सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनको आवश्यकता र विद्यार्थी संगठनको भूमिका

आइतबार, १८ फागुन २०८१, ११ : ३३
आइतबार, १८ फागुन २०८१

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको साझा संस्था हो । यो असल नेतृत्व उत्पादन गर्ने एक थलो हो; शिक्षा क्षेत्रका समग्र समस्याको पहिचान गर्ने, उठान गर्ने र समाधानका लागि अगुवाइ गर्ने संस्था हो । साथै यसले विद्यार्थीका शैक्षिक समस्याको सहज समाधान लागि समेत पैरवी गर्छ । अर्थात् विद्यार्थी, प्रशासन र अन्य सरोकारवाला पक्षबिच समन्वय गर्ने पुल हो स्ववियु । 

कुनै समय आम जनताहरू राजनीतिक अधिकारबाट वञ्चित थिए र अधिकारका लागि आवाज निकाल्यो कि जेलनेल र राजद्रोहको मुद्दा समेत चलाइन्थ्यो । राजा महेन्द्रले सत्ता हातमा लिएपछि दलहरू प्रतिबन्धित भए । गुमेको राजनीतिक अधिकार प्राप्तिको सिलसिलामा विद्यार्थीले नै संयुक्त आन्दोलनको खोजी गरे र साझा संस्थाको आवश्यकता महसुस गरे, जसले स्ववियु जन्मायो । यसको स्थापनाको मागमा व्यापक आन्दोलन भयो । जसको परिणामस्वरूप त्रिभुवन विश्वविद्यालयमा २०२० वैशाख १९ गते स्ववियुको स्थापना भयो । २०२० भदौ २० गते स्ववियुको पहिलो निर्वाचन सम्पन्न भयो । २०३६ सालपूर्वको अवधिमा स्ववियु निर्वाचन गराउने सन्दर्भमा बेलाबखत अनेक अवरोध आइरहे । नेपालमा विद्यमान करिब आधा दर्जन विश्वविद्यालयमध्ये त्रिभुवन विश्वविद्यालयबाहेक अन्य ठाउँमा स्ववियु निर्वाचन राम्रोसँग हुने गरेको छैन ।

एकतन्त्रीय तानाशाही पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा स्वतन्त्र विद्यार्थी युनियनको भूमिका अग्रस्थानमा रहेको थियो । फलस्वरूप २०३० सालमा स्ववियुलाई समेत प्रतिबन्ध लगाएपछि विद्यार्थी आन्दोलनको रापताप भुसको आगोझैँ भित्रभित्रै सल्कियो । जसका कारण तत्कालीन व्यवस्थाका विरुद्धमा आवाज बलियो बन्दै गयो । राजा वीरेन्द्रले २०३६ सालमा जनमत सङ्ग्रह गर्न बाध्य भए, सँगै स्ववियु पनि फुकुवा भयो । 

२०३५ देखि २०६५ सालसम्म नियमित रूपमा ३० वर्षको अवधिमा १४ पटक स्ववियु निर्वाचन सम्पन्न भयो र २०६५ सालपछि २०७३ सम्म भने विविध कारण स्ववियु निर्वाचन हुन सकेको थिएन । २०७३ पनि अधिकांश ठुला आंगिक क्याम्पसमा चुनाव भएन र २०७९ चैत ५ गते १४ वर्षपछि स्ववियु निर्वाचन सम्पन्न भयो र पनि उपत्यका ठुला क्याम्पसहरू रत्नराज्य, नेपाल कमर्स, त्रिचन्द्र र उपत्यका बाहिर पीएन लगायत क्याम्पसमा भने चुनाव हुन सकेन । विश्वविद्यालय प्रशासन, नेविसंघ र अखिल (क्रान्तिकारी)को निहित स्वार्थकेन्द्रित अवरोधका कारण उल्लिखित परिस्थिति सिर्जना भएको थियो ।

२०३५ देखि २०६५ सालसम्म नियमित रूपमा ३० वर्षको अवधिमा १४ पटक स्ववियु निर्वाचन सम्पन्न भयो र २०६५ सालपछि २०७३ सम्म भने विविध कारण स्ववियु निर्वाचन हुन सकेको थिएन ।

