आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
आईजीपीका दाबेदार

बसन्त कुँवरले चैत ५ मा अवकाश पाउने, आईजीपीको प्रतिस्पर्धामा ३ एआईजी

आइतबार, १८ फागुन २०८१, १० : ३०
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैत ५ मा अवकाश पाउँदै छन् । २०७९ चैत १० मा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका उनी ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । करिब दुई वर्षसम्म ८९ हजार फौजको कमाण्ड गरेर उनी बिदा हुन लागेका हुन् ।

कुँवरको अवकाश मिति नजिकिएसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपी को हुन्छ भन्नेबारे आम चासो छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले कुँवरलाई वरीयताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए ।

कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका टेकप्रसाद राई पनि अवकाशमा जाँदै छन् । श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले अवकाश पाइसकेका छन् । अहिले बहालमा रहेका एआईजीहरू बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र प्रस्तावित एआईजी जनक भट्टराई पनि सँगै अवकाशमा जाँदै छन् ।

प्रहरीको ३१ औँ आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षक प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीका लागि प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।

२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा बसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । उनीहरू १८ दिन ढिला बढुवा भएका थिए । वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् । मन्त्रिपरिषद्ले मेरिट अनुसार नियुक्ति गरेमा थापा प्रहरी प्रमुख हुने सम्भावना उच्च छ ।

  • को कस्ता ?

प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेका थापा फिल्ड कमाण्डमा अनुभवी मानिन्छन् । इन्स्पेक्टर हुँदा उनले बनेपा र गरुडाको कमाण्ड गरेका थिए । माओवादी युद्धकालमा इलाका प्रहरी कार्यालय मैकोटमा बसेका थापाले डीएसपी भएर दुई वर्ष खोटाङ जिल्लाको कमाण्ड गरे । प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत भएर काम गरेका उनले प्रहरी वृत्त महाराजगञ्जको पनि कमाण्ड गरेका थिए ।

एसपी हुँदा थापाले चितवन जिल्लाको कमाण्ड गरे । प्रहरी प्रधान कार्यालयभित्र महत्त्वपूर्ण मानिने कर्मचारी प्रशासन शाखा र आर्थिक प्रशासन महाशाखामा काम गरेका थापाले अपराध महाशाखा (हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय) को पनि कमाण्ड गरेका छन् । उनी २०७७ मा अपराध महाशाखाको प्रमुख भएका थिए ।

डीआईजीमा प्रबन्ध निर्देशनालय र बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्ड गरेको अनुभव पनि थापासँग छ । एआईजीमा उनले प्रशासन विभागको प्रमुख, उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सीआईबीको कमाण्ड गरेका छन् ।

वरीयताको दुई नम्बरमा रहेका गिरी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् । कमाण्डो तालिम गरेका गिरीले डीएसपी हुँदा प्रहरी वृत्त कालिमाटीको कमाण्ड गरेका थिए ।

एसपी हुँदा गिरीले पर्सा र कैलालीको कमाण्ड गरे । एसएसपी भएपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड गरे । डीआईजीमा बढुवा भएसँगै कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुख भएका गिरीसँग विशेष ब्यूरोमा लामो समय काम गरेको अनुभव छ ।

टेक बहादुर तामाङले इन्स्पेक्टर हुँदा गजुरी, सानेपा र लैनचौरमा बसेर काम गरेका थिए । डीएसपीमा उनले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङको कमाण्ड गरे । उनले प्रहरी वृत्त कालिमाटीको पनि कमाण्ड गरेका थिए ।

एसपीमा बढुवा भएपछि उनले जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड गरे । डीआईजीमा बढुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा काम गरेका तामाङले एआईजीमा लामो समय अपराध अनुसन्धान विभागमा बसेर काम गरे । हाल उनी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन् ।

  • तीनै जना दौडधुपमा

आईजीपी हुन तीनै जना दौडधुपमा लागेका छन् । भक्तपुरका स्थानीय दीपक थापाको उच्च तहका राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध छ । वरीयतामा पहिलो नम्बर र नेतृत्वसँगको सम्बन्धका कारण उनी आईजीपी हुने सम्भावना रहेको धेरैको आकलन छ ।

प्रतिस्पर्धामा रहेका सुदिप गिरी पूर्वप्रधानन्यायाधीशका छोरा हुन् । उनी नेपाली कांग्रेस निकट भनेर चिनिन्छन् । उनलाई आईजीपी बनाउन कांग्रेस नेताद्वय पूर्ण बहादुर खड्का र बालकृष्ण खाँणले लबिङ गरेको चर्चा छ ।

अर्का प्रतिस्पर्धी टेक बहादुर तामाङले पनि झापाका नेताहरूमार्फत लबिङ गरिरहेका छन् । झापाको दमक ससुराली भएका उनी पूर्वडीआईजी देवीलाल तामाङका ज्वाइँ हुन् । अख्तियार प्रमुख प्रेम कुमार राईसँग निकट सम्बन्ध रहेका तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कन्भिन्स’ गर्ने प्रयासमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप

छुटाउनुभयो कि ?