सय १३ बलको सामना गरी एक छक्का र १२ चौकाको मद्दतले एक सय सात रनको योगदान गरेका थिए । ग्लेन फिलिप्सले पनि ६१ रन बनाएका थिए ।
बंगलादेशविरुद्धको खेलमा युवा ब्याट्सम्यान रचिन रविन्द्रले पनि टोलीका लागि शतकीय पाली खेलेका थिए । उनले एक सय १२ रन बनाएका थिए । यस क्रममा उनले एक सय पाँच बलको सामना गरी एक छक्का र १२ चौका प्रहार गरेका थिए ।
जारी प्रतियोगितामा न्युजिल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर भने माइकल ब्रासवेल हुन् । उनले दुई खेलमा पाँच विकेट लिइसकेका छन् ।
जवाफी ब्याटिङ गर्नेलाई साथ दिने पिच
भारत र न्युजिल्यान्डबिच खेल हुने दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको पिचमा जवाफी ब्याटिङ गर्ने टोलीले बढी खेल जित्ने गरेको पाइन्छ । यो स्टेडेमियमा भारतले अघिल्ला दुबै खेल जवाफी ब्याटिङ गर्दै जितेको थियो । त्यसैले आइतबारको खेलमा पनि टस जित्ने टोलीले बलिङ गर्ने सम्भावना देखिन्छ ।
हालसम्म यो स्टेडियममा कुल ६० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले २२ खेल जितेका छन् । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले भने ३६ खेलमा जित हात पारेका छन् । एक खेल अनिर्णित र एक खेल बराबरीमा सकिएको छ ।
यो स्टेडियममा हालसम्म बनेको सबैभन्दा ठुलो स्कोर पाँच विकेट गुमाएर तीन सय ५५ रन हो । उक्त स्कोर सन् २०१५ मा इङ्ल्यान्डले पाकिस्तानविरुद्ध बनाएको थियो ।
छैन वर्षाको सम्भावना
न्युजिल्यान्ड र भारतबिच आइतबार खेल हुँदा दुबईमा वर्षाको कुनै सम्भावना नरहेको बताइएको छ । दुबईमा विहानैदेखि घाम लाग्ने त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार दुबईको तापक्रम १९ देखि २५ डिग्री सेल्सियसको बिचमा रहने छ । हावाको गति भने २० किलो मिटर प्रति घण्टा रहने समाचारमा जनाइएको छ ।
भारत र न्युजिल्यान्डको सम्भावित टोली
भारत : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्म सामी र हर्षित राणा ।
न्युजिल्यान्ड : मिचेल सान्टनर (कप्तान), विल योङ, डेभोन कनवे, केन विलियम्सन, रचिन रवीन्द्र, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रासवेल, काइल जामिसन, म्याट हेनरी र विलियम ओ’रुर्क ।
ICC Champions Trophy, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झुम्सा–चरङ्गे सडकको काम ६ वर्षमा पनि भएन पूरा
-
नेपालगन्जमा राजावादीको प्रदर्शन
-
भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी
-
क्यारोलिनामा भीषण डढेलो, आपत्काल घोषणा
-
आज आलु, प्याज, गोलभेँडा, काउलीसहित कुन तरकारी र फलफूलको कति छ मूल्य (सूचीसहित)
-
श्रीमान् र श्रीमतीको उमेरमा कति फरक हुनुपर्छ ?