प्राथमिक तहदेखि उच्च शिक्षासम्म सुधार गर्नुपर्ने पक्ष धेरै छन्, समस्याका चाङ छन् । शिक्षालाई प्रविधि, जल, जमिन र जडीबुटीसँग जोडेर रोजगारी, उत्पादन र समृद्धिमा रूपान्तरण आजको मुख्य सवाल रहेको छ । जसका निम्ति स्ववियुको प्रभावकारी भूमिका आवश्यक छ । समयसापेक्ष शैक्षिक कार्यक्रम अध्ययन अध्यापन हुन नसक्नु; प्राध्यापक, कर्मचारी तथा शिक्षकहरू समेत विकसित विज्ञान–प्रविधिबारे अवगत र अभ्यस्त नहुनु पनि समस्याको रूपमा छ । यसका अलावा विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखको नियुक्तिमा हुने राजनीतिक भागबन्डाले अर्को विकृति निम्त्याएको छ । जसको चयन मेरिटोक्रेसीका आधारमा हुनुपर्छ । 

पछिल्ला पुस्ता, जो उमेरका कारण प्रत्यक्ष रूपमा न क्याम्पसमा न त आम निर्वाचनमा सहभागी नै हुन पाएको छ, यद्यपि उसले आधुनिक प्रविधिसँग घुलमिल हुने र रमाउने अवसर पाएको छ । यही पुस्ताले सामाजिक सञ्जाल लगायत इन्टरनेटका माध्यमबाट सूचना लिएर राजनीतिलाई फोहोरी खेल भनेर गाली गरिरहेका छन् । यो पुस्तालाई पनि राजनीति सबै नीतिको पनि मूल नीति हो र राजनीतिले नै मुलुकको विकास, समृद्धि र राष्ट्रिय स्वाधीनता कायम राख्छ भन्ने अवगत गराउनुपर्नेछ । उनीहरुलाई राजनीतिमा प्रत्यक्ष सहभागी गराउनका लागि पनि यो निर्वाचन र संस्थाको आवश्यकता छ । यी यावत् मुद्दा बोकेर विद्यार्थी संगठन मैदानमा उत्रिनुपर्छ । स्ववियुमार्फत विद्यार्थी आन्दोलनलाई झन् संस्थागत र आधिकारिक बनाउनुपर्छ ।

स्ववियुमार्फत नै विद्यार्थी नेताहरु विद्यार्थीका बिचमा पुग्ने गर्छन् । विद्यार्थीको माझमा आफ्ना विचार स्पष्ट राख्ने मौका पाउँछन् । यसले विद्यार्थी नेतालाई उत्तरदायी र जवाफदेही बनाउने अभ्यास गराउँछ । संगठनको विचार, सिद्धान्त र कार्यक्रमका साथै विद्यार्थी नेताको गतिविधि र इमानदारितालाई जाँच्ने कसीको रूपमा पनि स्ववियुलाई लिन सकिन्छ । विश्वका उत्कृष्ट विश्वविद्यालय (जस्तै : हावर्ड, जेएनयुतिर फर्केर हेर्दा पनि विद्यार्थीबिच नियमित प्रतिस्पर्धा भएको देखिन्छ । त्यहाँबाट उत्पादन भएको नेतृत्वले मुलुक हाँक्न सक्षम भएको उदाहरण पनि थुप्रै भेटिन्छन् । 

पञ्चायतकालदेखि राजाको प्रत्यक्ष शासनकालमा समेत स्वुवियुको निर्वाचन सम्पन्न भएका थिए, तर संघीय लोकतान्त्रिक व्यवस्थामा आएर पनि त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम, राजर्षी जनकबाहेक अन्य विश्वविद्यालयमा स्ववियु निर्वाचन हुन सकेको छैन । गराउनका लागि ठोस पहलकदमी समेत हुन सकेनन् । जुन विद्यार्थी आन्दोलनभित्रको सबैभन्दा कमजोर पक्ष हो । त्यसैले यो आन्दोलनलाई जोगाउन र यी तमाम खालका समस्या समाधान गर्नका लागि स्ववियु चुनाव अपरिहार्य छ । सबै विश्वविद्यालयमा चुनाव गराउन आवश्यक छ । यसका लागि मूलतः विद्यार्थी संगठनहरूले समन्वयकारी र नेतृत्वकारी भूमिका खेल्नुपर्छ । त्यही नर्सरीबाट उत्पादन भएका जनशक्ति आज विश्वविद्यालयको नेतृत्व तहमा छन् । उनीहरू पनि व्यक्तिगत आकांक्षा, स्वार्थलाई तिलाञ्जली दिँदै स्ववियु निर्वाचन सम्पन्न गराउन भूमिका खेल्नुपर्छ ।

राज्य सञ्चालनको मूल नीति नै राजनीति हो । हरेक नागरिक प्रत्यक्ष वा परोक्ष रूपमा राजनीतिसँग जोडिएकै हुन्छ । राजनीतिक रूपमा सचेत हुन पाउनु मान्छेको नैसर्गिक अधिकार हो । इमानदार मान्छेहरू राजनीतिबाट पाखा लाग्नु भनेको खराब मान्छेहरूबाट शासित हुन तयार हुनु हो । त्यसैले खराब मान्छेका लागि मैदान खाली गरिदिनु हुँदैन । इमानदार र स्वच्छ छवि भएका मान्छेहरू राजनीतिमा आउनुपर्छ । अनि मात्र देशको अवस्था सुधार हुन्छ । राजनीति पनि एउटा साधना हो । त्याग, समर्पण र बलिदानीको पर्याय हो । सबै मान्छेले भाग लिन सक्छन् तर निरन्तरता दिन सक्दैनन् । विद्यार्थी आन्दोलनबाट सुरु भएको राजनीतिक यात्राले कतिलाई देशकै नेतृत्व लिने हैसियतसम्म लैजान सक्छ ।
आजको विद्यार्थी आन्दोलन र स्ववियुको भूमिकाले भोलिका दिनमा असल र सक्षम नेतृत्व उत्पादन गर्न सफल होस् । आउँदै गरेको स्ववियु निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न होस् । राजनीतिक, शैक्षिक र सामाजिक चेतनाले सुसूचित विद्यार्थीको साझा संस्था नै विद्यार्थी संगठन हुन् । यिनैले विद्यार्थीका भावानाको प्रतिनिधित्व गर्छन् । ज्वलन्त शैक्षिक मुद्दाहरूमा केन्द्रित रहँदै सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनको संवाहकका रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका, भ्रष्टाचार, अनियमितता, बेरोजगारी र समग्र बेथितिका विरुद्धमा खरो उत्रिनुपर्छ । यी यावत् मुद्दा बोकेर विद्यार्थी संगठन मैदानमा उत्रनुपर्छ र स्ववियुमार्फत विद्यार्थी आन्दोलनलाई संस्थागत र आधिकारिक बनाउनुपर्छ । यावत् कारण स्ववियुको औचित्य झन् फराकिलो बन्दै गएको छ ।

विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखको नियुक्तिमा हुने राजनीतिक भागबन्डाले अर्को विकृति निम्त्याएको छ । समय सापेक्षित पाठ्यपुस्तकहरू नबनाइनु, नयाँ शैक्षिक कार्यक्रमको विकास नगरिनु, प्राध्यापक, कर्मचारी तथा शिक्षकको स्तर खस्कँदै जानु पनि अर्को समस्या हो । त्यस्तै उच्च शिक्षाका लागि भन्दै दिन प्रतिदिन बिदेसिने युवा जनशक्तिलाई मुलुकमै रोक्नका लागि जागरण पैदा गर्नुपर्ने आजको आवश्यकता छ । उल्लिखित सन्देश प्रवाह गर्नका लागि पनि स्ववियु निर्वाचन आवश्यक छ । 
स्ववियुमार्फत नै विद्यार्थी नेताहरू विद्यार्थीको बिचमा पुग्ने गर्छन् । विद्यार्थीको माझमा आफ्ना विचार स्पष्ट राख्ने मौका पाउँछन् । विद्यार्थी नेता सच्चिने परिपक्क हुने माध्यम पनि हो । विद्यार्थीप्रति उत्तरदायी र जवाफदेही रहने अभ्यास हो । संगठनको विचार, सिद्धान्त र कार्यक्रमका साथै विद्यार्थी नेताको गतिविधि र इमानदारितालाई जाँच्ने कसी समेत हो । आजको विद्यार्थी आन्दोलन र स्ववियुको भूमिकाले भोलिका दिनमा असल र सक्षम नेतृत्व उत्पादन गर्न भूमिका खेल्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नारायण घर्ती
नारायण घर्ती
लेखकबाट थप